८ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

चोर भन्दै प्रहरीद्वारा निर्दाेषमाथि निर्घात कुटपिट

प्रहरीको कुटाइका कारण थलिएका विशाल नेपाली ।   तस्बिर : टंक/नागरिक

सर्लाही – सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन् । चोरीको आशंकामा पक्राउ गरी रातभर कुटपिट गरेपछि प्रहरीले निर्दाेष भन्दै भोलिपल्ट बिहान ती युवकलाई अभिभावकको जिम्मा लगाएको छ।

सर्लाहीको हरिवन नगरपालिका–८, चापिनी निवासी २२ वर्षीय विशाल नेपालीलाई प्रहरीले यसरी पिटेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आइतबार रातभर राखेर पैताला, तिघ्रा, नितम्बलगायत शरीरका विभिन्न पाइप नै पाइपले हानेको पीडित युवकले गुनासो गरेका छन् । नागरिककर्मीसँग रुँदै उनले भने, ‘बागमतीदेखि कुट्दै–कुट्दै चन्द्रनिगाहपुर पुर्याए र त्यहाँ पनि राति पाइप नै पाइपले हाने।’

सोमबार दिउँसो काका कुमार नेपालीलगायत आफन्तले बुझेर ल्याएका विशाल अहिले थलिएका छन् । ‘कम्मरभन्दा तल जताततै दुखेर हिँड्नै नसक्ने भएको छु,’ विशालले भने, ‘हाम्रै सुरक्षाका लागि भनिएको प्रहरीबाटै अनाहकमा निर्घात कुटाइ खानु पर्याे।’

घटना विवरणअनुसार आइतबार साँझ बागमती बजारमा एक महिलाको सुन चोरी भएको थियो । त्यस क्रममा एक्कासि ‘यही नै हो चोर’ भन्दै उनले खलासी काम गर्ने माइक्रो बस छेउमा यात्रु कुरेर बसिरहेका विशाललाई स्थानीय बासिन्दाले समाते र अन्धाधुन्ध कुटे । विशालका अनुसार स्थानीयले आफूसहित माइक्रोमै काम गर्ने अन्य दुई युवालाई प्रहरी चौकी पौराईमा बुझाए । त्यसपछि चौकीका प्रहरीले उनीहरूलाई कुट्दै–कुट्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पुर्याए । ‘मसँगै समातिएका दुई जनालाई थोरै तर, मलाई चाहिँ मर्ने गरी कुटे,’ विशालले भने।

सर्लाहीको हरिवन नगरपालिका–८, चापिनी निवासी २२ वर्षीय विशाल नेपालीलाई प्रहरीले निर्घात पिटेको हो । रातभर कुटेपछि निर्दाेष भन्दै भोलिपल्ट बिहान प्रहरीले ती युवकलाई अभिभावकको जिम्मा लगाएको छ।

तर अनुसन्धानका क्रममा विशालसहित तीनै जना निर्दाेष देखिएको भन्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरूलाई सोमबार दिउँसो अभिभावकको जिम्मा लगाएको हो । विशालका काका कुमार नेपालीले बुझ्दै नबुझी प्रहरीले चोर भन्दै निर्घात कुट्दा भतिजो थला परेको गुनासो गरे । ‘आज बिहानै माइक्रो साहुले फोन गरेर काममा आइज भने पनि जानै सकेको छैन,’मंगलबार नागरिकसँग उनले भने, ‘मजदुरी गरेर खाने हामीजस्ता माथि परेको अन्यायविरुद्ध कसले बोलिदेला ?’

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले भने प्रहरीले उनलाई त्यसरी नकुटेको दाबी गरेका छन् । ‘समात्ने क्रममै स्थानीयले कुटपिट गरे होलान्, पौराईको टोलीले पक्राउ गरेर यहाँ बुझाएको हो, हाम्रो टोलीले केही गरेको छैन,’ कोइरालाले भने, ‘अनुसन्धानका क्रममा निर्दोष देखिएपछि छोडिदिएका छौं।’

प्रकाशित: ३० श्रावण २०७५ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App