१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

काठमाडौं – सरकारले प्राविधिक शिक्षा विस्तार गर्न ९५ सामुदायिक विद्यालयहरुलाई प्राविधिक शिक्षा संचालनको अनुमति दिएको छ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का अध्यक्ष शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको परिषद्को बैठकले ९५ सामुदायिक स्कुलले तोकिएको मापदण्ड पूरा गरेकाले प्राविधिक शिक्षाका कार्यक्रम संचालनको स्वीकृति दिएको हो।

‘देशको आवश्यकताअनुसार प्राविधिक र सीपयुक्त जनशक्ति तयार पार्ने सरकारको लक्ष्य हो,’ मन्त्री पोखरेलले भने । विपन्न वर्गलाई सुपथ शुल्कमा प्राविधिक शिक्षाको पहुँच पुर्याउने उद्देश्यक साथ न्यूतम पूर्वाधार व्यवस्थापन गरेका सामुदायिक विद्यालयमा प्राविधिक कार्यक्रम संचालनका लागि अनुमति दिने निर्णय गरिएको मन्त्री पोखरेलले बताए।

परिषद्का सदस्यसचिव पुष्परमण वाग्लेले ९५ सामुदायिक स्कुललाई कार्यक्रम संचालनको स्वीकृति दिइएको बताए । यी विद्यालयमा शैक्षिक वर्ष २०७५–०७६ बाटै अध्ययन सुरु हुने उनले बताए।

तर, शिक्षण तथा विद्यार्थी व्यवस्थापनमा जनशक्तिको चरम अभाव रहेकाले प्राविधिक शिक्षा प्रभावकारी हुनेमा विज्ञहरु सशंकित छन् । २२ वर्षअघि १० प्राविधिक शिक्षालयका लागि ९ सय ३२ कर्मचारीको व्यवस्था थियो । ती कर्मचारीमध्ये ६० प्रतिशत प्रशिक्षण र ४० प्रतिशत प्रशासनिकमा थिए । ‘हाल परिषदन्तर्गत ३७ शिक्षालय छन् र तीनमा कार्यक्रम र तह पनि थपिएका छन्,’ वाग्लेले भने, ‘तर कर्मचारी दरवन्दी भने २२ वर्ष अघिकै छ । सात सय ६२ दरबन्दी आवश्यक भएकोमा सरकारले दुई सय आठको सेवा करार दिएको अवस्था छ।’

सदस्यसचिव वाग्लेले कक्षा १० को माध्यामिक शिक्षा एसइई सामेल भई जुनसुकै ग्रेड प्राप्त गरेका विद्यार्थीले तीन वर्षे डिप्लोमा भर्ना हुने पाउने बताए । ९५ स्कुलमा ३ वर्षे डिप्लोमा कोर्षमा कृषि तथा इन्जिनियरिंगका विषयमा अध्ययन गर्ने व्यवस्था छ । उनका अनुसार कृषिमा बाली र पशु विज्ञानका विषय छन् भने इन्जिनियरिंगतर्फ कम्प्युटर, आइटी, सिभिल र जियोमेट्रिक विषय अध्ययनको व्यवस्था छ।

‘विद्यार्थी छनोटका लागि प्रवेश परीक्षा सम्पन्न भइसकेको छ । २२ हजार सिट क्षमता बढेर २६ हजार पुगेको छ,’ वाग्लेले भने, ‘प्राविधिक शिक्षा परिषद्को इतिहासमै यो ठूलो फड्को हो ।’ उनले निजी शिक्षालयहरुलाई कार्यक्रम संचालनको स्वकिृत नदिएको बताए।

तीन वर्षे डिप्लोमा अध्ययनपछि विद्यार्थीले प्रमाणपत्र तह अर्थात कक्षा १२ पास सरह समकक्षता पाउनेछन् । सिटिइभिटिइले तीन वर्षे डिप्लोमा र १८ महिने टिएसइइ कोर्षहरु संचालन गर्दै आएको छ । हालसमम परिषद्को कुल ३७ आंगिक शिक्षालय संचालनमा छन्।

प्रकाशित: ३० श्रावण २०७५ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App