१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिहेको निहुँमा दलितमाथि आक्रमण

तस्बिर ः न्याय माग्न भोजपुर सदरमुकाम आएका दलित ।   तस्बिरः एक्सन/नागरिक

भोजपुर – अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन्।

चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो । राई परिवारका तर्फबाट आएको समूहले दलित बस्तीमा पसेर बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कुटपिट गरेको आरोप छ।

घटनापछि दलित बस्तीका नौ परिवारका सदस्य सदरमुकाम आएर न्यायका लागि हारगुहार गरिरहेका छन् । दुर्गा दर्जीका छोरा निशान र सुस्मिताले प्रेमबिहे गरेपछि भोजन राईको नेतृत्वमा रहेका पाँचजनाले साउन २२ गते दिउँसो दलित बस्तीमा पसेर कुटपिट गरेका हुन्।

भोजन सुस्मिताका काका हुन । उनीहरूले ९ वर्षका बालकदेखि ६२ वर्षसम्मका मानिस कुटपिट गरेको आरोप छ । न्याय माग्न सदरमुकाम आएको दलित परिवार न्याय पाइनेमा अझै ढुक्क भने छैनन् । कुटपिटपछि त्रसित उनीहरू गाउँ जाने वातावरण अझै नबनेको बताउँछन्।

शरीरभरि निलडाम बोकेर सदरमुकाम आएकी निशानकी आमा राजुले अझै पनि आफूलाई डर लागिरहेको बताइन् । ‘छोराले बुहारी लिएर आएपछि घरमा बसिरहेका थियौं,’ उनले भनिन्, ‘त्यही समयमा घर सोध्दै आएको समूहले तँ को होस् भन्दै कुटपिट गरे । बिहान दस बजेबाट दुई बजेसम्म लगातार कुटे । हारगुहार गर्दा पनि छाडेनन् ।’ उनीसँगै गाउँका नौ घरका मानिसमाथि पनि आक्रमणमा परे । निशानकी आमालाई कुटपिट गर्दै उनीहरूले ‘तेरो छोरा कहाँ छ’ भन्दै गाउँका घरघरमा डुलाएका थिए।

विद्यालयबाट फर्किएका विद्यार्थीदेखि गाई चराएर फर्केका सबैलाई कुटपिट गरिएको थियो । ‘हामीले केही गर्ने अवस्था नै थिएन, सबैलाई आँगनमा भेला पार्दै कुटपिट गरे,’ उनले भनिन् । निशानका बुवा दुर्गाले छोराले बुहारी लिएर आएपछि आफूले सोध्दा सुस्मिताले ‘सहमतिमा बिहे गरेको’ बताएको जानकारी दिए । त्यसपछि आफूले वडाध्यक्षलाई जानकारी गराएको पनि उनले बताए।

गाउँमा कुटपिट भइरहेकै बेला केही गाउँलेले प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरी दुई बजेतिर घटनास्थल पुगेको थियो । प्रहरीले समयमै आक्रमणकारीलाई पक्राउ नगरेकोमा पीडित आक्रोशित छन् । प्रहरीले पहिले उपचारमा जान भनेको र पछि मिलाउनुपर्छ भनेको पीडितले बताए । जिल्लामा दलित अधिकार क्षेत्रमा काम गरिरहेका छवटा संस्थाले विज्ञप्ति जारी गरेपछि मात्र घटना बाहिर आएको हो । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा भोजनलाई पक्राउ गरेको छ । भोजनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय प्रमुख केशव थेबेले बताए।

आफूमाथि कुटपिट हँुदा पनि जनप्रतिनिधिले चासो नदिएको पीडितको आरोप छ । ‘यो त द्वन्द्वकालको भन्दा चर्को आतंक भयो,’ आक्रमणबाट घाइते सीता दर्जीले भनिन्, ‘हामीमाथि अन्याय हुँदा पनि समाजले बोलिदिएन । कानुन पनि हुनेखानेकै लागि रहेछ, हाम्रा लागि बोलिदिने कोही भएन ।’ उनका अनुसार गाउँका अगुवाहरूले उल्टै जबरजस्ती मिल्न दबाब दिएका छन् । वडाध्यक्ष प्रेम राईले मेलमिलाप भइसकेपछि पीडित पक्षले सदरमुकाम पुगेर उजुरी हालेको बताए।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । दलित अधिकारकर्मी वविन्द्र रसाइलीले सिंगो दलित बस्ती पीडित बन्दा पनि प्रहरी र जनप्रतिनिधि न्याय दिलाउन सक्रिय नभएको आरोप लगाए।

प्रकाशित: ३० श्रावण २०७५ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App