१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

८५ करोडको खानेपानी सम्झौता

इलाम– सदरमुकामस्थित इलाम बजारमा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको सहरी खानेपानी आयोजनाको सम्झौता भएको छ। इलाम बजार सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी), उपभोक्ता समिति, इलाम नगरपालिका र नगर विकास कोष गरी ४ पक्षबीच कुल ८४ करोड ७९ लाख १८ हजार ६ सय १५ रुपैयाँको सम्झौता भएको हो। 

यही साउनभित्रै आयोजनाको ठेक्काप्रक्रिया सुरु गरिने भएको छ। ठेक्काप्रक्रिया करिब ४ महिनाको हुने भएकाले त्यसपछि निर्माणको काम सुरु गरिँदैछ। सम्झौताअनुसार खानेपानीतर्फको कुल ८३ करोड ६८ लाख लागतमध्ये मुख्य दाता एडिबीले नेपाल सरकारको खानेपानी विभागमार्फत् ७० प्रतिशत अर्थात्  ५८ करोड ५७ लाख ६० हजार रुपैयाँ बेहोर्ने छ। 

इलाम बजार रहेको इलाम नगरपालिकाले लागतको २५ प्रतिशत अर्थात् २० करोड ९२ लाख रुपैयाँ नगर विकास कोषबाट ऋण लिनेछ। उपभोक्ताले बेहोर्नुपर्ने ५ प्रतिशत रकम ४ करोड १८ लाख ४० हजार रुपैयाँ रहेकामा यो रकम उठिसकेको छ। उपभोक्ताले खानेपानी र सरसफाइमा बेहोर्नुपर्ने ४ करोड २३ लाख रुपैयाँ भएपनि ४ करोड २७ लाख रुपैयाँ उठिसकेको उपभोक्ता समितिले जनाएको छ। सरसफाइतर्फको १ करोड ११ लाख रुपैयाँमध्ये सरकारले ८५ प्रतिशत अर्थात् ९४ लाख ४१ हजार र नगरपालिकाले १६ लाख ६६ हजार रुपैयाँ बेहोर्ने सम्झौतापत्रमा उल्लेख छ। 

सम्झौतापत्रमा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, खानेपानी आयोजना व्यवस्थापन कार्यालयका उपनिर्देशक लीलाप्रसाद ढकाल, नगर विकास कोषका आर्थिक संयोजक सुवासराज पन्त तथा उपभोक्ता समिति अध्यक्ष केदार थापाले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि ढकालले यो आयोजना रकम अभाव वा अन्य कारणले नरोकिने बताए। ‘यो आयोजनाका लागि कति रकम यहाँबाट आउँछ भन्ने सबै स्पष्ट छ, एकैपटक रकम आउने भएकाले आयोजना सम्पन्न हुने निश्चित भएको छ,’ उनले भने, ‘यो क्रमागत आयोजना नभएकाले लगानीको कुनै समस्या पनि छैन।’ नगर विकास कोषका पन्तले आयोजना सञ्चालनका लागि इलामबासीले ज्यादै संघर्ष गरेको बताए। ‘मलाई यो आयोजनामा उपभोक्ताबाट यत्रो रकम यति छोटो समयमा उठ्छ भन्ने विश्वास थिएन,’ उनले भने, ‘अहिले आयोजना सञ्चालन गर्न कुनै बाधा नरहेकाले अबको ४ महिनापछि भौतिक निर्माण सुरु हुने सम्भावना छ।’ पन्तले ठेकेदार कम्पनीसँग निर्माणको सम्झौता भएकै दिन कोष र इलाम नगरपालिकाबीच पनि ऋणको सम्झौता हुने बताए।

आयोजनाको ग्लोबल टेन्टर हुने भएकाले निर्माण कम्पनी छनौटका लागि सूचनाको म्याद ४५ दिनको रहने छ। निर्माण कम्पनीले प्राविधिक र वित्तीय प्रस्ताव बेग्लाबेग्लै पेश गर्नुपर्नेछ। ‘ठेकेदारले पेश गरेको प्राविधिक प्रस्ताव खोलेर एडिबीले पास गरेपछि मात्रै वित्तीय प्रस्ताव हेरिने छ,’ ढकालले भने, ‘यो प्रक्रियालाई करिब डेढ महिना नै लाग्छ । निर्माणकर्ता छानिएपछि उसलाई सम्झौताको म्याद २८ दिन दिइन्छ।’ स्थानीयस्तरमा आइपर्ने सामाजिक चुनौतीको समाधान स्थानीय तहले नै गर्ने उनले बताए। 

खानेपानीको चरम अभाव रहेको सदरमुकाममा आयोजना सञ्चालन गरिने भएपछि नगरवासी हर्षित छन्। नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यले आयोजना सञ्चालन गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए। नगर प्रमुख बस्नेतले नगरमा खानेपानी आयोजना सञ्चालन गर्नु ठूलो अवसर भएको भन्दै नगरबासीको खानेपानी अभाव समस्या अब हट्ने बताए। उपभोक्ता समितिका सल्लाहकार जसबहादुर लुंगेलीले अब आयोजना सञ्चालनका लागि कुनै बाधा–अवरोध नभएको भन्दै कसैले चाहेर पनि अवरोध गर्न नसक्ने बताए। 

आयोजनाको विस्तृत सर्वेक्षणका बेला मुहान क्षेत्रमा आदिवासी जनजाति समुदायको असहमति रहेको भन्ने उजुरी एडिबीको मुख्यालयमा परेको सूचना आएको थियो। तर, त्यसपछि एडिबीले नै गरेको अध्ययनमा आयोजनामा सबैको सहमति रहेको पाइएपछि आयोजना निर्माणको चरणमा गएको हो। 

सञ्चालन गर्न लागिएको आयोजनाले २० वर्षसम्म इलाम बजारको आवश्यकतालाई धान्ने अनुमान छ। नगरका ४ हजार १ सय धारामा चौबीसै घण्टा खानेपानी दिनेगरी आयोजना सञ्चालन गर्न लागिएको हो। आर्थिक वर्ष २०७७÷०७८ मा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ। ४० किलोमिटरमा रहेको गिताङ खोलाबाट १६ तथा मेवा र रातेखोला प्रतिसेकेन्ड १०–१० लिटर पानी सदरमुकाम ल्याउने योजना छ। नगरपालिकाकै सुम्बेकबाट ४ लिटर थपेर ४० लिटर पानी सदरमुकाम ल्याइनेछ। अहिले प्रतिसेकेन्ड ८ देखि १० लिटर खानेपानी आइरहेपनि उपभोक्ताको माग २२–२३ लिटरको छ। आयोजना सञ्चालन भएपछि इलाम नगरपालिकाको ६, ७, ८ र ९ वडाका २८ हजार १ सय ७२ उपभोक्ता लाभान्वित हुनेछन्। यही आयोजनाले २० वर्षपछि ३९ हजार ८ सय ६० उपभोक्ताको माग पूर्ति गर्ने अनुमान छ।

प्रकाशित: २८ श्रावण २०७५ १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App