१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पीपीएलको तयारी, घरेलु टिममा दुई जना पोखरेली खेलाडी अनिवार्य

पोखरामा सोमबार पिपिएलबारे जानकारी दिँदै आयोजक। तस्बिरः उमेश पुन

पोखरा- दशैं लगत्तै शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) को लागि पोखरेली खेलाडीले पनि आफ्नो सहभागिता जनाउन सक्ने छन्। ६ फ्रेन्चाईज सहरमध्ये पोखराबाट अनिवार्य दुईखेलाडीलाई राख्नुपर्ने प्रावधान आयोजकले राखेपछि खेलाडीले आफ्नो क्षमता देखाउने अवसर पाउने छन्।

मोफसलको क्रिकेट विकास र विस्तारको लागि पोखरा प्रिमियर लिग कोशेढुंगा सावित हुने छ। त्यसको प्रारम्भिक रुप नै फ्रेन्चाईज सहरका यु १६ टिम हो। जहाँ प्रत्येक सहरका आफ्नै टिम बनाउनुपर्ने प्रावधान छ। ‘पोखरा फ्रेन्चाईज टिममा दुईजना अनिवार्य खेलाडी पोखराको हुनुपर्ने छ।’ क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने–‘फ्रेन्चाईज यु–१६ भने सबै पोखराकै (प्रदेश) हुनुपर्छ।’

क्रिकेटको ग्रासरुटको विकास गर्ने उद्देश्यसहित नयाँ योजना अनुसार प्रत्येक सहरको आफनै फ्रेन्चाईज यु –१६ हुने छ। जुन टिमले भविष्यमा सिनियर खेल्न अवसर पाउने उनको भनाई थियो। कार्तिक ९ गतेदेखि पोखरा रंगशालामा हुने पोखरा प्रिमियर लिगमा पोखरासँगै विराटनगर, काठमाडौ, बुटवल, नेपालगन्ज र धनगढी फ्रेन्चाईज सहर हुने छन्। सहरले आफ्नो यु–१६ टोली भने ट्यालेन्ट हन्टबाट छनोट गरी तयार पारिने छ।

ती फ्रेन्चाईज सहरले आफ्नै टिम बनाउने छन्। त्यसको लागि खेलाडीलाई अक्सन (खरीदविक्री) मार्फत टिम बनाउने आयोजक प्रालिका प्रबन्ध निर्देशक लामाले बताए। ‘प्रत्येक खेलाडीको ए, बी, सी र डी क्याटगोरी (बर्गिकरण) गरेर राखिन्छ।’ उनले भने–‘त्यही अनुसार नै ती खेलाडीको मूल्य निर्धारण हुँदै टिमले खरीद गरेर राख्न सक्ने छ।’ प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई पत्रचार गरिसकिएको छ। केही दिनभित्रमा पिपिएलको आईसिसीले स्वीकृति प्रदान गर्ने उनले बताए। प्रत्येक टिममा दुईजना विदेशी खेलाडी समेत राख्न पाईने प्रावधान छ।

२५ लाख रुपैयाँ भन्दा बढी पुरस्कार राशीको उपाधिको लागि ६ फ्रेन्जचाईज सहरको सहभागिता जनाउने छन्। दुईकरोड भन्दा बढी खर्चको अनुमान गरिएको छ। टी–२० पोखरा प्रिमियर लिग कार्तिक ९ गदेखि २० गतेसम्म पोखरा रंगशालामा गर्ने तयारी गरिसकेको छ। खेलाडीले आफ्नै फ्रेन्चाईज सहरबाट क्रिकेट भविष्य खोज्न सक्ने छन्। कार्तिक दोस्रो साता हुने फ्रेन्चाईजमा आधारित क्रिकेट लिग यो तेस्रो हो। तर पोखरामा आयोजना हुने लिग भने पहिलो हो। पोखरा प्रिमियर लिग भन्दा अघि नै एभरेष्ट प्रिमियर लिगको पहिलो संस्करण र धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सम्पन्न भईसकेको छ। अन्य सहरले पनि स्थानीयस्तरमा प्रिमियर लिग भने गर्दै आएका छन्।

प्रिमियर लिगको लागि पोखरा रंगशालाको क्रिकेट मैदान मर्मत सम्भार गरिरहेको छ। प्रालिका प्रवन्ध निर्देशक लामाले मैदानको क्रिकेट पीचसँगै आउटफिल्डको लेभलिङ गरिएको बताए। माटो भर्नेदेखि चपरी नै राख्ने लक्ष्य आयोजकले लिएका छन्। पीच निर्माण गर्न तीन जना क्युरेटर नियमित खटिदैं आएका छन्। आउटफिल्ड बढाइएको छ। प्रालिले ४ हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गर्ने जनाएको छ। स्थायी स्कोरबोर्डको व्यवस्था गरिने छ। चारवटा पीच निर्माण गरिएको छ । खेलाडीलाई पेभेलियन बनाउने समेत प्रालिले जनाएको छ । पिपिएलमा नेदरल्याण्ड्स, युएई, हङकजस्ता देशका खेलाडीहरुको सहभागिता रहने विश्वास गरिएको छ। भर्खरै नेपालले क्रिकेटमा एक दिवसीय क्रिकेटको मान्यता पाएसँगै नेदरल्याण्डसँग दुईखेलको एकदिवसीय श्रृखंला खेल्दै १–१ को बराबरीमा टुंगिएको थियो।

 क्रिकेट संघका पूर्व अध्यक्ष समेत रहेका गण्डकी प्रदेशका सदस्य दिपक कोईरालाले क्रिकेट मैदान निर्माणमा आफुले पनि चासो दिएको बताए। उनी स्वयं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष हुदाँ बजेट विनियोजन गराई क्रिकेटको आउटफिल्डमा माटो भर्ने काम गरेका थिए। ‘हिजो मैदान मेन्टेन्स गर्न गारो भाथ्यो।’ उनले भने–‘अहिले मैदानलाई मेन्टेन्स गरिएको छ। त्यो क्रिकेटको लागि सकारात्मक हो।’ कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनले पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्ने प्रतियोगिताले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्। नेपाली क्रिकेटका राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मोफसलमा हुने यस्ता प्रतियोगिताले क्रिकेटमा नयाँ आयाम थपिने भन्दै प्रश्न गर्ने भन्दा विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।


 

प्रकाशित: २८ श्रावण २०७५ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App