१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोग्बालाई जारिवानाको डर

लन्डन (एएफपी) – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले जरिवानाको डरले मनमा लागेका कुरा स्वतन्त्र रूपमा व्यक्त गर्न नपाएको गुनासो गरेका छन्।

पोग्बाको यो गुनासोसँगै उनको र प्रशिक्षक जोजे माउरिन्होको सम्बन्धमा देखा परेको चिसोपना अझै कायम रहेको भन्ने खबरलाई थप बल पुगेको छ।

गत महिना रूसमा सम्पन्न विश्वकप फाइनलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दा उत्कृष्ट गोल गरेका २५ वर्षे पोग्बाले शुक्रबार युनाइटेडले इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा लेस्टर सिटीमाथि २–१ को जित हात पार्दै सुखद सुरुआत गर्दा टोलीको जितमा नायक साबित भएका थिए।

पोग्बाले खेलको तेस्रो मिनेटमा पेनाल्टीमार्फत युनाइटेडलाई अग्रता दिलाएका थिए।

पोग्बा २०१६ मा इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सबाट विश्वकीर्तिमानी ८ करोड ९० लाखमा ओल्ड ट्राफोर्ड भित्रिएका थिए । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि सिजनपूर्वको अभ्यासमा माउरिन्होले प्रिमियर लिग र विश्वकप फरक भएको भन्दै पोग्बाले अझै आफूलाई प्रमाणित गर्न बाँकी रहेको प्रतिक्रिया दिएका थिए । यस क्रममा माउरिन्होले पोग्बाको गत सिजन लिगमा गरेको प्रदर्शनलाई हेर्न आग्रह गरेका थिए । माउरिन्होको यस प्रतिक्रियासँगै पोग्बा रुष्ट बनेका थिए।

बिहीबार सरुवा बजार बन्द हुनुअघिसम्म पोग्बाका एजेन्ट मिनी रोइलोले उनी स्पेनिस ला लिगा क्लब बार्सिलोना जान सक्ने बताएका थिए। तर नयाँ सिजनका लागि क्लबले आफूले चाहेका खेलाडी नभिœयाएको भन्दै रुष्ट बनेका माउरिन्होले पोग्बालाई क्लबमै राख्ने निर्णय मात्र गरेनन्,  उनले पोग्बालाई लेस्टरविरुद्धको पहिलो खेलमा कप्तानीको जिम्मेवारीसमेत दिए।

‘मलाई मनमा लागेका धेरै कुराहरू छन्,’ पोग्बाले भने, ‘तर मैले आफ्नो भनाइ सार्वजनिक गर्दा ममाथि जरिवाना हुन सक्छ।’

यद्यपि पोग्बाले युनाइटेड बसाइमा खुसी भएको भन्दै आफूलाई प्रमाणित गर्न केन्द्रित रहेको बताए।

‘तपाईं क्लबसँग सन्तुष्ट हुनुहुन्न भने तपार्इंले आफ्नो लयअनुरूपको प्रदर्शन गर्न सक्नुहुन्न,’ पोग्बाले भने, ‘टोली पहिलो रोजाइमा पर्नु पनि खेलाडीका लागि खुसीको कुरा हो र उनीहरूले सधैं सहज महसुस गर्छन्। त्यसमाथि कप्तानीको जिम्मेवारी पाउनु विशेष क्षण हो । म अहिले यति मात्र भन्न सक्छु।’

गत सिजन च्याम्पियन्स लिग अन्तिम १६ को खेलअन्तर्गत सेभियाविरुद्धको दुवै लेगमा माउरिन्होको रोजाइमा पर्न असफल पोग्बाले फ्रान्सका लागि खेल्नु र युनाइटेडका लागि खेल्नु फरक भएको बताए।

‘म त्यही खेलाडी हुँ। टोली मात्र फरक हो,’ पोग्बाले भने, ‘म फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्स र युनाइटेडका माउरिन्होले दिएको जिम्मेवारी पूरा गर्न सधैं तयार छु।’

प्रिमियर लिगको सरुवा बजार बन्द भए पनि अन्य युरोपेली लिगहरूमा भने अगस्टको अन्त्यसम्म सरुवा बजार चल्ने भएकाले पोग्बाले अझै ओल्ड ट्राफोर्ड छोड्न सक्ने अनुमान गरिरहँदा उनले भने तत्काल क्लब छोड्ने कु्नै चाहना नभएको बताएका छन्।

‘म युनाइटेडलाई माया गर्छु । मैले युनाइटेडको युथ एकेडेमी हुँदै क्लबको सिनियर टोलीबाट व्यावसायिक यात्रा सुरु गरेको हुँ,’ पोग्बाले भने, ‘त्यसैले युनाइटेडको सिनियर टोलीबाट खेल्नु मेरा लागि सपना साकार भएको जस्तै हो । म क्लबलाई आफ्नो बसाइमा धेरैभन्दा धेरै सफलता दिलाउन चाहन्छु।’

प्रकाशित: २८ श्रावण २०७५ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App