१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चिनी उद्योगले बिजुली बेच्ने!

काठमाडौं - उद्योगबाट विद्युत् उत्पादन हुने कुरा सुन्दा अचम्म लाग्न सक्छ। सबैभन्दा बढी बिजुली खपत गर्ने उद्योगबाटै विद्युत् उत्पादन हुनु साँच्चिकै आश्चर्यजनक कुरा हो। लमा पहिलोपटक उद्योगबाट उत्पादित विद्युत् बिक्री गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणबाट बिजुली किन्ने उद्योगहरु उसलाई नै बेच्न तयार भएका छन्।

भारतबाट विद्युत् किनी उपभोक्तालाई वितरण गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई देशभरका १२ चिनी उद्योगले हिउँद याममा ६० देखि ७० मेगावाट बिजुली दिने भएका छन्। यसका लागि विद्युत् प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भइसकेको चिनी उद्योग संघका महासचिव एवं इन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेश केडियाले बताए। उनका अनुसार विद्युत् प्राधिकरणसँग यसै वर्षभित्र पिपिए गरी विद्युत् उत्पादन प्रक्रिया अघि बढाइनेछ। ‘उद्योगहरुका तर्फबाट सबै अध्ययन र रिपोर्ट तयार भइसकेको छ, प्राधिकरणले अनुमति दिए यसै वर्षबाट उत्पादन सुरु गर्छाैं’, उनले भने।

भारतबाट विद्युत् किनी उपभोक्तालाई वितरण गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई देशभरका १२ चिनी उद्योगले हिउँद याममा ६० देखि ७० मेगावाट बिजुली बेच्ने भएका छन्।

केडियाका अनुसार उद्योगले उत्पादन गरेको बिजुली प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा खरिद गर्नेछ। यसरी उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । दोस्रो ठूलो चिनी उद्योग मानिने केडियाको उद्योगले आन्तरिक खपत कटाएर १६ मेगावाट बिजुली प्राधिकरणलाई दिन सक्छ । वार्षिक ४ लाख क्विन्टलभन्दा बढी चिनी उत्पादन क्षमता भएको सबैभन्दा ठूलो एभरेस्ट सुगर उद्योगले १७ मेगावाटसम्म बिजुली प्राधिकरणलाई दिन सक्छ। शिवशक्ति ग्रुपअन्तर्गत सञ्चालित चिनी उद्योग (उत्पादन क्षमता ३ लाख क्विन्टल) ले १५ मेगावाट बिजुली प्राधिकरणलाई दिन सक्छ। यसरी १२ वटा चिनी उद्योगले ६० देखि ७० मेगावाट विजुली प्राधिकरणलाई दिन सक्ने महासचिव केडियाले बताए। ‘सामान्यतया सिजनमा चिनी उद्योगले प्राधिकरणको विद्युत् प्रयोग गर्दैनन् । अफसिजनमा मात्रै २ हजार किलोवाटजति प्रयोग गर्छाैं, अब बढी भएको बिजुली बेच्छौं’, उनले भने । चिनी उद्योगको सिजन कात्तिक÷मंसिरदेखि फागुनसम्म (करिब चार महिना) हुन्छ।

प्राधिकरण प्रमुख कुलमान घिसिङले विद्युत् उत्पादनका लागि चिनी उद्योगबाट प्रस्ताव आएको बताए । ‘हामीले बोर्डबाटै स्वीकृत गरेर पिपिएका लागि ग्यारेन्टी लिएर आउन भनेका छौं। अहिलेसम्म तीनवटा उद्योग सम्पर्कमा आएका छन् । एउटाको स्वीकृत गरेका छौं भने दुइटाको अध्ययन भइरहेको छ। उहाँहरुको बढी भएको बिजुली हामीले किन्ने हो’, उनले भने।

कसरी उत्पादन हुन्छ बिजुली?
चिनी उद्योगको मुख्य कच्चा पदार्थ उखु पेल्दा निस्किने बगासबाट बिजुली उत्पादन हुन्छ । ‘उखु पेलेर बगास निस्किन्छ, बगासलाई बोइलरमा पोलेर वाष्पीकरण गरिन्छ। बाष्पीकरणबाट बिजुली बन्छ । जलविद्युत्मा पानीको टर्वाइन भनिन्छ। उद्योग क्षेत्रमा हामी यसलाई स्टिम टर्वाइन भन्छौं। उद्योग चल्नेबित्तिकै बगास उत्पादन हुन्छ । बगासलाई वाष्पीकरण गरेर विद्युत् उत्पादन सुरु हुन्छ’, केडियाले भने।

प्रसारण लाइनमा समस्या
चिनी उद्योगीलाई उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा कसरी जोड्ने भन्ने अन्योल छ। ‘चिनी उद्योगबाट विद्युत् उत्पादन हाम्रा लागि नौलो हो । यसका धेरै प्रक्रिया हामीलाई पनि थाहा छैन’, महासचिव केडियाले भने, ‘राइट अफ वे अर्थात् उद्योगबाट विद्युत् पावरहाउससम्म पु-याउने ट्रान्समिटर लाइनको अन्योल छ। यो लाइन उद्योगकै खर्चमा विद्युत् प्राधिकरणले बनाइदिनुपर्छ।’

उनले पिपिएमा कुनै समस्या नभएको स्पष्ट पार्दै थपे, ‘कसरी जाने, लाइन कहाँबाट ल्याउने, यसमा उहाँहरुले नै संयोजन गरिदिनुप-यो।’

प्रकाशित: २८ श्रावण २०७५ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App