१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विशेषज्ञ डाक्टर नहुँदा उपचारमा समस्या

फाइल फाेटाे

बुटवल - गत शुक्रबार प्रसूति व्यथाले च्यापेपछि भीम अस्पताल भैरहवा आएकी मर्चवारकी मनिसा यादवले अस्पतालमा सेवा पाउन सकिनन्। जिल्ला अस्पतालले उनलाइ भैरहवा मेडिकल कलेज रेफर गरिदियो। तत्काल अपरेसन गरिएकाले आमा र शिशुको ज्यान जोगियो। ढिलो गरी अस्पताल आएकी यादवको तत्काल अपरेसन नगर्दा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्न सक्ने भएकाले विशेषज्ञसहितको सेवा भएको अस्पतालमा रेफर गर्नुपरेको भीम अस्पतालकी नर्सिङ प्रमुख सरस्वती घिमिरेले बताइन्। ‘आमा र शिशुको ज्यान जोखिममा पर्ने खतरा देखिएका यस्ता थुप्रै केस हामीकहाँ आउँछन्। विशेषज्ञ डाक्टरकै सेवा आवश्यक पर्ने ती केसलाई रेफर गर्नुपर्ने बाध्यता छ’, उनले भनिन्। अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नहुँदा यस्तो समस्या आएको हो । यसले गर्दा सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।

भीम अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण उपलब्ध भए पनि दरबन्दीका डाक्टर नहुँदा एक महिनादेखि स्त्री तथा प्रसूति र बाल रोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ। यसै कारण जटिल प्रसूति सेवा, पाठेघर खस्ने तथा अन्य स्वास्थ्य समस्या लिएर अस्पताल आउने महिलाका साथै बिरामी परेर आउने बालबालिका बुटवल र भैरहवाका निजी तथा सामुदायिक स्वास्थ्यसंस्थामा जानुपर्ने बाध्यता छ। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टकै दरबन्दी खाली छ। त्यस्तै प्रसूति तथा स्त्रीरोग र बालरोग विशेषज्ञका साथै तीनजना मेडिकल अधिकृत चिकित्सकको दरबन्दी रहेकोमा यी सबै रिक्त छन् । अहिले यी सबै दरबन्दी खाली छन्। अस्पतालमा करारका ६ जना मेडिकल डाक्टर र नर्सिङ स्टाफ रहेको सूचना अधिकृत सर्वजित बरईले बताए।

भीम अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण उपलब्ध भए पनि दरबन्दीका डाक्टर नहुँदा एक महिनादेखि स्त्री तथा प्रसूति र बाल रोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ।

दरबन्दीअनुसारको विशेषज्ञ सेवा नहुँदा त्यससम्बन्धी सेवा प्रभावित भएको हो। यो अस्पतालमा भैरहवा आसपास, मर्चबार, लुम्बिनी, धकधही तथा जिल्लाका दक्षिणी क्षेत्रका बासिन्दा स्वास्थ्य सेवा लिन आउँछन्। दैनिक डेढ सयको हाराहारीमा आउने बिरामीमध्ये ८० प्रतिशत महिला र बालबालिका छन्। अस्पतालमा आउनेमध्ये अधिकांश ग्रामीण र सहरी क्षेत्रकै पनि गरिब र विपन्न बस्तीका महिला तथा बालबालिका रहेको सूचना अधिकृत बरईले बताए।

अस्पतालमा स्त्री रोग विशेषज्ञको दरबन्दीमा डा. ज्वाला थापाको नाम छ। गत वर्षको कात्तिकमा सरुवा भएर भैरहवा आएकी उनी असार अन्तिम सातादेखि लामो बिदामा बसेकी छन्। उनका श्रीमान् डाक्टर विप्लव सापकोटा पनि कात्तिकमै यो अस्पालमा मेडिकल सुपरिटेन्डेन्ट दरबन्दीमा सरुवा भई आएका थिए। डा. सापकोटा जेठमै काज सरुवा मिलाएर राजधानीको वीर अस्पताल गइसकेका छन्। श्रीमान् छँदासम्म अस्पतालमा बसेकी डा. थापा श्रीमानको सरुवा भएलगत्तै आफू पनि भैरहवा बस्न नसक्ने भन्दै लामो बिदामा बसेको एक कर्मचारीले बताए। यसअघि एकजना बालरोग विशेषज्ञ डाक्टरलाइ करारमा खटाइएको थियो। सरकारको नयाँ नीति र अन्योलका कारण अहिले यो सेवा पनि प्रभावित भएको छ। यो अस्पतालमा सम्बन्धित सरकारी निकायले दरबन्दीका डाक्टर उपलब्ध नगराउने र गराइहाले पनि नेताको चाकडी गरी काज वा सरुवा मिलाएर जाने प्रवृत्ति पुरानै हो । अन्यत्र जस्तो निजी क्षेत्रका क्लिनिकबाट धेरै आम्दानी नहुने भएकाले भीम अस्पतालमा डाक्टर आउन नमान्ने र आए पनि काज सरुवा मिलाएर गइहाल्ने गरेको एक कर्मचारीले बताए।

सरकारबाट २५ बेडको स्वीकृतिप्राप्त जिल्ला अस्पतालमा हाल ६० बेड छन्। मुलुक संघीयतामा गएसँगै जिल्ला अस्पताल प्रदेश सरकारमातहत आएको छ। प्रदेश सरकारले भने संघले प्रदेशलाई हस्तान्तरण गरिनसकेको जनाएको छ। प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले केन्द्र सरकारले हस्तान्तरण गरेपछि प्रदेश सरकारले व्यवस्थापन गर्ने बताए। प्रदेशका धेरैजसो जिल्ला अस्पतालमा यस्तो समस्या रहेकाले दुइ दिनअघि प्रधानमन्त्री केपी ओलीलाई भेटेर कुरा राखेको उनले बताए। ‘प्रधानमन्त्रीले यसलाई गम्भीरताका साथ लिनुभएको छ’, उनले भने।

प्रकाशित: २८ श्रावण २०७५ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App