१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘परिवर्तनका ठूला लडाइमा युवाको भूमिका उच्च’

अर्घाखाँची – मुलुकमा भएका परिवर्तनका ठूला लडाइमा युवाको भूमिका उच्च रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। युवाहरूको सहयोग विना मुलुक समृद्ध हुन नसक्ने भन्दै उनीहरूले युवाहरूको साथ लिएर देश विकास गर्नुपर्ने औंल्याए।

वक्ताहरूले युवालाई आन्दोलनमा हतियार बनाएपनि रोजगार दिलाउने कार्यमा दलहरू अग्रसर बन्न नसकेको गुनासो गरे। १९ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा समिति र सन्धिखर्क नगरपालिकाले आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरा बताएका हुन। जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले युवाहरूलाई उत्पादनमुखी कार्यमा लगाउन राज्यले ठोस कार्ययोजना तयार पार्नुपर्ने बताए। उनले बालबच्चा देखि नै राम्रो शिक्षा दिएमा युवा अवस्थामा आएर केही गर्न सक्ने बताए।

‘शिक्षाबाट व्यक्तिको चेतनास्तर धेरै माथि पुगेको हुन्छ’ उनले भने, ‘आफ्ना छोरा छोरीलाई उचित शिक्षा प्रदान गर्न अभिभावकको ध्यान पुग्नुपर्छ।’ सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले युवाहरू विकृति र कुलतमा लाग्न नहुने बताए। उनले सन्धिखर्क नगरपालिकाले युवा लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने बताए।  

उपप्रमुख ठाकुर कुमार विकले लामो समय सम्मको राजनीतिक अस्थिरता र संक्रमणकालले देशले विकासमा फड्को मार्न नसकेको बताए। निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले ‘युवाहरुलाई आयआर्जनमुलक कार्य लगाउन प्राविधिक ज्ञान दिलाउनुपर्छ’ भने। नेकपाकी नेतृ छमकुमारी खनाल चिनारीले संविधान धारा माथि ऐन बन्न लागेको भन्दै ऐन बनेपछि सबै वर्गका नागरिकका अधिकार स्थापित हुने बताइन्।

नेपाली कांग्रेसका नेता पिताम्वर खनालले स्थानीय निकायले युवा लक्षित कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। राष्ट्रिय जनमार्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेलले राज्यले दिने स्वरोजगारमुलक कार्यक्रमलाई पहुँचको आधारमा वितरण गर्ने गरिएको आरोप लगाए। विकेकशिल साझा पार्टीका जिल्ला संयोजक हरि प्रसाद भुसालले ठूला दलहरुले चुनावी नारा ‘वेरोजगार युवाहरूलाई रोजगार’ बनाएपनि चुनाव जितेपछि प्रतिवद्धता पुरा नगरेको बताए।

जिल्ला युवा समितिका कार्यालय प्रमुख लिलबहादुर राउत क्षेत्रीले कार्यालयसँग प्रयाप्त वजेट नहुँदा प्रभावकारी ढंगले काम गर्न नसककिएको बताए। युवा समितिका अध्यक्ष लिलबहादुर विकले ३ ओटा समुहलाई ५ लाखका दरले आयआर्जन मुलक काम गर्न रकम लगानी गरेको बताए। 

 

प्रकाशित: २७ श्रावण २०७५ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App