१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जाजरकोटमा नेकपाको नेतृत्व लिन हानथाप

जाजरकोट – नेपाल कम्युनिष्ट पार्टीको जिल्ला नेतृत्व लिनका लागि  नेताहरुबीच  तिब्र प्रतिष्पर्धा चलेको छ। पार्टी एकिकरणको लामो समय पछि जिल्ला नेतृत्व तोक्न पार्टी केन्द्रीय समितिले पहल थालेपछि जिल्ला नेतृत्व हात पार्न स्थानीय नेताहरूबीच तिब्र प्रतिष्पर्धा चलेको हो।  

जिल्ला अध्यक्षको पद आफनो पोल्टामा पार्न पूर्व एमाले र  पूर्व माओबादी केन्द्रका जिल्ला नेताहरु  काठमाडौंमा बसेर  आ–आफनो केन्द्रीय नेतृत्वसँग लविङ्ग गर्न सक्रिय छन्। दूवै पक्षका नेताहरुले  आफुले नेतृत्व  पाए मात्र न्यायपूर्ण  हुने तर्क दिँदै  नेतृत्वको दावी गरिरहेका छन्।

पार्टीले जिल्लाको नेतृत्व मिलाउन पूर्व एमालेको तर्फबाट भैरवसुन्दर श्रेष्ठ र करवीर शही तथा  पूर्व माओवादी केन्द्रको तर्फबाट  गणेसप्रसाद सिंह र ढकवीर रानालाई जिम्मेवारी दिएको छ। पार्टीले कार्यकारी भूमिकामा रहेका नेता बाहेकलाई मात्र जिल्लाको नेतृत्वमा  लिने निर्णय गरेपछि जिम्मेवारीमा नरहेका  नेताहरुबीच नेतृत्वका लागि हानथाप हुन थालेको हो।

अध्यक्षका लागि पूर्व एमालेबाट डम्बरबहादुर सिंह, कृष्णवहादुर बुढा, रत्नप्रसाद शर्मा  र पूर्व माओवादीबाट ढकवीर राना, गगनबहादुर खड्का, पुर्णदेव शर्मा र इमाश्वर देवकोटाले  दाबी गरिरहेका छन्। अध्यक्षका दावेदार नेता ढकवीर रानाले  आफु बाहेक पूर्व एमालेका नेताले  अध्यक्ष पद पाउनु आफुहरुको लागि  अन्यायपूर्ण हुने बताए।  पार्टी एकता हुनु अघि आफु  माओवादीको जिल्ला संयोजक भएको  र एमालेका अध्यक्ष  करवीर शाही प्रदेस सांसद भइसकेकाले स्वभाविक रुपमा नेतृत्व आफुले नै पाउनु पर्ने रानाको दावी छ।

उता पूर्व एमाले जिल्ला सचिव चन्द्रप्रकाश घर्तीले  आफुहरूकाे तर्फबाट डम्बरबहादुर सिंह अध्यक्षको लागि सिफारीस  हुने  लगभग पक्का भएको बताए। उनले  सिंह पार्टीको अध्यक्ष पनि भइसकेको  र सांसदको चुनावमा पनि लडिसकेको नेता भएको हुनाले  एकिकृत पार्टीको अध्यक्ष हुन  योग्य  भएको बताए।

घर्तीको  उक्त प्रस्तावमा पूर्व एमालेकै अर्का नेता कृष्णवहदुर विसीले असहमति जनाउँदै आफुहरूकाे लाइनबाट कसैको नाममा निर्णय नभएको  र आफु स्वयम् नै नेतृत्व लिने लाइनमा रहेको बताए।

नेकपाका केन्द्रीय सदस्य भैरभसुन्दर श्रेष्ठले पनि पूर्व एमालेबाट अहिलेसम्म कसैको नाम सिफारिस नभएको बताए। उनले केही दिनमै  नेकपाको जिल्ला नेतृत्व टुंगिने बताए।

प्रकाशित: २७ श्रावण २०७५ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App