१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘गुणस्तरहीन’ फेमिली तेल बिक्रीमा प्रतिबन्ध

बारा - ‘फेमिली’ ब्रान्डको खाने तेलमा अखाद्य वस्तु मिसाएको पाइएपछि जिल्ला प्रशासन कार्यालय बारारले यसको बिक्रीमा प्रतिबन्ध लगाएको छ। वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत जितपुरमा सञ्चाचित शिवशक्ति घिउ उद्योगले उत्पादन गरेको फेमिली ब्रान्डको खानेतेलमा अखाद्य वस्तु मिसाएको पाइएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बजारमा उपभोक्ताले किनेको उक्त ब्राण्डको तेल गन्हाएको गुनासो आएपछि तेल बेच्ने खुद्रा, थोक पसल र उद्योगको अनुगमन गरिएको बताए। तीनै तहमा अनुगमन गर्दा ‘फेमिली’ खाने तेलको गन्ध कुहिएको वस्तुको जस्तो पाइएकोले बिक्री–वितरणमा रोक लगाइएको उनले जानकारी दिए।

फेमिलीको थोक बिक्रेता जितपुरस्थित हनुमान सप्लार्यसबाट ४८ कार्टुन तेल नियन्त्रणमा लिइएको छ। उद्योगमा पनि त्यस्तै खालको तेल  भेटिएपछि स्टोरमा सिलबन्दी गरिएको प्रजिअ भट्टराईले बताए । गन्हाउने तेल परीक्षण गर्न सम्बन्धित निकायमा पठाइएको उनले बताए । परीक्षणको रिपोर्ट आएपछि उद्योगलाई थप कारबाही गरिने उनको भनाइ छ।

गत वर्ष भदौ २७ गते पनि आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले उक्त उद्योगबाट उत्पादित खानेतेल प्रयोगशालामा परीक्षण गर्दा अखाद्य वस्तु मिसेको भेटिएको थियो। उक्त अनुगमन टोलीले तेल उत्पादन प्लान्ट तत्काल बन्द गर्न उद्योग प्रशासनलाई लिखित निर्देशन दिनुका साथै कालोबजारीमा थप कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो।

राजधानी काठमाडौंमा भएको बजार अनुगमनमा फेमिलीमा अखाद्य वस्तु फेला परेपछि विभागको टोलीले उद्योग मै पुगेर अनुगमन गरेको थियो। सोही क्रममा उक्त तेलमा अखाद्य वस्तु मिसेको पाइएको टोलीका सदस्यले बताएका थिए। तर, बारा प्रशासनले नाममात्रको कारबाही गर्दा उद्योगीको मनोबल बढेको बताइन्छ।

यसअघि पनि उक्त उद्योगले सरकारले तोकेको मापदण्डविपरीत खाने तेलमा मानव स्वस्थ्यलाई हानी पु-याउने अन्य तेल मिसाएर बिक्री–वितरण गरेको पाइएको थियो । प्रशासनले पटक–पटक कारबाही गरे पनि उद्योग सुध्रिएको छैन। प्रशासनले नाममात्रको कारबाही गरेकाले समस्या दोहोरिने गरेको जानकार बताउँछन्।

पूर्वसांसद राजकुमार अग्रवालको यो उद्योगले वर्षौंदेखि महँगो मूल्यमा बेच्ने तोरी र सूर्यमुखी तेलमा सस्तो तथा कम गुणस्तरको पामोलिन र भटमासको तेल मिसाउँदै आएको छ। गुणस्तरहीन खानेतेल उत्पादन गरी बिक्री–वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय हेटौंडाले यो उद्योगविरुद्ध दायर गरेको तीनवटा मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराले ०७३ मंसिर ३ गते उद्योगका तत्कालीन प्रशासकीय अधिकृत सूर्य त्रिपाठीलाई नौ हजार रुपैयाँ जरिवाना गरेको कार्यालयको मुद्दा शाखाले जनाएको।

प्रकाशित: २७ श्रावण २०७५ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App