१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

राष्ट्रनिर्माताको सालिक सामु उभिएर

‘मैले आर्जेको मुलुक छोटा–बडा सबै जातको साझा हो ।
मेरो साना दुःखले आज्र्याको मुलुक होइन,
सबै जातको फूलबारी हो,
सबैलाई चेतना भया।’

भालेश्वर डाँडामा पुग्ने वित्तिकै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक मुनि लेखिएका भनाईमा आँखा पुगे मेरा।    

बाइसे–चौबिसे राज्यहरुलाई एउटै मालामा उनेर सिंगो नेपाल राज्य बनाए उनले । तर, आज हामी उनको योगदान विर्सेर जातजाति र प्रदेशका नाउँमा अल्झिएका छौं । जातिय, भाषिक र सांस्कृतिक विविधताको साझा फूलबारी हो नेपाल । न पहाड न तराई, न हिमाल न मधेश, न नेवार न तामाङ, न बाहुन न क्षत्री सबैको साझा घर हो हाम्रो नेपाल । आपसमा प्रेम, सम्मान, सौहार्दता र एकताले मात्र घर बलियो हुन्छ । त्यसैले सस्याना स्वार्थमा अल्झेर मातृभूमीलाई विभाजनतिर होइन प्रेम र शान्तिले बलियो बनाउनतिर लाग्नु पर्छ । घर बलियो भए मात्र हामी सुरक्षित हुन्छौ र विश्वमा शिर ठाडो पारेर हिँड्न सक्छौं।

एकतानै बलियो शक्ति हो र एकताबाटै सबै समस्या समाधान हुन्छ भनेर सिकाउने राष्ट्र निर्माताको योगदान सम्झेर सालिक सामु उभिएर नमन गरें मैले।  

भालेश्वर डाँडा (२५,०० मिटर)मा तीन तले प्यागोडा शैलीको मन्दिर छ । मन्दिर अगाडि चिटिक्क ढुंगेधारा, वरिपरि गणेश, शिवको बहान नन्दी लगायत देवदेवीका मूर्ति, भित्र कालो शिवलिंग । मन्दिरको बायाँ पृथ्वीनारायणको सालिक, मन्दिरको दक्षिणतिर खुल्ला रुख मुनि छन् पुरानो भालेश्वर महादेव । दुइटा ढुङाका शिला र त्रिशुल छन् त्यहाँ । कस्तो अचम्म ! मन्दिरभित्र नराखि बाहिर राखिएको छ । त्यसैले भक्तजनहरु पनि थाहा पाउँदैनन् पुरानो भालेश्वर कुन हो भनेर।

भालेश्वरको धार्मिक महत्व छ । उहिले महादेवले जिवनसंगी सतीदेवीको मृत शरीर  बोकेर हिँड्नेक्रममा भालेश्वर आइपुग्दा उनको निधार पतन भयो । त्यसपछि त्यहाँ भालेश्वर महादेव उत्पन्न भए । त्यहीबेलादेखि डाँडालाई भालेश्वर भन्न थालियो।

हरियालीबीचको भालेश्वर आफैंमा भ्यू टावर हो । असोजदेखि हिमाल खुल्छन् । मौसम खुल्दा त्यहाँबाट पूर्वदेखि पश्चिमसम्म १८० डिग्रीमा फैलिएका सेता हिमालहरु गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा लगायत देखिन्छ भने तलतल काठमाडौं उपत्यकाको पुरा दृष्य देखिन्छ । चारैतिर हरिया डाँडा, बीचको उपत्यका । उपत्यकालाई पहरा दिइरहेका डाँडा एउटा होइन, दुइटा होइन, दर्जनौं देखिन्छन् एक माथि अर्को खप्टेर बसे जस्ता । तलतल सलाइका बट्टाजस्ता घर, कुनै साना कुनै ठूला।

उपत्यकालाई पहरा दिइरहेका डाँडामध्ये एक हो भालेश्वर । अहिले भालेश्वरमा केबलकारको चहलपहल छ । अढाइ किमि लामो केबलकारमा १० मिनेट लाग्छ थानकोट गोदामबाट भालेश्वर पुग्न । केबलकार सञ्चालकले तीन तले प्यागोडा शैलीको मन्दिर बनाएका हुन् । मन्दिर नजिकै भ्यू टावर छ।

डाँडामा हरेक शनिबार मेलाजस्तै लाग्छ । अरुबेला पनि धार्मिक पर्यटक, परिवार र साथीहरुसँग पुग्छन् । मन्दिरमा फोटो खिच्ने व्यवस्था छ । भालेश्वरलाई पृष्ठभूमी बनाएर  खिचेको फोटो १० मिनेटमै हातमा आइपुग्छ।  

काठमाडौं र मकवानपुरको संगममा पर्ने भालेश्वर काठमाडौंबाट दक्षिण १९ किमि दुरीमा छ । अग्लाइमा रहेकाले चारैतिर राम्रो दृश्य देखिन्छ । यसको पूर्वमा काठमाडौं उपत्यका, पश्चिममा मकवानपुरको चित्लाङ उपत्यका, उत्तरमा हिमाली सृङखला र दक्षिणमा चखेल दामन एवं महाभारत पर्वत छन्।

भालेश्वरमा ध्यान र योग गर्न सकिन्छ । त्यहाँबाट सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ । बेलुकी काठमाडौंको झिलिमिलीले मन पुलकित बन्छ।

धार्मिक हिसाबले मात्र होइन, भालेश्वरको ऐतिहासिक महत्व पनि छ । नेपाल एकिकरण तयारीका बेला बडामहाराज पृथ्वीनारायण नुवाकोट मामाघर भएर चन्द्रागिरि भञ्ज्याङ आएका थिए । भञ्ज्याङबाट सुन्दर उपत्यका देखेपछि उनलाई काठमाडौं जित्ने इच्छा भयो । र, उनले नजिकैको भालेश्वर आएर मनोकामना गरे । पछि यही बाटो भएर काठमाडौं उपत्यकामा आक्रमण गरि जिते।   

यहाँको केबलकार मनकामना पछिको दोस्रो केबलकार हो । डाँडामा धमाधम रिसोर्ट, पार्क र होटल बन्दै छन् । बस्ने र खाने राम्रो सुविधा छ । केबलकार बनेसंगै डाँडा प्रख्यात पर्यटकीयस्थलका रुपमा विकसित भैसकेको छ । भालेश्वरसम्मै मोटर बाटो पुगेको छ ।  थानकोट पछाडि गोदाम (१,४५०मिटर)बाट गाडी चल्छ।

यस्ता डाँडामा विकास हुनु धेरै राम्रो हो । यसले डाँडा सेरोफेरोका गाउँलाई पनि फाइदा पुग्छ । आन्तरिक पर्यटनको विकास हुन्छ । हाम्रो देशमा भालेश्वर जस्ता थुप्रै डाँडा छन् जसको विकास हुन बाँकी छ।

भालेश्वरमा वैशाख १ गते मेला लाग्छ । त्यतिबेला झाँक्रीले पूजा गर्छन्।

डाँडामा होटल, रिसोर्ट बाहेक अरु बस्ती छैन । बस्ती पुग्न २ किमि ओरालो झरेर चखेल पुग्नुपर्छ । भालेश्वरबाट एक घन्टामा चखेल पुगिन्छ । चखेल तामाङ बस्ती हो ।  (२,२००मिटर)को बस्तीबाट पनि राम्रो दृश्य देखिन्छ । त्यहा“ खाजा घर छन्।

नजिकै तामाङ शैली झल्काउने मानेहरु । देउरालीमा राणाकालमा बनेको रोप वे स्टेसन छ जुन हेटौंडादेखि काठमाडौंसम्म सामान ओर्सान बनाइएको । अचेल प्रयोगमा छैन । यसलाई संरक्षण गरेर पर्यटकीयस्थल बनाउन सकिन्छ । यसो गर्न सके विद्यार्थीका लागि अध्ययन केन्द्र बन्न सक्छ।  

देउरालीबाट ठाडो उकालो सिधा दक्षिण लागेमा २ किमिमा छापडाँडा पुगिन्छ । छापडाँडाबाट पनि काठमाडौको राम्रो दृष्याबलोकन गर्न सकिन्छ । देउरालीबाट मोटरबाटो पश्चिम लागे कुलेखानी पुगिन्छ ।
भालेश्वर हाइकिङ गोदामबाट सुरु गर्न सकिन्छ । गोदामबाट जंगलको उकालो चढ्ने । हिँडने दुई बाटा छन्–मोटरेबल सडक र ठाडो गोरेटो । गोदामबाट चन्द्रागिरि ठाडो उकालो ४ किमि र मोटर बाटो ५ किमि २ घन्टामा पुगिन्छ चन्द्रागिरी भन्ज्याङ (२,२५० मिटर)मा । पानी पर्ने मौसममा मोटरेबल बाटोमा हिँड्ने र अरुबेला गोरेटोमा।

भञ्ज्याङमा बौद्ध स्तुप छ । नजिकै खाजा पसल पनि । पसलमा चना, आलु सेल पाइन्छ । भञ्ज्याङमा चौबाटो छ । सिधा पश्चिम लागे ६ किमिमा पुरानो नेवार बस्ती चित्लाङ पुगिन्छ । चित्लाङमा होमस्टे र होटल छन् । भन्ज्याङबाट दायाँ उत्तर लागे ५ किमिमा तामाङ बस्ती तोप्लाङ पर्छ भने दक्षिणमा भालेश्वर ३ किमि दुरीमा।

पहिला काठमाडौंबाट तराईहुँदै भारत पस्न चन्द्रागिरि भञ्ज्याङको यही गौंडो प्रयोग गरिन्थ्यो।

भञ्ज्याङबाट दक्षिण ठाडो उकालो लागे एक घण्टामै टप पुगिन्छ । दायाँबायाँ हरिया जंगल बीचको ढुँगा ओच्छाइएको सिँढी बाटो । केबुलकार स्टेशनबाट १० मिनेट माथि छ भालेश्वर मन्दिर । मन्दिर घुमेर चखेल हुँदै मातातिर्थ झर्ने । चखेल मातातीर्थ ४ किमि  ठाडो ओरालो । जम्मा पदयात्रा दुरी १४ किमि । ठाडो उकालो र ठाडै ओरालो भएकाले पदयात्रा साहसिक छ।

प्रख्यात धार्मिक र ऐतिहासिक पर्यटकीयस्थल भालेश्वरमा हामी जेठको चौंथो शनिबार प्रकृति प्रेमी समूहको १३३ औं पदयात्रामा पुगेका थियौं । थानकोट गोदामको बाटो फराकिलो बनाउँदै गरेको हुनाले हामी शसस्त्र प्रहरी बेस क्याम्पतिरको मोटरबाटो उकालियौं । पानी पर्ने मौसम भएकाले मोटरबाटो हिँड्यौं नभए जंगलको गोरेटो पनि छ।

क्याम्पबाट चखेल देउराली हुँदै भालेश्वर पुग्यौं । भालेश्वरमुनि बसेर खाजा खायौं । हाम्रो समूहले हाइकिङका माध्यमबाट गाउँ गाउँमा स्वास्थ्य  ज्ञानको मुल मन्त्र ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ नारा फैलाउँदै आएको छ । हामी सबैलाई स्वस्थ रहने सञ्देश बाँड्दै आन्तरिक पर्यटन विकासमा सहयोग पु¥याउन हरेक महिनाको चौंथो शनिबार हाइकिङ गराउँदै आएका छौं । हामी पदयात्रामा स्वास्थबर्धक आहार र फलफूल मात्र खान्छौं।

भालेश्वरबाट हामी गएकै बाटो फर्कियौं । त्यसै पनि हरियाली डाँडा, त्यसमाथि मनसुनको सुरुवातले अझ हरियालीको सुन्दरता, सिमसिमे पानीमा हिँड्यौं । ध्यान दिनुपर्ने कुरा–मनसुनमा सकेसम्म चिप्लो नुहने बाटोमा हिँड्नु पर्छ । अन्यथा लड्ने संभावना हुन्छ।
हामी त पुग्यौं धार्मिक र ऐतिहासिक गन्तव्य भालेश्वर, तपाइँहरु पनि मनसुनमा रमाउँदै त्यहाँ पुग्ने कि !
कसरी पुग्ने : काठमाडौंको पुरानो बसपार्कबाट कलंकी, गुर्जुधारा थानकोट हुँदै शसस्त्र प्रहरीसम्म गाडीमा । शसस्त्र प्रहरीबाट मोटरबाटो तेस्र्रो उकालो बाटो हुँदै चखेल देउराली र देउरालीबाट भालेश्वर टप पुग्ने । भालेश्वरबाट गएकै बाटो फर्कने । ससस्त्र प्रहरी–चखेल देउराली मोटरबाटो ७ किमि, चखेल–भालेश्वर २.५ किमि ठाडो उकालो । जम्मा पदयात्रा दुरी ः १९ किमि । पुरै बाटो ठाडो उकालो र आरालो छ।

प्रकाशित: २६ श्रावण २०७५ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App