१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडाउन प्रतिबन्ध

अन्नपूर्ण आधार शिविर क्षेत्रमा अवतरणको तयारीमा रहेको हेलिकोप्टर। फाइल तस्बिरः उमेश पुन/नागरिक

पोखरा - पोखराबाट हेलिकोप्टरमा पर्यटक उडाएर अन्नपूर्ण आधार शिविर (एबिसी) मा लैजान रोक लगाइएको छ। अन्नपूर्ण गाउँपालिकाले यात्रु ओसार्ने गरी आधार शिविरसम्म उडान र अवतरण गर्न हेलिकोप्टरलाई रोक लगाएको हो।

आगामी भदौ १ गतेदेखि हेलिकोप्टरले आधार शिविरसम्म व्यावसायिक उडान गर्न नपाउने गाउँपालिकाले बताएको छ। विगत केही वर्षदेखि पोखरा विमानस्थलबाट पर्यटक उडाएर आधार शिविर पु-याउने र केही समय घुमफिर गर्न दिएर फर्काउने गरिएको थियो । तर, अबदेखि उद्धार र राहतका काममा बाहेक व्यावसायिक उडानमा हेलिकोप्टरले पर्यटक ओसार्न नपाउने गरी गाउँपालिकाले निर्णय गरेको अध्यक्ष युवराज कुँवरले बताए।

उनका अनुसार फरक क्षमताका पर्यटकलाई भने विशेष अनुमति दिएर हेलिकोप्टरमा लैजान र ल्याउन पाइने तर, नियमित पर्यटक ओर्सान नपाउने गरी रोक लगाएको कुँवरले बताए। ‘भदौ १ गतदेखि आधार शिविरसम्म पर्यटक ओसार्न पाउने छैनन्,’ उनले भने, ‘फरक क्षमता भएका पर्यटकले चाहना बमोजिम जान खोजेमा गाउँपालिकाको विशेष अनुमतिमा हेलिकोप्टर चार्टर गर्न सक्छन् । तर, सबैका लागि यो नियम लागू हुनेछैन।’

पर्यटकीय सिजनमा विभिन्न हेलिकोप्टर कम्पनीले दैनिक डेढ दर्जनभन्दा बढीपटक आधार शिविरसम्म उडान गर्दै आएका थिए । ‘मानवीय उद्धार र राहतका लागि कसैले अनुमति लिनुपर्ने जरुरी छैन । तर, पर्यटक लगेर केहीबेर घुम्न दिएर फर्काउने गरी आउजाउ गराउन पाइँदैन,’ उनले भने।

उनका अनुसार आधार शिविर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ। त्यसैले त्यहाँसम्म जाँदा विशेष अनुमति चाहिन्छ । अनि विदेशी पर्यटक आधार शिविर पुग्दा एक्याप र पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापत शुल्क तिर्नुपर्छ । अहिलेसम्म पर्यटकले दुवै शुल्क छल्दै आएका थिए। त्यसको मार राजस्वमा पनि परेको थियो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार हेलिकोप्टर र पर्यटक कोही पनि करको दायरामा थिएनन् । कर तिरे पनि अब आधार शिविरिसम्म हेलिकोप्टरको यात्रा गर्न नपाइने उनले बताए।

‘पर्यटकको बसाइ अवधि हेलिकोप्टरका कारण छोटिएको थियो। त्यसबाहेक हिमाली भेगका वन्यजन्तु, चराचुरुंगी नै लोप हुने अवस्था आयो,’ उनले भने, ‘ध्वनि प्रदूषण बढ्यो। बिहान सबेरै हुने ध्वनि प्रदूषणले हिमाली क्षेत्रका वन्यजन्तु, चराचुरुङगी नै विस्थापित भएका छन्।’

हेलिकोप्टरले पर्यटकलाई आधार शिविर पु¥याएर आधा घन्टा रमाउन दिन्थे। अनि तत्काल पोखरा फिर्ता गराउँदा पर्यटकले त्यस क्षेत्र लामो समय घुम्न समेत पाउँदैनन् । ‘आधार शिविर पुगेको प्रमाण पेस गर्न हेलिकोप्टर यात्रा पर्याप्त थियो,’ उनले भने, ‘तर यात्रुको रुपमा लिएर गएर आधा घन्टा घुमाएर पर्यटकको इच्छा मार्न पाइँदैन।’ हिँडेर जाँदा आधार शिविर पुगेर फर्किन कम्तीमा एक साता लाग्छ । हेलिकोप्टरमा एक घन्टामै यो यात्रा हुँदै आएको थियो।

गाउँपालिकाले पदमार्ग विस्तार, मर्मतसम्भार गर्ने, होटल व्यावसायीले लगानी गर्ने तर हेलिकोप्टरलाई बाहेक अरुलाई फाइदा नहुने भएकोले उडान रोक्नुपर्ने व्यवसायीले पनि गरेको उनले बताए। ‘व्यवसायीले होटल बनाउने तर, पर्यटक हेलिकोप्टरमा गएर फर्किंदा त्यसबाट लाभ होइन, नोक्सान भएको थियो,’ उनले भने, ‘हेलिकोप्टरमा पुगेका पर्यटकबाट आधार शिविरका होटललाई फाइदा थिएन । उल्टै ध्वनि प्रदूषणले पर्यटक रमाउन पाएका थिएनन्।’

आधार शिविर अन्नपूर्ण गाउँपालिका–११ मा पर्छ।

वडाअध्यक्ष हिम गुरुङ उडान नरोके हेलिकोप्टर सञ्चालकले मात्र कमाउने अवसर पाउने अरु सबैलाई घाटा हुने बताउँछन् । ‘त्यसबाहेक पर्यावरणीय असर पनि उत्तिकै भयो,’ उनले भने, ‘विमानस्थलमा झैं हेलिकोप्टर उडान र अवतरण गराइयो।’

‘यति धेरै हेलिकोप्टर उडान भयो कि त्यसको कम्पनले हिमाल नै चर्किने अवस्था आयो,’ उनले भने, ‘संरक्षण क्षेत्र घुम्न पुगेका पर्यटकले हेलिकोप्टरको आवाज छल्न कान छोपेर हिँडनुपर्ने अवस्था आयो ।’ आधार शिविरमा रहेका केही होटलले चिया, कफी बेचेर आम्दानी गरे पनि पदमार्गका व्यवसायीलाई हेलिकोप्टर यात्राले पूरै मार परेको उनले बताए । ‘पर्यटक नपाउँदा पदयात्रा व्यवसायी र मजदुर पनि मारमा थिए,’ उनले भने । गुरुङले हेलिकोप्टर चढेर लान्द्रुक, छोमरोङ, घान्दु्रक, घोरेपानी क्षेत्रमा घुम्न जान भने पाइने बताए।

यसअघि एक्यापले पनि आधार शिविरमा हेलिकोप्टर उडान रोक्नू भन्दै आएको थियो । तर, कसैले टेरेको थिएन । एक्यापले केही महिनाअघि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) लाई पत्र पठाएर हेलिकोप्टर उडान र अवतरणका रोक्न अनुरोध गरेको थियो । एक्यापकी पर्यटन अधिकृत रश्मी आचार्यले हेलिकोप्टरको आउजाउले पदमार्गका होटलको व्यापारमा कमी आएको बताइन । ‘एक्यापले केही महिनाअघि नै रोक लगाउनू भनेर नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाए पनि अटेर गरियो,’ उनले भनिन, ‘आधार शिविरमा उडान रोक्नु नै भनेर हामीले पत्र पठाएका थियौं । प्राधिकरणले त्यो बेला रोक्न सघाउँछौ भने पनि काम भएन।’

हेलिकोप्टरको मुभमेन्टले त्यहाँका वन्यजन्तु तर्सिएको उनले पनि बताइन् । ‘शान्त वातावरणमा बसेका वन्यजन्तु र चराचुरुंगीलाई नै असर प-यो,’ उनले भनिन्, ‘पदयात्रा व्यावसाय नै धरापमा प-यो । गैरकानुनी पर्यटक आउजाउ बढ्यो ।’ उडेर जाने पर्यटकले हेलिकोप्टरबाहेक अरु केही शुल्क नतिरेको उनले बताइन् । ‘एक्याप प्रवेश अनुमति, टिम्स पनि तिरेका थिएनन् । त्यसमाथि उद्धारका नाममा व्यापारिक उडान पनि गरियो,’ आचार्यले भनिन् । हेलिकोप्टर कम्पनीलाई समेत आधार शिविरमा उडान नगर्न भन्दा अटेर गरेको उनले बताइन।

प्रकाशित: २५ श्रावण २०७५ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App