१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दक्षिणपन्थी विकल्प आउन नदिन सतर्क हुनुपर्छ : संयोजक भट्टराई

काठमाडौं–नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले 'वैकल्पिक राजनीतिको कुरा गर्दा विकल्पमा दक्षिणपन्थी प्रकारका शक्तिहरु अगाडि आउने खतरा रहेको भन्दै सतर्क रहनु पर्ने बताएका छन्।

युरोप भ्रमणबाट फर्केने क्रममा विमानस्थलमा बोल्दै भट्टराईले अहिले विश्वव्यापी रुपमा नै पुराना राजनीतिक विचार, शक्तिहरुबाट जनतामा वितृष्णा पैदा भएको देखिएको बताए। 'युरोपका कतिपय देशहरुमा पनि नयाँ नयाँ शक्तिहरुको उदय हुँदै गएको र पुराना विचार, पुराना पार्टीहरुबाट देशका समस्या हल हुन नसकेको हामीले देख्यौं', उनले भने, 'थुप्रै देशहरुमा वैकल्पिक राजनीतिक शक्तिहरुको उदय हुँदै गइरहेको छ। खासगरी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले छोटै समयमा विजय हासिल गर्नुभयो र उहाँका पार्टीका सांसदहरुसँग हामीले कुरा गर्दा उनीहरुले आफ्नै ढंगले नयाँ विचार अघि ल्याउन खोजेको हामीले पायौं।'

जर्मनीमा अलिकति दक्षिणपन्थी प्रकारका शक्तिहरुको उदय हुन लागेको अवस्थामा फेरि एकचोटि लोकतान्त्रिक प्रगतिशील शक्तिहरुले वैकल्पिक धार सिर्जना गर्नुपर्छ भन्ने खालको बहस सुरु गरेको देखिएको उनले बताए।

'यस हिसाबले अहिले २१ औं शताब्दीको सुरुमा हिजोको शितयुद्धकालीन बजारमुखी उदारवादी पुँजीवाद र राज्यनियन्त्रित समाजवादका जुन दुईवटा धार थिए ती शक्तिहरुको विकल्पमा क्रमशः जनताले प्रगतिशील लोकतान्त्रिक तेस्रो धार खोजेको हामीले देख्यौं', भट्टराईले भने।

उन्नत प्रकारको लोकतन्त्र, समावेशी लोकतन्त्र र समावेशी विकासलाई केन्द्रमा राखेर अग्रगामी, प्रगतिशील लोकतान्त्रिक प्रकृतिको विकल्प निर्माण गर्नमा ध्यान दिनुपर्ने उनले बताए।

 

प्रकाशित: २४ श्रावण २०७५ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App