१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुटलाई बल दिँदै देउवा

काठमाडौं- पार्टीमा गुट राजनीति संस्थागत गर्ने नेताका रुपमा परिचित शेरबहादुर देउवा आफैं नेतृत्वमा आए पनि यो घाउ थाक्नुको बदला उकुज पल्टँदै गएको छ। १३ औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएको छ महिनायता पार्टीमा झन् बढी गुट संस्थागत भएको नेताहरुले आरोप लगाउन थालेका छन्। लामो समय पार्टीमा असन्तुष्ट गुटको नेतृत्व गरेका देउवा पार्टी सभापति बनेपछि पनि आफैं गुट राजनीति संस्थागत गर्न अग्रसर देखिन्छन्। उनले पार्टीलाई विधि र विधानभन्दा गुटकै आधारमा अघि बढाइरहेका छन्।

गुट चलाउन नेता सक्रिय रहेको जनाउँदै केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीकै नेताबीच हार्दिकतापूर्ण वातावरण नरहेको बताए। '१३ औं महाधिवेशनपछि आन्तरिक व्यवस्थापन जस्ताको तस्तै छ,' घिमिरेले भने, 'सरकार गठन र भ्रातृ संगठनको महाधिवेशनमा मात्र ध्यान केन्द्रित हुँदा पार्टी लथालिंगको अवस्थामा छ।' तर, भ्रातृ संगठनकै चुनावले झन् पार्टीभित्रको गुटलाई थप संस्थागत गरिरहेको छ।

देउवाले सभापति जिते पार्टीमा गुट–उपगुटको राजनीति अन्त्य गरी एकीकृत रुपमा बढाउने विषय १३ महाधिवेशनको अजेन्डा नै बनाएका थिए। तर उनले अहिलेसम्म पार्टी विधानअनुसार पदाधिकारी, केन्द्रीय समिति र विभाग गठन प्रक्रियासम्म सुरु गरेनन्। बरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा पार्टीको सहभागिता गुटकै आधारमा गराएका छन्। भ्रातृ संगठनको महाधिवेशन गराउने निर्देशक समितिमा समेत पार्टीभित्र विद्यमान गुट र उपगुटलाई भागबन्डामा सम्मिलित गराएर संस्थागत मान्यता दिएको आरोप उनीमाथि लाग्न थालेको छ।

१३ औं महाधिवेशन अघिसम्म पार्टीभित्र विद्यमान भागबन्डाको राजनीतिको विरोध गर्ने नेता पौडेलदेखि गुट चलाएरै नेतृत्वमा पुगेका सभापति देउवासम्मको ध्यान त्यसमै केन्द्रित छ। त्यसका साथै गुट चलाउँदा पार्टीदेखि सरकारसम्ममा भाग पाइने भएपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलादेखि अन्य नेता गुट संस्थागत गर्न सक्रिय भएका हुन्।

सभापति देउवा र नेता पौडेल नेतृत्वको दुई मुख्य गुट विद्यमान रहे पनि १३ औं महाधिवेशनपछि उदाएको सिटौला समूहलाई देउवाले गुटकै मान्यता दिएका छन्। सरकारदेखि पार्टीको भ्रातृ संगठनको महाधिवेशन गराउन गठन गरिएको समितिमा उनले सिटौलालाई भाग छुट्याउँदै आएका छन्। त्यस्तै, सभापति देउवाभित्रै नेता खुमबहादुर खड्का र पूर्वमहामन्त्री कुलबहादुर गुरुङले नेतृत्व गरेको अर्को उपगुट विद्यमान छ। खड्का नेतृत्वको गुटलाई देउवाले सरकारदेखि पार्टीभित्र स्थान दिँदै आए पनि गुरुङ पक्षको भने उपस्थिति देखिएको छैन।

त्यस्तै, पौडेल नेतृत्वको पुरानो संस्थापनमा पनि झन्डै आधा दर्जन उपगुट सक्रिय छन्। महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला, नेत्री सुजाता कोइरालासहितका उपगुट सक्रिय छन्। सबै नेता आ–आफ्नो समूहलाई बलियो बनाउन निरन्तर छलफल/भेलामा सक्रिय रहे पनि पार्टीभित्र संस्थागत छलफल नभएको लामो समय भएको छ।

केन्द्रीय सदस्य घिमिरेले पार्टीलाई कसरी अघि बढाउने र सञ्चालन गर्ने भन्ने विषयमा छलफलै नभएको सुनाउँदै गुट/उपगुटका बैठक मात्र भइरहेको बताए।  पार्टी सञ्चालनका साथै सरकारमा क–कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको सुनाउँदै उनले थपे, 'पार्टीमा पुर्‍याएको योगदान र मापदण्डका आधारमा भन्दा नेताको खल्तीबाट मन्त्री बनाउने परम्परा बसेको छ।'

हजारौं कार्यकर्ताको योगदानबाट पार्टी सत्तामा पुग्ने हैसियत बन्ने गरे पनि सरकारमा पुगेपछि आफूखुसी चल्ने गरेको उनले बताए। पार्टीप्रति मन्त्रीको कुनै दायित्वबोध नहुने गरेको सुनाउँदै घिमिरेले थपे, 'पार्टीको सर्वोच्च निकायभन्दा गुट हाबी हुँदै गएका छन्। विधानभन्दा बाहिरबाट समाधान खोज्न थालिएको छ।' पार्टीलाई व्यवस्थापन गर्नेतर्फ कसैको ध्यान नगएको जनाउँदै उनले भने, 'व्यक्तिपिच्छे गुटलाई व्यवस्थापन गर्नमै समय बितेको छ।'

नेता गोपालमान श्रेष्ठले गुट/उपगुटको आधारमा नभई नेताको योग्यता, क्षमता र योगदानका आधारमा अवसर र जिम्मेवारी दिने परम्पराले गुट/उपगुट समाप्त हुने बताए। 'गुट/उपगुटको आधारमा होइन, सबै कांग्रेसको बास्केटमा अटाउने हुनुपर्छ,' श्रेष्ठले भने, 'भागबन्डा र गुट/उपगुटका आधारमा होइन, योगदान, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्छ।'

१३ औं महाधिवेशनलाई एकता महाधिवेशन भने पनि त्यसपछि पनि पार्टी गुटबाट माथि उठ्न नसकेको सुनाउँदै श्रेष्ठले सभापति देउवा र नेता पौडेललाई भागबन्डाको राजनीति छाड्न आग्रह गरे। विगतमा पार्टीका तत्कालीन उपसभापति पौडेलले भागबन्डाको राजनीति अन्त्य गर्नुपर्ने धारणा राख्दै आएको सुनाउँदै उनले भने, 'भागबन्डाको राजनीतिको काम छैन, अब प्रतिशत होइन, एउटै बास्केटमा राखेर राम्रालाई पुरस्कृत गर्ने परम्परा बसाल्न आग्रह गर्दै आएको छु।'

सभापतिमा पराजित भएपछि नेता पौडेल निरन्तर गुट चलाउन सक्रिय छन्। विगतमा देउवाले नै भागबन्डा र गुटगत राजनीति विकास गरेको जनाउँदै पौडेलले पार्टीदेखि सरकारसम्म भाग खोज्दै आएका छन्।

पौडेलले जस्तै नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सबै निकायमा भाग लिँदै आएका छन्। पार्टीभित्र देउवा र पौडेलले नेतृत्व गरेको परम्परागत समूह भएको दाबी गर्दै सिटौलाले आफ्नो नेतृत्वको समूह पार्टीलाई नयाँ दृष्टिकोणका साथ अघि बढाउन क्रियाशील भएको दाबी गरे।

'यो नयाँ र प्रगतिशील विचार बोकेको समूह हो,' सिटौलाले भने, 'पार्टीलाई नयाँ दृष्टिकोण साथ हिँडाउनेको जमात हो।'

तर, पौडेल पक्षले भने पुरानो संस्थापनलाई क्षयीकरण गरेर देउवा पक्षको सहयोगीका रुपमा सिटौला समूह देखापरेको आरोप लगाएको छ। 'यो नयाँ विचार समूह होइन, देउवा पक्षको सहयोगी समूह हो,' पौडेलनिकट एक नेताले भने, 'पुरानो संस्थापनलाई कमजोर बनाउने र सभापतिसँग भाग थाप्ने मात्र हो।'

नेता रामहरि खतिवडाले पार्टी संस्थागतभन्दा गुटमा सीमित बनेको बताए। 'पहिला कांग्रेस हुनुपर्ने हो तर अहिले दाइको गुटको अनि मात्र पार्टीको मान्छ हुने अवस्था हावी भयो,' खतिवडाले भने, 'पार्टी विधि र विधानअनुसार चल्नुपर्छ, गुटको आधारमा होइन।'

केन्द्रीय सदस्य मीनबहादुर विकले सभापतिको उम्मेदवार हुँदै गर्दा व्यक्त गरेको प्रतिबद्धताअनुसार काम नभएको स्वीकार गरे। सभापतिको चाहना पार्टीभित्र विद्यमान गुटलाई समाप्त गर्दै संस्थागत रूपमा अघि बढाउने नै भएको उनले दाबी गरे। 'सभापतिको उम्मेदवार बन्दै गर्दा उहाँ (देउवा) ले गुटलाई समाप्त गर्दै विधिसम्मत पार्टीलाई अघि बढाउने भन्नुभएकै हो,' विकले भने, 'उपगुट निर्माण हुँदै जाँदा घटनाक्रमले गुटलाई संस्थागत गरेजस्तो देखिएको छ तर त्यस्तो होइन।'

सभापतिको चाहना/इच्छाविपरित काम भइरहेको जनाउँदै विकले भने, 'भ्रातृ संगठनको महाधिवेशनपछि पार्टीलाई सुसंगठित गर्ने अभियानअन्तर्गत गुट अन्त्य गर्ने काम पनि हुन्छ।'

तर, प्रमुख भ्रातृ संगठनकै चुनाव गुटगत आधारमा भइरहेको छ। पार्टीको प्रमुख भ्रातृ संगठन नेविसंघको महाधिवेशन गुटकै आधारमा सम्पन्न भइसकेको छ भने महिला संघ र तरुण दलको महाधिवेशनमा समेत गुटगत प्रतिस्पर्धा तीव्र बनेको छ।

प्रकाशित: २८ भाद्र २०७३ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App