१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अब्बल बन्दै त्रिवि शिक्षण अस्पताल

मिर्गाैला प्रत्याराेपणमा याेगदान पु-याएका अस्ट्रेलियाका चिकित्सक डेभिड फ्रान्सिस त्रिवि शिक्षण अस्पतालमा अायाेजित कार्यक्रममा। तस्बिर : नागरिक

काठमाडौं - एक दशकअघिसम्म मिर्गौला बिगे्रका बिरामीलाई कि धेरै खर्च गरेर विदेश जानुपथ्र्यो कि त उपचार नपाएरै मृत्यु कुर्नुपथ्र्यो। सन् २००८ मा त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि भने बिरामीले सास्ती बेहोर्नुपरेको छैन। मिर्गौला प्रत्यारोपणमा अस्पतालले विकसित मुलुकसरहका अस्पतालले झैं सफलता पाएको विज्ञहरूले औंल्याएका छन्। अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको दसौं वार्षिक उत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा विज्ञहरूले यस्तो दाबी गरेका हुन्।

‘टिचिङमा भएको मिर्गौला प्रत्यारोपणमा विकसित राष्ट्रकै सरह सफलता दर छ, बिरामीमा प्रत्यारोपणपछि मिर्गौलाले काम गर्ने आधारमा यस्तो निष्कर्ष निकाल्न सकिन्छ,’ टिचिङ अस्पताल मिर्गौला विभागकी प्रमुख डा. दिव्यासिंह शाहले भनिन्, ‘विकसित राष्ट्रमा जस्तै टिचिङमा पनि ९६ प्रतिशत बिरामीमा प्रत्यारोपणपछि मिर्गौलाले काम गरेको तथ्यांक छ।’

तथ्यांकअनुसार टिचिङ अस्पतालमा दस वर्षभित्र ५ सय ६ जनामा मिर्गौला प्रत्यारोपण गरिएको छ। मृर्गौला प्रत्यारोपण गरिएकामा ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला छन्। तीमध्ये १८ जना १५ वर्षमुनिका बालबालिका छन्। ५ सय ६ जनामध्ये १७ जनाको प्रत्यारोपणपछि मृत्यु भएको छ। उनीहरूको मृत्युको कारण प्रत्यारोपणपछिको संक्रमण भएको तथ्यांकमा उल्लेख छ।

विभागले तीन वर्षदेखि १५ वर्षसम्मका बालबालिकामा पनि मिर्गौला प्रत्यारोपण गर्दै आएको छ। यो उमेर समूहमा भएको प्रत्यारोपण पनि शतप्रतिशत सफल हुँदै आएको अस्पतालले जनाएको छ। गत वर्षदेखि फरकफरक रक्तसमूह भएका मानिसबीचमा पनि मिर्गौला प्रत्यारोपण सुरु भएको छ। अस्पतालले सुरुदेखि नै धेरै रक्तनली मिर्गौला प्रत्यारोपण गर्दै आएको छ। यसै वर्षमात्र मिर्गौला प्रत्यारोपणमा प्रयोग भएका पुराना सामग्री प्रतिस्थापन गरी नयाँ प्रयोग गर्न थालिएको छ। अपे्रसन थिएटर भने पुरानै भएकाले सातामा २ जनामा मात्र मिर्गौला प्रत्यारोपण हुन्छ।

अस्पतालले मिर्गौला प्रत्यारोपणलाई थप प्रभावकारी बनाउन छुट्टै मिर्गौला प्रत्यारोपण केन्द्र खोल्ने निधो गरेको छ। केन्द्रको भवन निर्माणका लागि सरकारले यो वर्ष बजेट विनियोजन गरिसकेको छ। तीन सय शड्ढयाको मिर्गौला वार्ड निर्माण गर्ने अस्पतालको योजना छ।

नेपालमा अहिले पनि एचएलए र क्रस म्याच ल्याब छैनन्। यी सेवा नेपालमा सञ्चालन हुनुपर्ने सर्जन उत्तमकुमार शर्माले बताए। उनले आवश्यक संख्यामा जनशक्ति व्यवस्थापनका लागि तालिम दिनुपर्ने र त्यो जनशक्तिलाई तयारी अवस्थामा राख्न सकिए मिर्गौला प्रत्यारोपण प्रभावकारी हुने बताए । ‘केन्द्रलाई देशकै नमुना बनाउन चाहन्छौं,’ डा. शर्माले भने।

कार्यक्रममा सहभागी हुन आएका अस्ट्रेलियाका मिर्गौला चिकित्सक डा. डेभिड फ्रान्सिसले मृर्गौला प्रत्यारोपणमा नेपाल विकसित देशसरह सफल हृुँदै गएको बताए। उनीसमेतको टोलीले टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो। उनको सहभागितामा ५ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालमा पटकपटक पदयात्रा गर्न आउने डा. डेभिडले प्रत्यारोपणलाई प्रभावकारी र सफलतापूर्वक अघि बढाउने चिकित्सक समूहलाई बधाई पनि दिए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाँले टिचिङ अस्पतालको मृर्गौला प्रत्यारोपण कार्यक्रमको सराहना गरे । उनले मिर्गौला उपचारका लागि छुट्टै केन्द्र निर्माण गर्न प्रस्तावलाई अघि बढाउने प्रतिबद्धता जनाए।

अस्पताल विकासका माग पूरा गर्न सरकार पनि प्रतिबद्ध रहेको र यसका लागि आफूले पहल गर्ने उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताए। ‘हाम्रै मुलुकमा मिर्गौला प्रत्यरोपण सफल हुनुले नेपालको चिकित्सा क्षेत्रप्रति जनताको भरोसा बढेको छ,’ उनले भने।

मिर्गौला दान गर्नेमा महिला बढी
मिर्गौला दान गर्नेमा पुरुषको तुलनामा महिला बढी रहेको त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभागले जनाएको छ। प्रत्यारोपण सुरु भएको दस वर्षमा मिर्गौला दान गर्नेमा ६९ प्रतिशत महिला र ३१ प्रतिशत पुरुष छन्। विश्वभर नै महिला दाता बढी रहेकोमा नेपालमा पनि मिर्गौला दान गर्नेमा महिला नै बढी भएको चिकित्सकको भनाइ छ। नेपालको सन्दर्भमा यो दर अन्य राष्ट्रको तुलनामा दोब्बर भएको डा. शर्मा बताउँछन्। ‘हामीकहाँ मिर्गौला दान गर्नेमा ५० प्रतिशतभन्दा बढी महिला छन्,’ उनले भने।

महिला संवेनदशील हुने भएकाले विश्वभर महिला मिर्गौलादाता बढी भएको अध्ययनले देखाएको छ। अन्य राष्ट्रको तुलनामा नेपालमा महिला बढी हुनुमा भने लैंगिक विभेद कारण रहेको चिकित्सक औंल्याउँछन्। ‘महिलालाई समाज र परिवारले प्रत्यक्ष वा अप्रत्यक्ष दबाब दिएको हुन्छ,’ उनले भने। नेपालमा पुरुषबाट मिर्गौला लिने महिलाको संख्या भने १५ प्रतिशतमात्र छ।

प्रत्यारोपणमा योगदान पु-याउनेलाई सम्मान
अस्पतालले मिर्गौला प्रत्यारोपणको १० औं वार्षिक उत्सवका अवसरमा यस क्षेत्रमा योगदान पु-याउने चिकित्सक तथा कर्मचारीलाई सम्मानित गरेको छ।

सम्मानित हुनेमा मिर्गौला विभागकी प्रमुख डा. दिव्या, मिर्गौला सर्जन डा. भोलाराज जोशी, डा. उत्तम शर्मा, डा. गुणराज श्रेष्ठ, डा. पे्रम ज्ञवाली, डा. गुणकुमार श्रेष्ठ, डा. मोदनाथ मरहट्टा, अस्पतालका उपप्रशासक कृष्णदेव पन्त, नर्सिङ कर्मचारी ज्ञानु गुरुङ र स्वर्गीय सरला शेरचन (मरणोपरान्त) छन्। कार्यक्रममा अस्ट्रेलियाका चिकित्सक डा. डेभिड पनि सम्मानित भए।

प्रकाशित: २४ श्रावण २०७५ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App