‘प्रत्यक्ष वैदेशिक लगानी ‘एफडिआई’ बढाउनु पर्छ’

बुधबार, २३ साउन २०७५, १७ : ५५ नागरिक

एक दशकभन्दा बढी बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका रोशनकुमार न्यौपाने विगत तीन महिनादेखि एनआइसी एसिया बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्। प्रमुख आन्तरिक लेखापरीक्षकको रूपमा तत्कालीन बैंक अफ एसिया, नेपाल लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले एनआइसी एसिया बैंकलाई उत्कृष्ट बैंक बनाउने अभियानमा लागेको बताउँछन् । उनै अनुभवी न्यौपानेसँग नागरिक परिवारका लागि विश्वमणि पोखरेल र विष्णुु बेल्बासेले गरेको कुराकानी :

एनआइसी एसिया बैंकको वित्तीय अवस्था कस्तो छ ? 

बैंकका सबै सूचकहरू सकारात्मक छन् । निक्षेप संकलन र कर्जा लगानी १ खर्बभन्दा माथि छ । खराब कर्जा ०.२२ प्रतिशत मात्र छ । यो ज्यादै कम हो । हाल बैंकका १२ लाखभन्दा बढी ग्राहक छन् । ग्राहकलाई दिने सेवामा कमी आउन दिएका छैनाैं, त्यसो भएकाले पनि हामी सहज स्थितिमा छौं ।

२८ वटा वाणिज्य बैंकको बीचमा एनआइसी एसिया बैंकको अवस्था सुदृढ भएको देखिन्छ । यस्तो अवस्था ल्याउनका लागि तपाईंहरूले खास फरक के काम गर्नु भयो ? 

एनआइसी एसिया बैंकले आफ्नो ५ वर्षे रणनीति तयार गरेको छ । सन् २०२० सम्ममा यो काम गर्ने र त्यो अवधिभित्र बैंकको अवस्था यहाँ पुु-याउने भनेर योजना बनाएका छौं । त्यही रणनीति कार्ययोजनाअनुसार काम गरेका छौं । २ वर्षअगाडि नै ५ वर्षमा बैंकलाई कुन उचाइमा पु-याउने भन्ने योजना बनाएका थियाँै । त्यही योजनाअनुसार चलेका छाैं । योजना कार्यान्वयनमा ल्याएको यो तेस्रो वर्ष हो । पहिलो वर्ष नेटवर्क विस्तार गर्ने काम गरेका छाैं । सन् २०२० मा नाफाका हिसाबले तेस्रो तह (पोजिसन) मा पुग्ने योजना बनाएका छौं । त्यही अनुसार अगाडि बढेका छौं । हामीले लिएको लक्ष्य पूरा हुनेमा सत प्रतिशत आशावादी छौं । सरकारी स्वामित्वको वाणिज्य बैंक निक्षेपमा हामीभन्दा राम्रो छ। तर, लगानीका हिसाबले हामी सो बैंकभन्दा अगाडि छौं । 

पछिल्लो समय बैंक व्यवस्थापन पक्ष र सञ्चालकबीच विवाद बढ्ने र त्यही विवादका कारण बैंकको वित्तीय अवस्था पनि नाजुक हुने अवस्थाका कुरा पनि बारम्बार आउने गरेका छन् । एनआइसी एसिया बैंकमा त्यस्तो कुनै विवाद ? 

एनआइसी एसिया बैंकको वित्तीय अवस्था सबल बन्दै गएकाले पनि बैंक सञ्चालक र व्यवस्थापनबीच कुनै समस्या नभएको प्रस्ट पार्छ । एनआइसी एसिया बैंकमा बैंक सञ्चालक र व्यवस्थापनबीच कुनै विवाद छैन । बैंक सञ्चालकबीच पनि ग्रुपिजम हुने गरेका कैयाैं उदाहरण छन् । एउटा ग्रुपले अर्को ग्रुपलाई निस्तेज पार्ने काम गर्नतिर लाग्दा पनि बैंकमा समस्या आउने गर्दछ ।

एनआइसी बैंकमा त्यस्तो ग्रुपिजम छ कि छैन ?

एनआइसी एसिया बैंकभित्र त्यस्तो कुनै ग्रुपिजम छैन । एकमत नहुँदाको अवस्थाले त्यस्तो स्थिति आउने हो । एक ग्रुपले अर्को ग्रुपको अस्तित्व स्वीकार नगर्दाको परिणाम त्यस्तो हुने हो । तर, हामीमा त्यस्तो किसिमको ग्रुपिजम छैन । पुल (तान्ने) र पुस (घचेट्ने) काम कुनै बैंकमा भयो भने त्यसले अवसर पार्ने हो । तर, हामीकहाँ खुट्टा तान्ने काम कसैबाट हुने गरेको छैन । अर्कोतिर, एनआइसी एसिया बैंकमा बैंक सञ्चालकले व्यवस्थापनलाई काममा कुनै हस्तक्षेप गर्दैन । त्यसो भएकाले पनि बैंक व्यवस्थापन र सञ्चालकबीच विवाद आउने कुरा भएन । बैंक सञ्चालक र व्यवस्थापन स्वतन्त्ररूपमा आफ्नो काम गरिरहेका हुन्छन् । 

बैंक ब्याजदरका विषयमा विवाद भएपछि यसअघिका एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएको भन्ने बाहिर हल्ला भएको थियो । वास्तवमा के त्यो सत्य हो ? 

त्यस्तो विवाद आएर राजीनामा दिएको भन्ने हल्ला निराधार हो । बैंक ब्याजदरका विषयमा कुनै विवाद थिएन । उहाँको कार्यकाल समाप्त हुन लागेकोले राजीनामा दिनु भएको हो । 

बैंकले कुन क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ? 

एनआइसी एसिया बैंकले ग्रामीण क्षेत्रका बासिन्दालाई बैंकिङ पहुँचभित्र ल्याउने काममा ध्यानकेन्द्रित गरेको छ । अहिले पनि ६० प्रतिशतभन्दा बढी ग्रामीण क्षेत्रका बासिन्दा बैंकिङ क्षेत्रमा आउन सकेका छैनन् । हामीकहाँ ७५ प्रतिशत ग्राहकहरूले १ करोडभन्दा कम ऋण लिएका छन् । रिटेल, एसएमइ र डिएसएल सेक्टरमा धेरै ऋण गएको छ । बैंकिङ क्षेत्रबाहिर रहेका नागरिकलाई बैंकिङ पहुँचमा ल्याउने काममा ध्यानकेन्द्रित गरेका छौं । अहिले बैंकका २२४ शाखा छन् । ती शाखाबाट ग्राहकलाई सुविधा पु-याउने काम गरिरहेका छौं । पहिला वार्षिक ५ अर्ब डिपोजिट थपिने गरेकोमा अहिले ५० देखि ६० अर्ब थपिन थालेको छ । अझै पनि सहकारीमा ठूलो परिणाममा डिपोजिट छ त्यो रकम पनि बैंकिङ च्यानलमा ल्याउने योजना बनाएका छौं । 

अवैधानिक रूपमा र सहकारी क्षेत्रमा अझै पनि ठूलो रकम छ भनिन्छ । लामो समय बैंकिड क्षेत्रमा काम गरिरहनु भएको तपाईंलाई उक्त क्षेत्रमा कति प्रतिशत रकम होला ?

अहिले पनि धेरै जनता ऋण लिनका लागि सहकारी तथा साहु महाजनकहाँ जाने गरेका छन् । अहिले पनि २२ देखि २५ प्रतिशत रकम अवैधानिक (इन्फर्मल सेक्टर) मा छ भन्ने गरिन्छ । त्यसैगरी, २० देखि २१ प्रतिशत रकम सहकारीमा छ ।   

नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा अधिकतम ११ प्रतिशतभन्दा बढी दिन नपाइने सीमा निर्धारण गरेको छ । बैंकहरूबीचको यस्तो सहमतिले खुला प्रतिस्पर्धालाई अंकुश लगाउने काम भयो भन्ने पनि भनाइ छ नि यसमा तपार्इंको भनाइ के छ ? 

निक्षेपको ब्याज बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्छ । कर्जाको ब्याज बढ्दा उत्पादन लागत पनि बढ्छ । यसले गर्दा त्यस्तो वस्तु उपभोग गर्ने सर्वसाधारणले महँगो मूल्यमा समान खरिद गर्नुपर्ने हुन्छ । यस्तो अवस्था नआओस् भनेर निक्षेपको ब्याजदरमा सीमा तोकिएको हो । निक्षेपको ब्याजदर बढाउँदा उपयुक्त नहुने किसिमको सुझाव सल्लाह संघमा आएकोले त्यसो गरिएको हो । निक्षेपको ब्याजदर एउटा सिलिडभित्र नै रहनु पर्छ । यसले सबैलाई फाइदा हुन्छ भनेर नै यसो गरिएको हो । 

एनआइसी बैंकले कस्तो ठाउँमा लगानी बढाइरहेको छ ? 

बैंकमा धेरै किसिमका ऋण लिन आउने ग्राहक हुन्छन् । कोही १० प्रतिशत ब्याजदरमा ऋण लिन आउने र त्यो भन्दा दोब्बर ब्याजदरमा भए पनि ऋण दिनु न भन्ने पनि आउँछन् । हामीले सहरी र बुद्धिजीवीभन्दा पनि उदाउँदै (इमर्जिड) गरेको वर्गलाई लक्षित गरेर ऋण प्रवाह गरेका छौं । बढी ध्यान पनि त्यही वर्गलाई दिएका छौं । 

एउटा बैंकर्सको हेराइमा मुलुकको अर्थतन्त्रलाई कसरी विश्लेषण गर्नु भएको छ ? 

मुलुकको आर्थिक अवस्था समग्रमा भन्दा चुनौतीपूर्ण नै देख्छु । सरकारले एउटा नीति र रणनीति लिएर अगाडि बढ्नु पर्छ र बढेको पनि छ । समृद्धिको आधारशिला तयार भएको छ । यसलाई थप व्यवस्थित पारेर अगाडि बढ्नुपर्ने जरुरी देखेको छु । अमेरिका र चीनका आफ्नै प्रकारका विकास योजना छन् । हाम्रो बजेटको आकार पनि सानो छ । त्यसैअनुसार अगाडि बढ्नु पर्छ । सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक वृद्धि ८ प्रतिशत हुने अनुमान गरेको छ । त्यो लक्ष्यमा पुग्नुपर्छ । 

मुलुक आर्थिक समृद्धितर्फ जानेमा तपार्इं आशावादी हुनुहुन्छ ? 

मुलुक विकासका हिसाबले ४० वर्ष पछाडि परेको छ । त्यो सबैलाई अवगत नै छ । तर, अब द्रुतगतिमा अगाडि बढ्ने वातावरण बनेको छ । भौतिक पूर्वाधारको काम तिब्रगतिमा अगाडि बढाउनु पर्नेछ । सञ्चार क्षेत्रको विकासले फड्को मारेको छ । यसले पनि केही आशावादी बनाएको छ । अन्य भौतिक पूर्वाधारको कामले पनि आगामी दिनमा गति लिने र समग्र मुलुकले काँचुली फेर्ने कुरामा म आशावादी छु । 

बैंकहरूमा लगानीयोग्य पुँजी (तरलता) को अभावका कारण लगानी गर्न सक्ने अवस्थामा छैनन् भनिन्छ नि ? के बैंकमा तरलता नभएकै हो त ? 

बैंकमा लगानीयोग्य पुँजीको केही कमी भएकै हो । ऋणको जति माग छ, त्यही अनुपातमा निक्षेप बढ्न नसक्दा यस्तो स्थिति आएको हो । लगानी गर्ने अनुकूल वातावरण भएकाले पनि बैंकमा ऋण लिन आउने बढेका हुन् । दुई वर्षअघि निक्षेपको ब्याजदर ज्यादै न्यून थियो । बैंकमा लगानी गर्ने रकम पनि प्रशस्त थियो । त्यो बेला तरलताको अभाव थिएन । अहिले ऋणको माग बढेकाले तरलताको समस्या आएको हो । 

लगानीयोग्य पुँजीको अभाव हुन नदिन के गर्नु पर्ला जस्तो लाग्छ तपार्इंलाई ? 

प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) बढाउनु पर्छ । पछिल्लो समय एफडिआई बढेको पनि छ । नीतिगत तहमा स्थायित्व छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतलाई दिलाउनु जरुरी छ । विदेशीलाई नेपालमा लगानी गर्न आउनका लागि उपयुक्त अवसर हो भन्ने किसिमको सन्देश र विश्वास दिलाउन सक्नुपर्छ । भर्खरै प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमणमा गएका बेला पनि यो सन्देश प्रवाह गर्नु भएको छ । यस्तो सन्देश अन्य मुलुकमा पनि फैलाउनु पर्छ । आयात–निर्यातबीचको खाडललाई कम गर्न निर्यातलाई बढाउनु पर्छ । त्यसैगरी रेमिटेन्स आयातलाई पनि बढाउनु पर्छ । 

तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी बैंकसँग ऋण लिन पाउने व्यवस्था गरिदिएको छ । यसले अहिले बैंकमा देखिएको तरलता सहज हुनेमा तपाईं कति आशावादी हुनुहुन्छ ? 

केन्द्रीय बैंकले ल्याएको अवधारणा राम्रो हो । तर, त्यसरी ऋण लिन बैंकहरू त्यति आकर्षित देखिएका छैनन् । समग्र मुलुकको नै क्रेडिट रेटिड गर्नुपर्ने हुन्छ । त्यसमा नेपालको अवस्था त्यति राम्रो छैन । त्यसैले पनि सोचेजति सफलता यसमा मिल्ला जस्तो लाग्दैन ।

त्यसो भए तरलताको अवस्था अझै लामो समय रहने भयो होइन त ? 

निक्षेप संकलन हुन सक्ने स्रोत कम छ । तर, लगानीको माग अत्यधिक छ । यस्तो अवस्थामा तरलताको समाधान हुन सक्ने सम्भावना कम छ । मानिस आशावादी भएर लगानी गर्न खोजी रहेका छन् । भारतमा पनि २–३ वर्षअघि यस्तो भएको थियो । ऋणको माग बढ्नु मानिस आशावादी हुनु हो । 

सरकारले आर्थिक समृद्धिको नारा अघि सारेको छ । तपार्इंको विचारमा के यो सम्भव छ ? 

धनी र गरिबबीचको खाडल बढेको छ । यस्तो खाडललाई पुर्नुपर्ने अवस्था छ । ठूला उद्योगभन्दा साना उद्योगलाई प्राथमिकता दिने हो भने स्थानीय स्तरमा रोजगारी सिर्जना हुने थिए । यसैगरी पर्यटन, कृषिलगायतका क्षेत्रमा सरकारले प्राथमिकता दिन सकिएको खण्डमा गरिब र धनीबीचको खाडल कम गर्न सकिन्थ्यो । गरिबी न्यूनीकरण गर्नु आवश्यक छ । जीवनस्तर उकास्न रोजगारीका कार्यक्रम ल्याउनु जरुरी छ । लामो समय रेमिटेन्समा भरपर्नु हुँदैन । गरिबलाई अझ गरिब हुनुबाट बचाउनु पर्छ । यसका लागि निर्यात बढाउनु पर्छ र आयातलाई कम गर्दै जानुपर्छ । प्राथमिकताप्राप्त क्षेत्रमा जानु आवश्यक छ । 

सरकारले बजेटमार्फत नै युवालाई प्रमाणपत्र (सर्टिफिकेट) धितोमा राखेर कर्जा दिने व्यवस्था ल्याएको छ । कति सजिलो छ सर्टिफिकेट राखेर ऋण दिन ? 

सरकारले नीति ल्याएको छ । हामीले पनि यस्तो व्यवस्था ल्याउन सहयोग गरेका छौं । तर, यसमा पर्याप्त गृहकार्य गर्नु जरुरी छ । लगानी गरेको रकम डुब्नबाट जोगाउनु पर्छ । कर्जा नउठ्नु भनेको जनताको पैसा जोखिममा जानु हो । त्यस्तो जोखिममा पनि जानु दिनु हुँदैन र अध्ययन गर्न वञ्चित हुने अवस्थाको पनि सिर्जना गर्नु हुँदैन । 

पछिल्लो समय बैंकहरू ग्रामीण क्षेत्रतिर बढी केन्द्रित भएका छन् । राष्ट्र बैंकको नीतिले पनि सबै स्थानीय तहमा वाणिज्य बैंक पुग्न दबाब सिर्जना गरेको छ । ग्रामीण क्षेत्रमा बैंक जाँदा के कस्तो चुनौती र अवसर देख्नु हुन्छ ? 

अवसर र चुनौती दुवै छन् । यातायात, बिजुली, भौतिकपूर्वाधार, सुरक्षाको चुनौती त छँदै छ । त्यसमाथि अवसर पनि छन् । नयाँ क्षेत्रमा जाँदा निक्षेप र कर्जा बढ्न सक्ने सम्भावना पनि त्यतिकै छ । थोरै लगानी गर्दा ऋण नउठ्ने जोखिम कम हुन्छ । तर ठूलो लगानी गर्दा ऋण नउठ्ने सम्भावना बढी हुन्छ । 

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक तयारी गर्दै छ । मौद्रिक नीति कस्तो आउनु पर्छ जस्तो लाग्छ तपाईंलाई ? 

आगामी वर्षको मौद्रिक नीति उत्पादनमूलक क्षेत्र र विपन्न क्षेत्रमा लगानी बढाउन केन्द्रित हुनुपर्छ । 

मुलुकको समग्र आर्थिक सूचकको रूपमा लिने गरिएको सेयर बजार दिनहुँ ओरालो लाग्दै गएको छ । सेयर बजारका सम्बन्धमा तपाईंको भनाइ के छ ? 

सेयर बजार अझै पनि परिपक्क हुन सकेको छैन । बामे सर्ने अवस्थामै छ । बिस्तारै सुधार हुने कुरा हो । उत्पादनमूलक कम्पनी पनि सेयर बजारमा आउन थालेका छन् । म्युचुअल फन्डको कारोबार हुन थालेको छ । जहाँसम्म लगानीको कुरा छ, गहिरो जता छ त्यतै पानी बग्ने हो । घरजग्गामा फाइदा हुँदा लगानीकर्ता त्यतै ओइरिन्छ । त्यसैगरी सेयरमा फाइदा हुने देखे भने सेयरमा लगानी गर्न पुग्ने हुन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृतहरू अति नै व्यस्त हुन्छन् भनिन्छ समयको व्यवस्थापन कसरी गर्नु भएको छ ? 

समय त आफूले निकाल्ने हो । समयलाई व्यवस्थापन गर्न सक्यो भने समस्या हुँदैन । बैंक, आफ्नो परिवार, समाजको अवश्यकता के हो ? त्यसको पहिचान गर्नुपर्छ र त्यही अनुसार अघि बढ्नु पर्छ । 

तपाईंको दैनिक जीवनी कसरी बित्छ ? 

बिहान ५ बजे उठ्छु । मर्निङवाकमा जान्छु । त्यसपछि हल्का व्यायाम गर्छु । बिहान ८ बजे अफिस जान्छु । बेलुका ९.३० देखि १० बजेसम्म घर फर्कन्छु । बैंंकलाई जसरी पनि एक नम्बरमा पु-याउने अभियानमा लागेका छौं । परिश्रम त्यहीअनुसारको लगाएका छौं । परिवारमा पनि त्यही अनुसारको अन्डरस्ट्यान्डिङ भएको छ । 

परिवारमा को–को हुनु हुन्छ ? 

बुबा–आमा, श्रीमती र दुई छोरा छौँं । सानो छोरा श्रीशानले युकेजी र ठूलो श्रीयोजनले कक्षा चारमा पढ्छन् । श्रीमती सिर्जना घरको काममा व्यस्त हुन्छिन् । 








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad