१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

८० रुपैयाँ बुझाउन १ हजार खर्च

सदरमुकाममा रहेको बिधुत प्राधिकरण शाखा कार्यालय ।   तस्बिरः बिरा/नागरिक

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–४, पिपलकोटका उमेश भट्ट साउन पहिलो साता विद्युत् महसुल बुझाउन सदरमुकाम पुगे। ८० रुपैयाँ महसुल बुझाउँदा गाडीभाडा र चिया नास्तामै १ हजारभन्दा बढी खर्च भयो। यो उनको मात्र पीडा होइन जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका सर्वसाधारणले यस्तो सास्ती भोग्दै आएका छन्। विद्युत् सेवा पुगेका स्थानका बासिन्दाले थोरै महसुल बुझाउन धेरै पैसा खर्चिन पर्ने बाध्यताले समस्या भोग्दै आएका छन्।

गाउँमै विद्युत् महसुल बुझाउन काउण्टर नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। जिल्ला सदरमुकाम र पाटनमा मात्र विद्युत् प्राधिकरणले महसुल काउण्टर राखेको छ। महसुल बुझाउन जादा हुने खर्चकै कारण सर्वसाधारणले सास्ती खेप्नु परिरहेको हो। विद्युत् प्राधिकरणले गाउँसम्म विद्युत् सेवा सुरु गरेपनि महसुल बुझाउन समस्या हुने गरेको सुर्नया गाउँपालिका–५ का नरेन्द्र बिष्ट बताउँछन। ‘तीन वर्ष अघि गाउँमा विद्युत् बिस्तारसँगै सहज भएको थियो,’ उनले भने ‘चार घण्टा टाढा पाटनमा रहेको महसुल काउण्टरसम्म जान समस्या हुँदा एक वर्षको एकैपटक पाटनमा रहेका आफन्तको जिम्मा दिने गरेको छु।’ गाउँका अन्य स्थानीयले समस्या भोग्दै आएको उनको भनाइ छ।

जिल्लाका सीमित स्थानीयतहमा मात्रै सडक यातायात पुगेको भए पनि अधिकांस क्षेत्रका विद्युत् ग्राहक घण्टांै पैदल हिडेर विद्युत् महसुल बुझाउन सदरमुकाम पुग्ने गरेका छन्। टाढाका स्थानीय एक दिन सदरमुकाममा बस्नुपर्ने बाध्यता छ। सदरमुकाममा बस्दा झन बढी खर्च हुने गरेको उनीहरू बताउँछन्। विद्युत् प्राधिकरणले महिनाको पहिलो साताभित्र महसुल बुझाउनु पर्ने नियम  बनाएको छ।

विद्युत् प्राधिकरणको महसुल बुझाउने काउन्टरमा ग्राहकको भीडले झनै सास्ती हुने गरेको स्थानीय बताउँछन। ‘अघिल्लो साता महसुल बुझाउन विद्युत् काउण्टर पुग्दा लामो समय लाइनमा बस्नु पर्याे,’ दशरथचन्द नगरपालिका–४ का कमलापति भट्टले भने, ‘महसुल बुझाउन आएका ति ग्राहक टाढाबाट आएर लाइनमा सास्ती खेपेर विद्युत् महसुल बुझाउन परेको गुनासो गर्दै थिए।’ अन्य  कार्यालयको कामले सदरमुकाम जाने आफन्तलाई महसुल बुझाउन पैसा दिँदा लाइनमा पालो कुर्नुपर्ने र समय नपुग्दा महसुल नतिरेर फिर्ता आउने गरेको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका हेमराज जोशीले बताए।

विद्युत् प्राधिकरणले दशरथचन्द र पाटन नगरपालिकासहित साबिकका २० गाविसका ११ हजार ८१ घरधुरीमा विद्युत् सेवा बिस्तार गरेको छ। सदरमुकाम र पाटन वरपरका बाहेक अन्यत्रका सेवाग्राही महसुल बुझाउन सास्ती भोग्दै आएका हुन्। सदरमुकाम रहेको दशरथचन्द नगरपालिकाकै वडाका स्थानीय विद्युत् काउण्टरमा पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने गरेको छ। करिब ४६ हजार घरधुरी रहेको बैतडी जिल्लामा अझै धेरै गाविसमा बिधुत सेवा पुग्न सकेको छैन्। विद्युत् पुगेका क्षेत्रका सर्वसाधारण महसुल तिर्न टाढा जानुपर्दा आजित बनेका हुन्।

गाउँमा काउण्टर खोल्न प्राविधिक र कर्मचारीको अभावले भएको विद्युत् प्राधिकरण शाखाले जनाएको छ। महसुल बुझाउन सहज होस भनेर विद्युत् सहकारी मार्फत महसुल बुझाउने  प्रकृयामा जाने तयारी रहेको कार्यालय प्रमुख मोहनदेव जोशीले बताउ। उनले भने ‘सहकारीले ग्राहकको बिश्वास जित्न सक्नु पर्याे, अनि ग्राहकले पनि सहकारीलाई बिश्वास गर्न सके सहज हुनेछ।’

जिल्लाका धेरै स्थानमा विद्युत् बिस्तार हुन बाँकी छ। जिल्लाको मेलौली, नगरपालिका, पुर्चौडी नगरपालिका, पञ्चेश्वर, सिगास, शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार हुन सकेको छैन। अन्य स्थानीयतहका धेरै वडामा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। जिल्लामा केन्द्रिय प्रसारण लाइन जोडिएको वर्षौ बितिसक्दा पनि धेरै स्थानमा विद्युत् विस्तार हुन सकेको छैन्। 

प्रकाशित: २२ श्रावण २०७५ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App