१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पपछिको पुनर्निर्माण : उठ्दै छ सिन्धुपाल्चोक, ४४ हजार परिवार नयाँ घरमा

पुनर्निर्माणपछि रंगिन बनेको सिन्धुपाल्चोक जलवीरेस्थित कात्तिके गाउँ। ५७ घरधुरीको यो गाउँ गत वर्ष नै ठडिएको हो।  फाइल तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक– भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकका साढे ४४ हजारभन्दा बढी पीडित परिवार नयाँ घर सरेका छन्। 

भूकम्पले भत्काएका संरचनाका भग्नावशेष र खण्डहर पन्छाउँदै पुनर्निर्माण सकेर उनीहरु भूकम्पप्रतिरोधी नयाँ घर सरेका हुन्। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सर्वाधिक क्षति पु¥याउने क्रममा ९५ प्रतिशतभन्दा बढी घर क्षतिग्रस्त बनाउँदै सिन्धुपाल्चोकलाई झण्डै–झण्डै संरचनाविहिन जिल्लामा बदलेको थियो। नभत्किएका घर पनि मर्मत सम्भार नगरी बस्न योग्य थिएनन्। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) प्रमुख टंकप्रसाद गौतम तेस्रो किस्ता अनुदान लिने संख्याका आधारमा ४४ हजार ६ सय ७२ भूकम्प पीडित परिवार पुनर्निर्माण सकेर नयाँ संरचनामा सरेको बताउँछन्। उनका अनुसार योसँगै जिल्लामा पीडितका ५१ प्रतिशत आवास निर्माण सम्पन्न भएको छ। 

‘यो निकै उत्साहजनक तथ्यांक हो,’ जिल्ला आयोजना प्रमुख गौतमले नागरिकसँग भने, ‘प्राधिकरणले अनुदान किस्ता लिने समय सीमा तोकेपछि पुनर्निर्माणले ह्वात्तै गति लिँदै आएको छ।’ इकाइको तथ्यांक अनुसार अघिल्लो वर्षको कात्तिकसम्म जिल्लामा पुनर्निर्माण सम्पन्न घर संख्या दुई प्रतिशत मात्र थियो। त्यसपछि प्राधिकरणले दोस्रो र तेस्रो किस्ता लिने समय सीमा तोक्दै आएको छ। 

प्राधिकरणले दोस्रो किस्ता लिने अघिल्लो गत पुससम्मको समय सीमा पटक–पटक बढाउँदै गत असार पु¥याएको थियो। उक्त समय सीमा नबढाइए पनि दोस्रो किस्ता वितरण रोकिएको छैन्। तेस्रो किस्ता लिने समय सीमा आउँदो पुससम्मको छ। ‘त्यति बेलासम्म जिल्लाको पुनर्निर्माण अन्तिम चरणमा पुग्ने देखिन्छ,’ सहरी विकास तथा भवन निर्माण डिभिजन प्रमुख रहेका गौतमले दाबी गरे। 

इकाइका अनुसार ३१ हजार ५६ घर निर्माणाधीन अवस्थामा छन्। दोस्रो किस्ता अनुदान निकासा भइसकेका यी घर पुनर्निर्माणको अन्तिम चरणमा पुगेका छन्। योसमेत ७५ हजार ७ सय २८ पीडित परिवार पुनर्निर्माणमा प्रत्यक्ष जुटिरहेको तथ्यांकले देखाएको छ। भूकम्पपछिको पहिलो चरणको सर्वे, गुनासो र पछिल्लो पटक गत वर्ष गरिएको छुट र पुनः सर्वेसमेतबाट सिन्धुपाल्चोकमा पीडित लाभग्राहीको संख्या बढेर ८६ हजार ९ सय ७१ पुगेको छ। 

छुट र पुनः सर्वेबाट गत महिना मात्र ३ हजार लाभग्राही थपिएका हुन्। थपिएका लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ। थपिएका पीडितलाई पहिलो किस्ता अनुदान वितरण थालिएको इकाइका जिल्ला व्यवस्थापन प्रमुख माधवजंग कार्कीले बताए। 

पहिलो चरण र थपिएका लाभग्राहीसमेत अब करिब ९ हजार पीडित परिवारले मात्र पुनर्निर्माण थाल्न बाँकी रहेको तथ्यांकले देखाएको छ। पहिलो चरणका करिव १ हजार ५ सय पीडितले अनुदान नै सम्झौता गर्न सकेका छैनन् भने अनुदान सम्झौता गरेका त्यति नै संख्याका पीडितले मात्र पुनर्निर्माण सुरु गरेका छैनन्। विदेशमा रहेका, विस्थापित भएका, भूकम्पले जमिन चर्काएका कारण जग हाल्ने जग्गा नभएका, सुकुम्वासी र प्राविधिक त्रुटीको उल्झन खेपिरहेकाहरुले पुनर्निर्माण थाल्न नसकेको प्राधिकरणका प्राविधिकहरु बताउँछन्।

भूकम्पको एक वर्षपछि सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकबाटै पुनर्निर्माण अभियान थालिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चौताराका पीडित सर्वे तामाङको घरको जग शिलान्यास गर्दै २०७३ वैशाख १२ गते अभियान थालनीको घोषणा गरेका थिए। इकाइ प्रमुख गौतम अभियान थालनीको दुई वर्षमा पीडितका आवास निर्माण भएको प्रगतिलाई उत्साहजनक मान्छन्।

खेतीपाती लगाउने मुख्य सिजनमा समेत जिल्लाको पुनर्निर्माण रोकिएको छैन्। अनुदान किस्ता समयमै निकासा नहुने, पटक–पटक रोकिने, निर्माण सामग्री, कामदार अभाव, बर्खामा ग्रामीण सडक हिलाम्मे बन्दा निर्माण सामाग्री ढुवानीमा समस्या लगायत उल्झनका बीच पीडितले पुनर्निर्माण जारी राखेका छन्। पूर्वतातोपानीदेखि पश्चिम हेलम्बुसम्मै पुनर्निर्माणले गति लिइरहेको छ। 

त्रिपुरासुन्दरी गाउँपालिका–३ (तत्कालीन धुस्कुन गाविस) जिल्लामा पुनर्निर्माण सक्ने पहिलो वडा बनेको छ। गाउँपालिकाले गत साता धुस्कुनलाई पुनर्निर्माण सम्पन्न पहिलो वडा (गाउँ) घोषणा गरेको थियो। यस वडामा ९ सय पीडित लाभग्राही संख्या रहेकोमा सबैले पुनर्निर्माण सकेको गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए। ‘गाउँपालिकामार्फत लाभग्राहीले पुनर्निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरिरहेका छौँ,’ उनले भने। 

पुनर्निर्माणले गति लिएसँगै गाउँ–बस्ती क्रमशः ठडिरहेका छन्। खण्डहर र भग्नावशेषमा सुतेका गाउँ–बस्ती रंगिन बनेर उठिरहेका छन्। आरसीसी (पिलर) र ‘लोडबियरिङ’ संरचनाका भूकम्पप्रतिरोधी घरहरु रातो, निलो, हरियो जस्तापाताका छाना र त्यसै अनुसारको साजसज्जाले चिटिक्क र आकर्षक देखिन्छन्। ‘यही गतिले निरन्तरता पाए आगामी एक वर्षभित्र सिन्धुपाल्चोकमा पीडितका आवास पुनर्निर्माण सम्पन्न हुने विश्वास लिएका छौँ,’ जिल्ला आयोजना (भवन) प्रमुख गौतमले भने। 

प्रकाशित: २१ श्रावण २०७५ १५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App