१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सिक्किमबाट ‘लोक अभिव्यक्ति कोष’

काठमाडौं– सिक्किमका नेपाली मूलका लेखक के एनशर्माको नेपाली भाषामा लेखिएको पुस्तक ‘लोकअभिव्यक्ति कोष’ सार्वजनिक भएको छ ।राजधानीमा गत बिहीबार आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष लवदेब अवस्थी र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सार्वजनिक गरे । शर्मा सिक्किम सरकारका पूर्व सचिव तथा जनसेवा अधिकृत पनि हुन्।

कुलपति उप्रेतीले भारत र नेपालको भाषा साहित्यमा पुलको काम गरिरहेको सिक्किमेली लेखकको योगदान अतुलनिय रहेको बताए । उनले भारतीय प्रकाशनका जति पुस्तक नेपाल भित्रिएपनि नेपाली पुस्तक भारत पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे । उप्रेती छिट्टै नै वाणिज्य सन्धी गरेर नेपाली लेखन भारतका स्रष्टामाझ पुर्याउन पहल गर्नुपर्नेमा जोड दिए।

भाषा आयोगका अध्यक्ष अवस्थीले शर्माको पुस्तक सिक्किम र नेपालको मिलनबिन्दुका रुपमा रहेको दाबी गरे । उनले भाषाको राजनीतिक परिधि नहुने जनाउँदै सिक्किमले नेपाली भाषाको जगेर्नामा दियो बोलेको बताए । सिक्किम साहित्य परिषदका अध्यक्ष रुद्र पौडेलले सानो राज्य सिक्किममा नेपाली भाषी कम रहेपनि साहित्य लेखनीबाट भाषा संरक्षण प्रयास गरिरहेको औंल्याए । ‘तर कम जनसंख्या र नेपाली भाषाको गौण प्रयोगले संकटमा पर्दै गएको छ,’ उनले भने, ‘सरकार बनाउनेले भोट माग्ने बेला बढी प्रयोग गरेपनि कामकाजको भाषा अझै बनिसकेको छैन ।’ लेखक शर्माले भारत सरकारको जागिरे भएर रहँदा अनेक थरी काम गरेपनि नेपाली भाषासँग आफ्नो मनमुटुको सम्बन्ध रहेको बताए ।

पुस्तकमा आफुले विभिन्न देशबाट नेपाली भाषामा भित्रिएका आगन्तुक शब्ददेखि स्थानिय तहमै मौलाएका शब्द, उखान एवं लोकोक्तिहरु समावेश गरिएको उल्लेख गरे । ‘बुर्का शब्दबाट बनेको बर्को शब्द पाकिस्तानबाट, पञ्जावको गलबाट गलबन्दी आएजस्तै तुजुक शब्द ताजकीस्तानबाट आएको रहेछ,’ उनले खुलाए, ‘अझ सम्पर्क भाषा र पर्सियन भाषाको अनेकौं सम्बन्ध नेपाली लोकोक्तिमा रहेकै पाइन्छ ।’भाषा शास्त्री माधवप्रसाद पोखरेलले उनको पुस्तकमा लेखकले मन परेका शब्द बढी रहेको टिप्पणी गरे । ‘यसले प्रयोगकर्ताका लागि अलिक गाह्राे पो पर्ला कि,’ उनले आशंका जनाए, ‘तर संस्कृतिमा व्यापक परिवर्तन भैरहेका बेला यसै पुस्तक हेरेर नयाँ पुस्ताले् पुराना कुरा जानकारी राख्न भने सक्छ ।’ अर्का भाषाशास्त्री चुडामणी बन्धुले पुस्तक लोकजीवनमा रहेका विभिन्न अभिव्यक्तिको समष्टी रहेको सुझाए ।

उनकाअनुसार स्थानिय भाषिका, शब्द, थेगो, संयोजन, नाम, उपनाम, अनुकृति, गोठाले कविता लगायत लोकोक्तिका विविध आयाम पुस्तकमा पाइन्छ ।भाषाविद तुलसीप्रसाद भट्टराईले नेपाली भाषाको चिनारी गराउनमा विदेशीहरुकै बढी योगदान रहेको औंल्याए । विभिन्न भाषाकर्मीदेखि टर्नरसम्मका विदेशीले नेपाली भाषाको उत्पत्ति र संकलनमा डेढसय वर्ष खर्चेको इतिहास सम्झिए । शर्माले आफ्नो जीवनको २० वर्ष खर्चेर यो लोक अभिव्यक्ति पुस्तक निकाल्नु अर्को कालखण्डको एउटा पाटो रहेको दाबी उनले गरे ।

प्रकाशित: २१ श्रावण २०७५ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App