१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भूमिगत प्रसारणको काम ४८ प्रतिशत सकियो

काठमाडौं– नेपालमै पहिलोपटक बनिरहेको भूमिगत विद्युत् प्रसारणलाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं दुई सय २० केभी डबल सर्किट प्रसारणलाइनको मातातीर्थमा एक हजार तीन सय नौ मिटर भूमिगत लाइन बनाउनुपर्छ । त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्नेगरी संरचना बनिरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाइनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीयको अवरोध हटाएर सुरक्षाको प्रत्याभूति दिइए र वन क्षेत्रको समस्या तत्काल समाधान भए दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । निर्माणका लागि अहिले दुई सय ७० श्रमिक परिचालित छन्।

रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए । ‘स्थानीयलाई मिलाउँछौं । गृहमन्त्रीसँग कुरा भइसकेको छ, कार्यस्थलमा सुरक्षा दिएर रुख कटानमा रहेको समस्या समाधान गर्छाैं,’ मन्त्री पुनले भने, ‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नुपर्छ ।’मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६ सय ८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारण लाइनको रुट केही परिवर्तन हुँदा काट्नुपर्ने रुखको संख्या घटेर तीन सय ३६ वटा पुगेको छ । रुख कटान स्वीकृतिका लागि फाइल वन विभाग पुगेको छ । रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुन पेस गर्नुपरेको आयोजनाले जनाएको छ । काट्नुपर्ने रुखमा टाँचा लगाइसकिएको छ।

भूमिगतलाइनका लागि सडक खनिएकाले बर्खाको बेला हिलो भएकाले स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंगागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोहीअनुसार गर्न निर्देशन दिएका छन् । प्रसारणलाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली एको विद्युत् काठमाडौं ल्याउन निर्माण गरिएको हो । माथिल्लो त्रिशूली एको निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

त्यसले पनि प्रसारणलाइन सोही अवधिभित्र बनाइसक्नुपर्ने दबाव छ । ४५ किलोमिटर प्रसारणलाइनको एक सय ४० वटा टावरमध्ये एक सय २७ को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए ।यो प्रसारणलाइन आगामी दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रसारणलाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र  चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो ।

 

प्रकाशित: २१ श्रावण २०७५ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App