१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

'बजेट घट्दा क्रमागत योजना सञ्चालनमा समस्या हुने देखिन्छ'

श्रीकुमार श्रेष्ठ, वडाध्यक्ष, गोकर्णेश्वर नगरपालिका–४

 तपाई जनप्रतिनिधी भएर आएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नुभयो ?
जनप्रतिनिधी भएर  आइसकेपछि अरु भन्दा वडामा भौतिक पूर्वाधार निर्माणमा नै जोड दिएका छौं । भौतिक निर्माणका थुप्रै कामले गति लिएका छन्  । 

३५ लाखको लागतमा पारीगाउँमा करिव पाँच सय मिटर सडक ढलान गयौं । ऐतिहासिक देशेबाट पालिङचोक रिङरोडतर्फको साढे दुई सय मिटर सडक पनि ढलान गरेर सकिसक्यौं । किसीगाउँचोकदेखि कोलमति जाने डेढ किलोमिटर सडक कालोपत्रे गरेर तयार भइसक्यो ।

त्यसको साथसाथै अन्य  ढल निर्माण अन्य कामलाई प्रथामिकतामा राखेर अगाडी बढायौं । जोरपाटीदेखि सुन्दरीजलसम्मको सडकमा गत आवमा २ लाख ७३ हजार रुपैयाँ खर्चिएर सडकमा ग्राभेलिङ ग¥यौं ।महिलाहरुलाई क्षमताअभिवृद्धि तथा ज्येष्ठनागरिकलाई सजिलो हुने गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइराखेका छौं ।  वडाको योजनाहरु उपभोक्ता समितिले गरेको सबै योजना सम्पन्न भएको तर टेन्डर भएको एउटा काम अझै बाकी रहेको र गोकर्ण हनुमान चोकबाट सुन्ताखान जाने बाटो र चौतारा बाट माइती नेपाल हुँदै पाखाथोक जानेबाटो डोलिडार र सडकबाट टेन्डर भइ काम भैरहेको छ ।

तपाईको वडामा  धमिलो र हिलाम्मे खानेपानी आउँछ, कसरी व्यवस्थापन गर्दै आउनुभएको छ ?
वर्षात्को समयमा सुन्दरीजलको रिर्जभायरबाट धमिलो तथा हिलाम्मे खानेपानी आइरहेको जनगुनासो आएको छ । सुन्दरीजल क्षेत्रमा मेलम्ची खानेपानीको काम भइराखकेकाले पनि सडक छेउछाउको भेल  रिर्जभायरमा मिसिँदा खानेपानी धमिलो भएको हो ।

वडा कार्यालयले हिलाम्मे तथा धमिलो खानेपानी आएको विषयमा उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई बारम्बार अनुरोध गरिसक्यौं ।तर, उनीहरुले वेवास्ता गर्दा उपभोक्ताले धमिलो पानी नै पिउनुपर्ने बाध्यता रहेको छ । सुन्दरीजलको रिर्जभायरमा रहेको पुरानो फिल्टरले काम नगर्नु र पानी नथिग्राएकै कारणले धमिलो तथा हिलाम्मे आएको हो ।त्यसैले एकदिन पानी थिग्राएर मात्रै पठाउनको लागि अनुरोध गरेका छौं ।धमिलो पानीमा कोलिफर्मको मात्रा अत्याधिक हुने गर्छ । त्यसैले झाडापखला तथा आउँ लगायतका रोगको संक्रमण बढ्ने जोखिम देखिएको छ । त्यसैले केयुकेएलले समयमा नै खानेपानी व्यवस्थित गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको छ।

जोरपाटीदेखि सुन्दरीजलसम्मको सडक दयनीय अवस्थाबाट गुज्रिएको छ,कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
जोरपाटीदेखि सुन्दरजलसम्मको सडक खानेपानी चुवाहटकै कारणले दयनीय भएको छ । पानी चुवाहटकै कारणले सडकमा खाल्डाखुल्डी पर्ने समस्या देखिएको छ । वडा कार्यालयले केयुकेएललाई खानेपानी चुवाहट नियन्त्रणको लागि बारम्बार तोकता गरिसक्यौं ।तर, उनीहरुले वेवास्ता गर्दा समस्या देखिएको छ ।त्यसको साथसाथै सडक जीर्ण भएर खाल्डाखुल्डी हुने अर्काे समस्या रहेको छ ।

जसको कारणले सर्वसाधारण आउजाउ गर्न समेत सास्ती भइराखेको छ । लामो समयदेखि मर्मतसम्भार नहुँदा उक्त सयडक अस्तव्यस्त भएको हो । जसको कारणले सर्वसाधारण  आवातजावत गर्न निकै मुस्किल भइराखेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकको ठेक्का गरेको वर्षाै भइसक्यो ।तर,अहिलेसम्म सडक बन्न सकेको छैन । ठेकेदारले सडकको साइट क्लिियर नभएको भन्दै काम ठप्प पारेका छन् । सडक विभाग र मेलम्ची खानेपानी आयोजनाले एकआपसमा दोषारोपण गर्दे आइराखेका छन् ।त्यसको मारमा स्थानीय जनता परिरहेका छन् ।

जोरपाटीदेखि भगवतिस्थान सम्मको सडक बेहाल अवस्थाबाट गुज्रिरहेको छ ।  गोकर्णेश्वर महादेव मन्दिरमा हरेक वर्ष कुशेऔंशीमा विशेष मेला लाग्ने गर्छ ।तर, सडकको दुरावस्थाको कारणले समस्या भइराखेको छ ।त्यसैले कुशेऔंशी अगावै सडक मर्मतसम्भार गर्नुपर्ने अवस्था रहेको छ  । वडामा करिव १५ किलोमिटरभन्दा धेरै कच्ची सडक रहेका छन् । ति सडकलाई पाँचवर्षभित्रै कालोपत्रे गर्ने योजना अघि सारेको छु ।त्यसमा संघीय सरकार तथा प्रदेशसरकारबाट सहयोग मिलेमा मात्रै उक्त कामले सार्थकता पाउनेछ।

तपाईको वडामा पर्ने सहिद पार्क अलपत्र परेको छ, के गरिरहनुभएको छ ?
गोकर्णेश्वरको सहिद स्मारक पार्क लामो समयदेखि अलपत्र अवस्थामा गुज्रिरहेको छ । पार्क निर्माण गर्ने ठेकेदारकको ढिलासुस्ती र आलटालकै कारणले निर्माण कार्य अघि बढ्न नसकेको हो ।

पार्क निर्माण कार्य वडा कार्यालय मातहत पर्दैन ।त्यसैले पनि हामीले निर्माणको खबरदारी बाहेक अन्य गर्नसक्दैन ।  संघीय सरकार मातहत नै सहिदपार्कको निर्माण भएको हो ।त्यसैले पनि स्थानीय तहले हस्तक्षेप गरेर काम अगाडी बढाउन नसकिएको हो । सहिद पार्क  छ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । वडा कार्यालयले सवै निकायसँग समन्वय गरेर तत्कालै निर्माण सम्पन्न गर्न अनुरोध गरिरहेका छौं । सहिद स्मारक पार्कमा विभिन्न कालखण्डमा ज्यान गुमाएका सहिदहरुको स्तम्भ राख्ने काम भइरहेको छ।

तपाईको वडामा फोहोर प्रसोधन केन्द्र थियो, अहिले कसरी सञ्चालन भइराखेको छ ?
 अहिले फोहोरमैला प्रसोधन केन्द्र नाम मात्रैको रहेको छ  । लामो समयदेखि फोहोरमैला प्रसोधन केन्द्र ठप्प भएको छ । जसको कारणले फोहोरमैला प्रसोधन गर्न पाइएको छैन । अर्काेतर्फ फोहोरमैला थुप्रिने डम्पिङसाइट जस्तै बनेको छ । जसबाट निस्कने फोहोरमैलाको लिचड बागमति नदीमा गएर नदी नै प्रदुषित भइरहेको छ ।

उक्त प्रसोधन केन्द्रको मर्मतसम्भार र  सञ्चालन गर्ने  निकाय अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति हो ।तर, समिति नै  फोहोरमैला व्यवस्थापनमा गैरजिम्मेवारी बन्दा प्रसोधन केन्द्र अलपत्र भएको हो । उक्त केन्द्रमा नरकटर जातको  विरुवाको जारबाट फोहोरमैला प्रसोधन गरिन्थ्यो । अहिले त्यो नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या आइराखेको छ । समितिलाई फेरि सञ्चालनको लागि  समितिलाई बारम्बार अनुरोध गरेका छौं । समितिले उक्त स्थानसँगै रहेको थप २५ रोपनी जग्गा थपेर व्यवस्थिति रुपमा फोहोरमैला प्रसोधन केन्द्र सञ्चालन गर्ने भन्ने कुरा  सुनेको छु । खोई कहिलेदेखि कार्यान्वयनमा ल्याउँछन्।

तपाईको वडामा सार्वजनिक जग्गा नै हडपेर वस्ती बसेको छ, कहिले हटाउनुहुन्छ ?
पञ्चातकालिन समयमा  गोकर्णेश्वर मन्दिरको अगाडीतर्फको उकालोमा सार्वजनिक जग्गा अतिक्रमण गरेर १४ वटा घर टहरा  बनाएर बसेका छन् । त्यति मात्रै  होइनन्, अन्य स्थानमा करिव १० रोपनीभन्दा धेरै सार्वजनिक जग्गा मिचिएको छ । नगरकार्यापालिकाको पहिलो बैंठकले सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरेको थियो ।तर, अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैन ।

सदियौंदेखि सार्वजनिक जग्गामा बसोबास गर्दै आइरहेका सर्वसाधारलणलाई हटाउन धेरै मुस्किल हुने रैछ । सरकारले तिनीहरुलाई उचित विकल्प खोजिएको अवस्थामा हटाउन सहज हुन्थ्यो । जनप्रतिनिधी भएर आएपछि सार्वजनिक जग्गा अतिक्रमणमा परेको छैन ।तर,यस अघि अतिक्रमणमा परेको संगुरखोल्सासँगै रहेको २४ आना जग्गा फिर्ता ल्याउने प्रयास गरेको थिए ।तर, जनताको सहयोग पाइन् ।

 नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत चालु आर्थिक वर्षमा वडा कार्यालयका लागि चार करोड रुपैयाँ बिनियोजन भएको थियो । बिनियोजित बजेट मध्ये ६५ प्रतिशत भौतिक पूर्वाधार अन्तर्गत सडक निर्माणमा खर्चियौ । त्यस्तै गरी महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि विशेष प्राथमिकतामा राखेर खर्च गर्यौं ।

आगामी वर्षको लागि दुई करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । त्यस्तै गरी नगरस्तरीय योजनामार्फत ५० लाख रुपैयाँ थप हुने कुरा भइराखेको छ । गत आवको तुलानामा यस आवमा बजेट घटेको छ । बजेट घटेसँगै विकास पूर्वाधार निर्माण कार्यले गति लिनेमा समस्या देखिनेछ । गतवर्ष अघि सारेका क्रमागंत योजनालाई बजेट घटेसँगै समस्या हुने देखिएको छ । जनताको चाहाना र आकांक्षा बर्षेनी चुलिदैं गइरहेको छ । तर, गत आवको तुलनामा अहिले धेरै बजेट घटेकाले जनताले अपेक्षा गरेअनुसारको काम गर्न समस्था देखिने सम्भावना बढेको छ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
पाँच वर्षभित्र वडा नं ४ लाई गोकर्णेश्वरकै उत्कृष्ट  वडा बनाउने सोच लिएर अघि बढेको छु ।तर, जनताको भरपुर साथ नहुँदा काम गर्न अप्ठेरो भइरहेको छ ।

तैपनि जनतालाई साथमा नै लिएर अघि बढ्ने संकल्प गरेको छु । वडा कार्यालय नजिकै रहेको खुल्ला क्षेत्रलाई पार्क बनाउने योजना बनाएको छु ।त्यसको लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छु । संघीय र प्रदेश सरकारले  भनेअनुसारको बजेट उपलब्ध गराएमा पाँचवर्षभित्रै वडाका सम्पूर्ण सडक कालोपत्रे गर्ने योजना बनाएको छु । वडालाई सफा सुग्घर र हराभरा बनाउने लक्ष्य छ ।  प्रस्तुति हिमाल लम्साल  

 

प्रकाशित: २१ श्रावण २०७५ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App