१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

काठमाडौं– नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ। त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्नेछ। त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो। भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ। 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकार्य निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाइनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्। 

ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाइएको छ। निर्माणका लागि अहिले २ सय ७० श्रमिक परिचालित छन्। 

रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्ति बहादुर वस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए। 

‘स्थानीयलाई मिलाउँछौं, गृह मन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौ, रुख कटानमा रहेको समस्या समाधान गछौं’, मन्त्री पुनले भने, ‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नु पर्छ।’ 

मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत पर्ने ६ सय ८२ वटा रुख काट्न स्वीकृति दिएको थियो। तर, अहिले प्रसारण लाइनको रुट केही परिवर्तन हुँदा काट्नुपर्ने रुखको संख्या घटेर ३ सय ३६ वटा पुगेको छ। रुख कटानका स्वीकृतिका लागि फाइन वन विभागका पुगेगको छ। रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुन पेश गर्नु परेको आयोजनाले जनाएको छ। काट्नु पर्ने रुखमा टाँचा लगाइसकिएको छ। 

भूमिगत लाइनका लागि सडक खनिएकाले वर्खाको बेला हिलो भएकाले स्थानीयले काममा अवरोध गर्दै आएका छन्। मन्त्री पुनले हिलो बाटोमा ढुंगागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन्। 

प्रसारण लाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली एको विद्युत काठमाडौं ल्याउन निर्माण गरिएको हो। माथिल्लो त्रिशूली एको निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ। त्यसले पनि प्रसारण लाइन सोही अवधिभित्र बनासक्नु दबाब छ। ४५ किलोमिटर प्रसारण लाइनको १ सय ४० वटा टावरमध्ये १ सय २७ को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए। 

यो प्रसारण लाइन आगामी दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ। प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र  चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा बनिरहेको छ। 

प्रकाशित: २० श्रावण २०७५ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App