१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

धुलिखेलका जग बेलप्रसाद

तस्बिर : कृष्पा श्रेष्ठ

बेलप्रसाद श्रेष्ठ काठमाडौं उपत्यकाको पूर्वी नाका धुलिखेललाई रूपान्तरण गर्ने अभियानकर्ताको रूपमा चिनिन्छन् । पर्यटन व्यवसाय तथा राजनीतिक, सामाजिक सेवामा ६ दशक लामो समय बिताएका बेलप्रसाद हालै ७९ वर्षमा प्रवेश गरेका छन् । उनले ३६ वर्षअघि स्थापना गरेको होराइजन रिसोर्ट होटलको प्राङ्गणमा उनी टहलिइरहन्छन्, आफ्नै सालिकको सामुन्ने । सामान्यतया जिउँदो मानिसको सालिक राखिँदैन । तर, बेलप्रसाद भने त्यो मान्यताका विरोधी छन् । उनी आफैँले आफ्नै सालिक खडा गरेका भने होइनन् । नेवारी समुदायमा ७७ वर्षको उमेरमा जंकु गरिन्छ । जंकुको सामाजिक अर्थ कुनै काम, व्यवसायमा नलाग्ने भन्ने हो । बेलप्रसादको शब्दमा निष्क्रिय बस्ने सामाजिक आदेश जंकु उनले स्विकारेनन् । ‘बुढेसकालमा त्यसै पनि मानिस निष्क्रिय हुँदै जान्छन्, त्यसमाथि जंकु गरेर केही नगर्ने गरी खुम्च्याउने चलन मलाई मन परेन,’ शिवभक्त बेलप्रसाद भन्छन्, ‘म कतिपय परम्परा मान्दछु, भगवानमा विश्वास छ, तर कतिपय परम्परा मान्दिन, सबै परम्परा मान्दै गयो भने मानिस अगाडि बढ्न सक्तैन, सबै परम्परा मान्न हुँदैन ।’ 

जंकु गर्न नमानेपछि बेलप्रसादले गरेका कामहरूको मूल्याङ्कन गर्दै आएका विभिन्न संघसंस्थाहरूले ७७ वर्षको झझल्को दिनेगरी सालिक स्थापना गरेका हुन् । शब्दयात्रा प्रकाशन, बनेपाले सालिक निर्माण गरेको हो । सालिकको स्तम्भमा बेलप्रसादलाई धुलिखेलका दूरदर्शी  नेतृत्वकर्ता समाजसेवी भनिएको छ ।

घुलिखेललाई खाने पानी दिलाउने, काठमाडौं विश्व विद्यालय स्थापना गर्न योगदान गर्ने, धुलिखेल सामुदायिक अस्पतालको जगमा बेलप्रसादको योगदान भेटिन्छ ।  पञ्चायतकालमा ‘गोरखा दक्षिण बाहु’बाट सम्मानित बेलप्रसादलाई हालै धुलिखेल नगरपालिकाले धुलिखेल रत्न भन्दै सम्मान गरेको छ । नगरपालिका स्थापनाको ३२ औं स्थापना दिवसको साइत पारेर त्यसबेलाको धुलिखेल गाउँलाई नगरमा उकास्ने र नगरको निर्वाचित नेतृत्व लिने बेलप्रसाद थिए । 

पर्यटन, शिक्षा र स्वास्थ्यका क्षेत्रको विकासमा बेलप्रसादले पु-याएको योगदान अहिले उनकै आँखाअगाडि फुलेको छ । धुलिखेल लज रिसोर्टबाट पर्यटनमा पाइला टेकेको धुलिखेलमा अहिले ८० भन्दा बढी स्तरीय लज, होटल खुलेका छन् ।  काठमाडाैं विश्व विद्यालय बर्सेनि स्तरीय जनशक्ति उत्पादनमा लागि परेको छ । धुलिखेल सामुदायिक अस्पताल समुदायबाट चलेको अस्पताल हो, समुदायले ठूलो अस्पताल चलाउन सकिन्छ भन्ने नमुना बनेको छ यो अस्पताल । 

बेलप्रसाद जन्मिएको समयमा नेपालमा राणा शासन थियो । उनी पठनपाठन गर्ने बेलामा भर्र्खर प्रजातन्त्र आगमन भएको थियो र धमाधम स्कुलहरू खुल्न थालेका थिए । ‘ठूला बडा स्कुल आउँछ रे भन्दथे, कस्तो हुन्छ स्कुल, कसरी आउँछ ? हिँडेर आउँछ कि कुदेर  भन्ने कौतुहल हुन्थ्यो,’ बेलप्रसाद विगत सम्झँदै भन्छन्, ‘हामी बालक हुँदाको समय बेग्लै थियो, स्कुल खोल्ने, पढ्ने, पढाउने माहोल थियो । एक खालको उत्साहजनक वातावरण थियो ।’

स्कुलका शिक्षकहरू घरघरमा आएर छोराछोरीलाई पढ्नका लागि स्कुल पठाउनुहोस् भन्दथे, त्यही क्रममा बेलप्रसाद पनि स्कुल भर्ना भएका हुन् । ‘स्कुल भनेर भौतिक रूपमा केही थिएन, भगवती मन्दिरको आँगनमा बोरा ओछ्याएर पढ्दथ्यौँ,’ बेलप्रसाद भन्छन्,  ‘दार्जिलिङबाट आउनु भएका प्रेमबहादुर राजवंशी सरको ठूलो योगदान छ, धुलिखेलमा शिक्षाको जग बसाल्न ।’ 

बाल्यकालमा आफूमा धुलिखेलमा केही गर्न पाए हुन्थ्यो भन्ने भावना जागृत हुने गरेको उनी बताउँछन् । ‘धुलिखेलको भगवती, हरिसिद्धि, नारायण मन्दिरहरूको कला र बजारका आकर्षक घरहरूका कारण केही गर्नुपर्दछ भन्ने उत्सकता थियो’, बेलप्रसाद भन्छन्, ‘समाज सेवामै लामो समय बिताउन पाएकोमा खुसी छु।’ 

किशोरावस्थामा आइपुग्दा उनमा शिक्षक पो बन्ने हो कि भन्ने भावना पलाएको थियो । शिक्षक प्रेमबहादुरको व्यक्तित्व र उनको गोलो पकेट घडी स्कुले बालकहरूका लागि आकर्षणका बस्तु थिए । बाल उत्सुकताबीच उनले धुलिखेलको संजिवनी विद्यालयबाट एसएलसी गरेका हुन् । त्यसपछि उनले ओभरसियर पास गरेपछि सरकारी जागिरमा लागे । त्यसबेलाको स्थानीय निकाय जिल्ला पञ्चायतमा काम गरे । जिल्ला पञ्चायतमा काम गरिरहेका बेला बेलप्रसादको दुईजना जोगीहरूसँग भेट भयो । सामान्य कुराकानीकै क्रममा एकजना जोगीले तिमी ३ महिनापछि मुलुकबाहिर जान्छौ, तिमी उड्छौं भनेका थिए । हुन पनि त्यस्तै भयो, तीन महिना नपुग्दै नेपालमा काम गर्न आउने अमेरिकी प्रोजेक्ट पिसकोरका स्वयंसेवकलाई अमेरिकामै गएर पढाउनुपर्ने अवसर पाए उनले । ‘पढाउन सक्ने राम्रा मान्छेको सूचीमा मेरो नाम पनि रहेछ, म छक्क परें, कसरी मेरो नाम आयो,’ बेलप्रसाद भन्छन्, ‘सिंहदरबारमा बोलाइयो, एक हप्तापछि अमेरिका जानुपर्ने भयो ।’ 

बेलप्रसाद जिल्ला पञ्चायतमा बिदा लिएर एक वर्षका लागि अमेरिकाको क्यालिफोर्निया प्रस्थान गरे । नेपालमा पिसकोरको स्वयंसेवक भएर आउने डाक्टर, इन्जिनियर, कृषि विज्ञ जस्ता प्राविधिकहरूलाई नेपाली सिकाउनुपर्ने काम थियो उनको । काम त्यत्ति सजिलो भने थिएन । अंग्रेजलाई नेपाली सिकाउनुपर्ने तर अंग्रेजी बोल्न नपाउने कडा नियम थियो । बेलप्रसाद सम्झन्छन्, ‘नक्सा, हाउभाउ, संकेत, चिजबिज देखाएर सिकाउनुपर्ने चुनौतीपूर्ण काम थियो ।’ नेपाली सिकाउन गएका उनी त्यस काममा पोख्त बनेको  र टेलिभिजनहरूमा समाचारको पात्र बनेको स्मरण सुनाउँछन् । 

अमेरिकाको एक वर्षे बसाइले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । त्यहाँका सडक, भौतिक जीवन, मानिसको सोचाइ, काम गर्ने शैली, खानपिनबाट आफू प्रभावित भएको उनी बताउँछन् । अमेरिकनहरूको काम गर्ने अवसर दिने कुराबाट प्रभावित भएको  बताउँछन् उनी । ‘हामी र उनीहरूमा काम गर्ने शैली फरक छ, उनीहरू घण्टा, हप्ताका योजना बनाएर त्यहीअनुसार काम गर्दछन्,’ बेलप्रसाद भन्छन्, ‘हामी लामो– लामो योजना बनाउँछौँ, कहिल्यै सम्पन्न गर्देनौँ । बेलप्रसादको अनुभवमा केटाकेटीले कुनै काम गर्न सकेनन् भने हामी छोड भो गर्नु पर्दैन भन्छौँ, अमेरिकनहरू ‘ट्राइ इट अगेन’ भन्छन् ।’ 

एक वर्ष बिताएपछि उनलाई उतै बस्ने, काम गर्ने सुझावहरू आएका थिए । उनी आफैँ दोमनमा थिए । के गर्ने, कसो गर्ने । यता, नेपालमा त्यसबेला हिप्पीहरूको जगजगी थियो । काठमाडाैं आएका हिप्पीहरू धुलिखेलतिर पनि जान्थे । हिप्पीहरूको जगजगी भएको समयमा बेलप्रसादका बाबु मोहनप्रसाद भने बारम्बार पत्र पठाउँथे, चाँडो घर फर्कन भन्दै । ‘चिठी आउन–जान एक महिना लाग्थ्यो, बुबालाई उनका दौतरीले छोरो फर्कँदैन भनिदिन्थे, उहाँ चिठी पठाइहाल्नुहुन्थ्यो ।’ नेपालमा अमेरिकन लगायत गोरा भनेका गाँजा चरेस खाने केटीहरू पनि न्यूड जस्तै हिँड्छन् भन्ने मान्यता थियो र त्यस्तो देशमा हाम्रा छोराहरू बिग्रन्छन् भन्ने चिन्ता थियो । 

बुबाको चिठी र नेपाल आएर केही गर्ने अठोट लिएर बेलप्रसाद नेपाल फर्र्र्किए । तर उनी  जिल्ला पञ्चायतको जागिरमा गएनन् । नेपाल फर्किएपछि उनमा धुलिखेलको दशाले सतायो । धुलिखेल बाटो, चोक जताततै दिसा, पिसाब, कुखुरा, सुँगुर सबै एउटै बाटोमा हिँड्दथे । बेलप्रसाद भन्छन्, ‘सफा सुग्घर भन्ने कुरा परै थियो, बाटामा सबै फोहोर फाल्ने गर्दथे, घरहरूमा चर्पी थिएनन् ।’ अमेरिकाबाट फर्किएपछि उनमा लज खोल्ने धुन चल्यो । आफ्ना बाबु बाजेले गर्दै आएको खेती किसानी, किराना, कपडा पसलले उनलाई तानेन ।
जिल्ला पञ्चायतको जागिर छाडेर उनी आफैँले केही गर्नुपर्छ भन्नेमा लागे । ‘अमेरिकाको एक वर्षको बसाइले ममा व्यापक परिवर्तन ल्याएको हो,’ बेलप्रसाद भन्छन्, ‘म अमेरिकाबाट प्रभावित भएर आफैँ सक्रिय भएको हुँ, नयाँ क्षेत्रमा फड्को मार्न ।’ 

नेपालमा अमेरिकनहरूको आउजाउ हुने र काठमाडौं उपत्यकाबाहिर धुलिखेलसम्म पुग्ने गरेको अनुभव गरेका बेलप्रसादले धुलिखेल बजारको आफ्नै घरमा धुलिखेल लज रिसोर्ट सुरु गरेका हुन् । २०३० सालमा उनले स्थापना गरेको लज अहिले उनकै माइलाबाका छोरा प्रेमकण्ठ माकजुको व्यवस्थापनमा विस्तार भएको छ ।  ‘६ वटा प्लेट ६ वटा ग्लास, ६ वटा चम्चा, २ वटा बाल्टी र १ वटा स्टोभबाट लज सुरु गरेको हो,’ बेलप्रसाद भन्छन्, ‘लजमा सुकुल राडी पाखी ओछ्याएर सुत्ने ओछ्यान बनाइएको थियो, माग बढ्दै गएपछि कोठाहरू थपिँदै गए, ४० वर्षअघिको प्रयास अहिले धुलिखेल लज रिसोर्ट भएर प्रचारित छ ।’ 

लज बनाउन सहमति दिए पनि बाबु, बाजे बज्यै चर्पी बनाउन भने जब्बर देखिए ।‘ लक्ष्मी आउँदिनन्, देउता रिसाउँछन् भनेर चर्पी बनाउन उनलाई रोकटोक गरियो । घरभित्र चर्पी बनाउँदा अलच्छिन लाग्छ भनेर विरोध भइरहेको अवस्थामा उनले ठूलो आरोपबीच घरको नजिकै चर्पी बनाए । ‘चर्पी बनाउन ठूलै कसरत गर्नुप-यो,’ बेलप्रसाद प्रश्न गर्छन्, ‘त्यस्तो समयमा लज चलाएर विदेशीलाई खुसी पार्न कति समस्या थियो होला ?’ 

लजमा विदेशी पाहुनाको राम्रो आउजाउ हुन थालेपछि बेलप्रसादले आफन्तबाट अर्को आरोप खपे । ‘बेलप्रसादले कुहिरेको भाँडा माझ्यो, चर्पी सफा ग-यो,’ उनी सम्झन्छन्, ‘आरोपहरू छिचोल्दै म अगाडि बढेको हुँ ।’ 

३० सालमा धुलिखेल लज रिसोर्टको जग हालेर धुलिखेलमा पर्यटन व्यवसाय प्रवेश गराएका बेलप्रसादले २०३८ सालमा हिमालय होराइजन होटल स्थापना गरे । धुलिखेलमा विदेशी पाहुनाको बाक्लो उपस्थिति हुन थालेपछि  परम्परागत शैली र आधुनिकता फ्युजन गर्दै खुलेको होटल राजा वीरेन्द्र र रानी ऐश्वर्य चिया खान पुग्ने गरेको सम्झना गर्दै बेलप्रसाद भन्छन्, ‘राजा रानी र युवराजको पटक–पटक सवारी भएको छ, हिमालय होराइजनमा ।’ उनका चारभाइ छोरा किरण, राजु, अशोक र पारस अमेरिकामा आ–आफ्नो काममा छन् । छोरी श्रीमेला श्रेष्ठ र ज्वाइँ द्वारिका श्रेष्ठ बनेपाका व्यापारिक परिवार हुन् । 

बेलप्रसाद हिमालयन होटलको अध्यक्ष छन् । छोरा किरणले यसको व्यवस्थापन सम्हाल्दै छन् ।  बेलप्रसादको होटल खोल्ने सपना अझै छ । नयाँ  आधुनिक, स्विमिङ पुलसहितको तारे होटलको योजनामा छन् उनी । ‘छोराहरूले नयाँ–नयाँ योजना लिएर आएका छन्, मैले त आफूले जानेको सल्लाह दिने मात्र हो।’ 

जोगीको साथ  

लज खोलेर विदेशीको सेवामा लागेका बेलप्रसादको अर्को योजना दिमागमा आयो । छोरीहरूलाई पढाउने, स्कुल खोल्ने । त्यतिबेला छोरीहरूलाई पढाउने चलन थिएन । केटाहरूको पढाइ सकिएपछि साँझ ४ बजेपछि छात्राहरूले संजिवनी स्कुलमा पढ्ने व्यवस्थाका लागि अभियान चलाए । त्यसबेला पनि उनले प्रशंसा पाएनन् । समाजले केटीहरू बिगार्न लाग्यो बेलप्रसादले भन्ने आरोप लगायो । छात्राहरूको संख्या बढ्दै गएपछि उनीहरूका लागि बेग्लै स्कुल आवश्यक प-यो । बेलप्रसादले उपाय निकाले कालीबाबाको समर्थन लिने । हरिसिद्धि मन्दिरमा बस्ने दिनरात गाँजा, चरेसमा लठ्निे बाबालाई छात्राहरूको स्कुल खोल्न सहयोग गर्न आग्रह गरेर सालिक स्थापना गर्ने वचन दिए । कालीबाबाले बेलप्रसादलाई साथ दिए, उनले पूर्वी पहाडका खोटाङ, ओखलढुंगा, भोजपुर डुलेर त्यसबेलाको १८ सय जम्मा गरिदिए । छोरीहरू पढ्न थालेको र धुलिखेलमा धेरै विदेशीहरूको आउँजाउँ बाक्लिन थालेको थियो । त्यसैबेला एकजना हल्यान्डका नागरिकले छात्राहरूको स्कुलमा बेन्च डेक्स राख्न ५०० रुपैयाँ दिए ।  

खाने पानीले राजनीति  

हल्यान्डका नागरिकले दिएको ५ सय रुपैयाँ लिएर बेलप्रसाद आफन्त रामचन्द्र घिनान्जुको साथ भक्तपुर आए बेन्च डेस्कको अडर गर्न । त्यसबेला भक्तपुरमा जर्मन प्रोजेक्ट चलिरहेको थियो । सडक बनाउने, मठ मन्दिर पुनर्निर्माण गर्ने, चर्पी बनाउनेलगायतका काममा जर्मनहरू सक्रिय थिए । डेक्स, बेच्न अर्डर गर्न आएका बेलप्रसादलाई जर्मनहरूले भेट्न चाहे । भक्तपुर नवदुर्गा मन्दिरमा दर्शन गरेपछि उनीहरू दत्तात्रय नजिक जर्मन कार्यालयमा गएर आफ्नो परिचय दिँदै भक्तपुरमा गरेका कामका लागि बेलप्रसादले धन्यवाद दिए । सिगार तानेर बसिरहेका जर्मन अधिकारीलाई राम्रो काम गरेको भन्दै धन्यवाद दिएपछि उनले जर्मनले आफ्ना योजनाबारे विस्तृतमा जानकारी गराएको सम्झन्छन् बेलप्रसाद । ‘जर्मनहरूले भत्तपुरमा काम गर्दै आएको भए पनि कामको खातिर गर्नेमा म नै थिएँ सायद,’ बेलप्रसाद भन्छन्, ‘म नै पहिलो व्यक्ति हुनुपर्दछ कामको प्रशंसा गर्ने ।’ 

अंग्रेजीमा कुराकानी गर्न सिपालु बेलप्रसादले धुलिखेल पनि भक्तपुर जस्तै सहर भएकोले त्यहाँ आएर काम गर्न आग्रह गरे । जर्मनहरूले हुन्छ भनेपछि धुलिखेलका लागि शुभ समाचार लिँदै त्यस दिन धुलिखेल फर्किए । 

बेलप्रसादका लागि टर्निङ्ग प्वाइन्ट बन्यो बेन्च डेस्क अर्डर गर्न आएको त्यो दिन । केही दिनपछि जर्मनहरू धुलिखेल अध्ययन गर्न गए । पानीको गम्भीर संकट भोगिरहेका धुलिखेलवासीले जर्मनहरूको स्वागत सत्कार गरे, आतिथ्य प्रदान गरे । खानेपानीका लागि सहयोग गर्न तयार देखिएका जर्मनहरू धुलिखेल वरिपरि भरपर्दो स्रोत नदेखेपछि ५० हजार पैसा दिएर पन्छिन खोजेका थिए । ‘हाम्रा बुढापाकाहरूले हामीलाई पैसा होइन पानी चाहिएको छ भनेपछि जर्मनहरूले स्रोत खोज्न सुझाव दिए,’ बेलप्रसाद भन्छन्, ‘हामीले ३ वर्ष लगाएर स्रोत खोज्यौँ ।’ 

धुलिखेल भन्दा १४ किलोमिटर टाढा घुमे डाँडाको पञ्चकन्या छाँगो भरपर्दो स्रोत ठहरियो र जर्मनहरू सहयोग गर्न तयार भए । पाइप लगायतका मेसिनहरू जर्मनी हुनुपर्ने लगायतका सर्तहरू सामुन्ने आए र त्यसको स्वाभाविक जिम्मेवारी पनि बेलप्रसादको काँधमा आयो । धुलिखेलको सहभागिता सुरुदेखि नै हुनुपर्ने, खानेपानी योजनाको मेन्टेनेन्स, व्यवस्थापन, वितरण धुलिखेल आफैँले गर्नुपर्ने, खानेपानी मिटर जडान गर्नुपर्ने र प्रत्येक १० हजार लिटर पानी प्रयोग गरेबापत ३५ रुपैयाँ तिर्नुपर्ने सर्तहरू थिए । यी सर्तबाहेक ३ लाख रुपैयाँ धुलिखेलले हाल्नुपर्ने कुरा थियो । ‘२०४० सालतिरको कुरा हो, त्यसबेलाको ३ लाख भनेको अहिलेको ३ करोड जति हो,’ बेलप्रसाद भन्छन्, ‘सबै सर्तहरू मान्नुपर्ने अवस्था आयो, र म  परिस्थितिमै नेता बन्न पुँगे, सबैले सर्तसहितको सम्झौतापत्रमा हस्ताक्षर गर्न भने र म पनि हस्ताक्षर गरिदिएँ।’ 

करिब ३ करोड ७५ लाखको ठूलो योजना त्यसबेलाको धुलिखेल गाउँ  पञ्चायतले धान्न सक्ने स्थिति थिएन । त्यसबेला गाउँ पञ्चायतले वार्षिक ५० हजार र नगरपञ्चायतले २ लाख ५० हजार मात्र खर्च गर्न पाउने सीमा थियो । 

धुलिखेलले खाने पानी पाप्त गर्न उसको हैसियत नगर हुनुपर्ने भो । र, यी सबै कामका लागि स्थानीयले बेलप्रसादलाई अघि सारे, नगर पञ्चायत बनेपछि त्यसको नेतृत्व लिनुपर्ने सर्त सहित । खानेपानी योजना अघि बढाउन धुलिखेललाई नगरपञ्चायत बनाउन दरबारमा बिन्ती पत्र हालियो । जनसंख्या लगायतका पूर्वाधारमा कमजोर रहेको भए पनि दरबारले धुलिखेल नगरपञ्चायतको हैसियतमा उचाल्यो ।

नगरपञ्चायतको मेयरको चुनावमा उनी निर्वाचित भए । दोस्रोपटक पनि जनताले उनैलाई रोजे र प्रजातन्त्र स्थापनापछिको स्थानीय निर्वाचनमा पनि बेलप्रसाद नै निर्वाचित भए । ‘म धुलिखेलको मान्छे हो,’ बेलप्रसाद भन्छन्, ‘म स्वतन्त्र छु, कुनै पार्टीमा छैन, लगातार तीनपटक जनताबाट चुनिनु जनविश्वासको पात्र हो ।’ 

खानेपानी योजना प्रारम्भ हुने क्रममै बेलप्रसाद धुलिखेलको मेयर चुनिइसकेका थिए । उता  धुलिखेलमा खानेपानी योजनाबारे प्रारम्भिक अध्ययन गर्ने जर्मन नागरिक आफ्नो देशको अर्थ प्रशासनको जिम्मेवारीमा थिए । खानेपानी पाइप निरीक्षण गर्ने योजनामा जर्मनी पुगेका बेलप्रसाद तिनै जर्मन नागरिकको घरमा पाहुना बन्न पुगे । ‘पैसाको कुनै समस्या हुने देखिएन,’ बेलप्रसाद भन्छन्, ‘जर्मनबाट म अस्ट्रियामा डाक्टरी गरिरहेको भाइ डा. रामकण्ठ माकजुलाई भेट्न गएँ, भाइलाई नेपाल फर्केर काम गर्नुपर्दछ भनेँ ।’ 

डा. रामकण्ठ  माकजु श्रेष्ठको अगुवाइमा  सन् १९९६ मा धुलिखेल सामुदायिक अस्पताल स्थापना भयो । उपत्यका बाहिर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल समुदायबाट सञ्चालित हुँदै आएकोमा केही वर्षयता काठमाडौं विश्व विद्यालयको ३ सय बेडको अस्पताल बन्न पुगेको छ । डा. डा. रामकण्ठ  काठमाडौं विश्वविद्यालयका उपकुलपतिको जिम्मेवारी तथा कुशल चिकित्सकको दोहोरो भूमिकामा छन् ।

काठमाडौं विश्वविद्यालयको जग  

चालीसको दसकमा निजी क्षेत्रबाट प्राडा. सुरेशराज शर्मा, प्राडा. सीताराम अधिकारीहरूले काठमाडौं भ्याली क्याम्पस सुरु गरे । निजी स्रोतबाट आइएस्सी अध्यापन गराउने क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानको भवन भाडामा लिएर सुरु भयो । क्याम्पस सञ्चालनमा ल्याएको भए पनि भवनका लागि प्रयास जारी थियो । क्याम्पसले चाँगुनारायणमा जमिनको व्यवस्था गरी भवनको शिलान्याससमेत गरेको थियो । तर, शिलान्यास भैसकेको जमिन क्याम्पसको नाममा आउन सकेन । क्याम्पसका लागि जमिन खोज्दै क्याम्पसका जिम्मेवार भौतारिइरहेका थिए । उता धुलिखेलका मेयर बेलप्रसाद  आफ्ना मानिसलाई भ्याली क्याम्पसमा भर्ना गराउन भनसुन गर्दै त्यसबेलाका शिक्षामन्त्री केशरबहादुर विस्टकोमा पुगे ।

केशरबहादुरले जग्गा खोजिरहेका शर्मालाई बेलप्रसाद श्रेष्ठलाई भेट्न सल्लाह दिए भने बेलप्रसादलाई क्याम्पस नै धुलिखेलमा राख्न भूमिका खेल्न सुझाए । क्याम्पसमा पदाधिकारीहरूले बेलप्रसादलाई भेटेर जमिनका लागि आग्रह गरे । पानी, बिजुली, बाटोसहितको पूर्वाधार भएको २ सय रोपनी जमिन चाहिएको थियो भ्याली क्याम्पसलाई । बेलप्रसादले क्याम्पसका लागि धुलिखेलका विभिन्न स्थान देखाए र अन्त्यमा अहिले विश्वविद्यालय बसेको स्थान जँच्यो । भ्याली क्याम्पसका लागि जमिनको टुंगो लागिरहेकै अवस्थामा काठमाडाैं विश्व विद्यालय ऐन अस्तित्वमा आयो । क्याम्पसको सट्टामा विश्व विद्यालय स्थापना हुने भएपछि बेलप्रसादलगायत धुलिखेलका अगुवाहरू लागि परे । जमिनको व्यवस्था बाटो, बिजुली, पानीजस्ता पूर्वाधार जुटाउन बेलप्रसादले अहम् भूमिका खेले । 

महादेवसँग कुराकानी ?

बेलप्रसाद तेस्रोपटक मेयर भएको समयमा चुंगिकर विवाद बल्झियो । बागमती अञ्चलका सबै नगरपालिकाले चीनबाट आयात भएर आएका सामानबाट उठेको चुंगिकरको निश्चित अंश पाउँथे । चुंगिकर उठाउने जिम्मा भने धुलिखेल र बनेपा नगरपालिकाले पालैपालो पाएका थिए । चीनबाट ठूलो परिणाममा लसुन आयात भएको बेला ट्रक व्यवसायीहरूले लसुनले भरिएका सयौं सडक धुलिखेलको सडकमा राखेर विरोध गरे  । सडकमा लस्कर लागेका करिब ४ सय ट्रक लसुन गन्हाएर बजारमा हैरानी भयो भने प्रजातन्त्र आइसकेको अवस्थामा बेलप्रसादविरुद्धका आवाजहरू पनि बाक्लिँदै थिए । लसुनको पीरो गन्धले दिनोरात पिरलिएका जनताको आक्रोश चुँलिँदै गएको अवस्थामा नगरका मेयर तनावमा थिए । ‘आफैँ माथि आक्रमण त हुने होइन भन्ने भय थियो,’ बेलप्रसाद भन्छन्, ‘कुनै उपाय निस्किएको थिएन, प्रशासनले हड्ताल दबाउन खासै साथ समर्थन दिइरहेको छैन ।’ प्रशासनिक हस्तक्षेपका लागि बेलप्रसादले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग सहयोग मागेका पनि हुन् । उनीहरूले वास्ता गरेनन् । 

एकातिर धुलिखेललाई लसुनको गन्धबाट मुक्त गराउनुपर्ने थियो भने अर्कोतिर नगरपालिकाको आम्दानीको मुख्य स्रोत गुम्ने त होइन भन्ने भयमा थिए बेलप्रसाद । नगरपालिकाको काम गरेर अपराह्न पछि बेलप्रसाद आफ्ना बाजे बराजुदेखि पुज्दै आएका बनेपास्थित गौखुरेश्वर महादेव मन्दिर पुगे । शिव भगवानको मूर्ति सामुन्ने बसेर बेलप्रसादले भने, ‘तिमीलाई मेरा बा बराजुदेखि पुज्दै आएका छाैं, म पनि पूजा गर्दै छु, अहिले म संकटमा छु, मलाई सहयोग चाहिएको छ । ‘तिमी चुप लागेर बसिरहने, भक्तहरू एकतर्फी सेवा गरिरहने यो हुँदैन,’ बेलप्रसादले शिवसँग भने, ‘अहिले मलाई सहयोग चाहिएको छ, सहयोग गर, चुपचाप बस्न मिल्दैन ।’ यसो भन्दै मन्दिरबाट निस्किए सरासर नगरपालिकाको शिरानको एउटा ठूलो ढुंगामा एक्लै बसिरहे । यता होटल होराइजनमा राजा वीरेन्द्र र ऐश्वर्यको सवारी भएको उनलाई पत्तै थिएन । होटलको कर्मचारी मोटरसाइकलमा हस्याङफस्याङ गर्र्दै  बेलप्रसाद सामु पुग्यो र होटलमा राजारानी आएको जानकारी दियो । बेलप्रसाद केही बेरमा राजा सामु उपस्थित भए, त्यतिञ्जेल राजा होराइजनको प्राङ्गणमा बसेको ४५ मिनेट भैसकेको थियो । ‘राजालाई सबै कुरा थाहा छँदै थियो, उनले सान्त्वना दिने काम  गरे,’ बेलप्रसाद भन्छन्, ‘राजा आएपछि त प्रशासन पनि मेरो पक्षमा आयो, सिडियो पनि सक्रिय भए, प्रहरीले ट्रकका चालक खोजिखोजी हड्ताल तोडायो,  हड्तालमा उत्रिएका ट्रकहरूले धमाधम रसिद काट्न थाले, बोरामा पैसा राख्नुपर्ने स्थिति पो आयो ।’ 

बेलप्रसादको विचारमा देउता र भक्तबीच आपसमा सहयोग आदान–प्रदान हुनुपर्दछ । ‘भक्त एकोहोरो सेवा गरिरहने, मरेर काम गर्ने  देउताहरू चुपचाप बसिरहने भन्ने हुँदैन, यो मिल्दैन,’ उनको विचारमा नबोल्न देउता भनेर ढाँट्न भने हुँदैन । 

ठूलो परिवारको जेठो 

मोहनप्रसाद, विष्णुप्रसाद, दण्डप्रसाद, न्हुच्छेराज, उद्धवप्रसाद सगोलका ५ दाजुभाइका छोरा–छोरी, बुहारी नाति–नातिनीको ठूलो सगोलको परिवार थियो ५० को दशकसम्म । पाँच दाजुभाइमध्ये बेलप्रसाद मोहन प्रसादको जेठो सन्तान हुन् । ५ भाइका १७ भाइ छोरा मध्ये  १५ भाइ छन् र सबैका दाजु बेलप्रसाद हुन् । तेस्रो चौथो पुस्तासम्मका सन्तानसँग भेटघाट, छलफल चल्ने गरेको उनी बताउँछन् । नाति, नातिनी सल्लाह माग्न आउँछन्, भेटघाट गर्न आउँछन् । बेलप्रसादकी पत्नी हिरा श्रेष्ठ लामो समय सगोलको भान्सा चलेको बताउँछिन् । ‘घरका कसकसले खाए खाएनन्, थाल गने पछि थाहा हुन्थ्यो,’ हिरा भन्छिन्, ‘एक पटकमा ३० वटा थाल राखिएको हुन्थ्यो, थाल टिप्दै गए पछि थाल बाँकी रह्यो भने आज को आएको छैन भन्ने लेखो हुन्थ्यो ।’ एक छाकमा तीन पाथी चामलको भात पकाउने गरेको अनुभव सुनाउँदै हिराले भनिन्, ‘६०, ७० जना खाने मान्छे त सामान्य हो ।’ परिवारका सबै सदस्यहरू जम्मा हुँदा ठूलो जमात हुने गरेको उनको अुनभव छ । ‘५ जना ससुरा, ५ जना सासू, १७ भाइ छोरा,  हामी १७ वटी बुहारी र हाम्रा नानीहरू,’ हिरा भन्छिन्, ‘ठूलो परिवार हुँदा बेग्लै खाले रमाइलो थियो, अहिले भने हाम्रो भान्सा छुट्टिएको हो, बेला–बेलामा एकै ठाउँ हुने गर्दछौं ।’  

दैनिकी 

७९ वर्षीय बेलप्रसाद अहिले पनि सक्रिय देखिन्छन् । धुलिखेलका सबै जसो सामाजिक संघसंस्थामा आबद्ध बेलप्रसाद काठमाडौं विश्वविद्यालयको ट्रस्ट छन्, धुलिखेल अस्पतालको अध्यक्ष छन् । पछिल्लो समय आफैँले अध्ययन गरेको संजिवनी स्कुल जो भूकम्पबाट क्षत्रिग्रस्त बनेको थियो, त्यसको पुनर्निर्माण काम सम्पन्न गर्ने काममा लागि परेका छन् । बिहान ५.३० सम्म उठिसक्ने उनी चिया कफी पछि केही बेर ध्यान गर्दछन् र निवासभन्दा केही मिनेट टाढाको होराइजन होटलको प्राङ्गणमा टहलिन्छन् । ‘म दैनिक गर्नुपर्ने काम, भोलि गर्नुपर्ने काम र हिसाब–किताब टिप्छु,’ बेलप्रसाद भन्छन्, ‘मेरा सबै काम व्यक्तिगतभन्दा पनि सामाजिक हुन्, म त्यसैमा व्यस्त छु ।’  हिजो गरेका काम, आज गर्ने  र भविष्यमा गर्ने कामको टिपोट राख्ने बानी परेका बेलप्रसाद भन्छन्, ‘बुढेस कालमा त अझ भोलि भन्ने होइन आजै गर्नुपर्दछ ।’  

शिक्षा, स्वास्थ्य र पर्यटनको हब  

काठमाडौं उपत्यकाको पूर्वमा रहेको धुलिखेल नगरपालिका अरनिको राजमार्गले चिरिएको छ र पूर्वी नेपाल जोड्ने बिपी राजमार्गको प्रारम्भ बिन्दु हो । रमणीय भूगोल, करिब ७ हजार घरपरिवार र ३२ हजार जनसंख्याको नगर आफैँमा  सानो छ । भौतिक पूर्वाधार, स्तरीय लज, होटलहरूले सम्पन्न यो नगरमा काठमाडौं विश्वविद्यालयको ठूलो आँगन छ । जहाँबाट बर्सेनि स्तरीय जनशक्ति उत्पादन भैरहेको छ । धुलिखेल अस्पतालले जसले स्तरीय र सुलभ स्वास्थ्य सेवा फैलाएको छ । शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनेको धुलिखेलको काखमा बेलप्रसाद ७९ वर्षको उमेरमा सक्रिय देखिन्छन्, बनिसकेको धुलिखेललाई ब्रिगन नदिन । 

प्रकाशित: २० श्रावण २०७५ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App