१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भुटानसँग ३१ करोड व्यापार घाटा

थिम्पु, (भुटान)- आफूभन्दा सानो देश भुटानसँग नेपालको व्यापार घाटा ३१ करोड रुपैयाँ रहेको छ। करिब ७ लाखमात्र जनसंख्या भएको भुटानसँग नेपालले दुई पक्षीय व्यापारलाई ध्यान दिन नसक्दा घाटा बेहोर्नुपरेको हो। नेपालले गत आर्थिक वर्ष ०७२/७३ कोमा ३१ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष नेपालले भुटानबाट ४६ करोड ४९ हजार ८४ रुपैयाँको सामान आयात र १५ करोड २६ हजार १५ रुपैयाँको निर्यात गरेको तथ्यांकमा उल्लेख छ।

नेपालले भुटानबाट खासगरी जिप्सम, कोइला, ननअल्कोहोलिक बेभरेज, खनिजजन्य पदार्थ कोइला, लाइमस्टोन आयात गर्छ। गत आर्थिक वर्षमा नेपालले भुटानबाट सबैभन्दा धेरै जिप्सम ४२ करोड ९६ हजार मूल्यको आयात गरेको छ।

नेपालले भुटानमा विभिन्न प्रकारका मूर्ति, ट्रान्सफर्मर, तयारी पोसाक, महिलाका गरगहना, जंक फुड, कुरमुरे, चिजबल, जुत्ता–चप्पल, कार्पेट, हाइड्रोलिक टर्बाइन लगायत सामान निर्यात गर्छ। गत आर्थिक वर्षमा नेपालबाट ५ करोड ७७ हजार ९४ रुपैयाँको विभिन्न प्रकारका ५० हजार ६ सय ९१ वटा मूर्ति निर्यात भएको थियो। नेपालबाट ५ हजार ७  सय ६० वटा ट्रान्सफर्मर ३ करोड ३० लाखमा निर्यात भएको तथ्यांकमा उल्लेख छ।

नेपालबाट निर्यात गर्ने यी सामान गुणस्तरीय उत्पादन गरेर थप पहल गर्ने हो भने व्यापार घाटा कम गर्न सकिने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले बताए। 'नेपालले यीबाहेक अन्य क्षेत्रमा पनि व्यापार व्यवसाय गर्न सक्ने सम्भावना छ,' १३औं सार्क व्यापार मेलामा सहभागी हुन भुटान आएका बजगाईंले भने, 'दूध, सुंगुर, कुखुराको मासु, बुद्धका मूर्ति निर्यात गर्न सकिने प्रशस्त सम्भावना छ।' उनले भुटानमा सबैभन्दा धेरै दूध निर्यात गर्न सकिने बताए। भुटानमा दूधको धेरै अभाव छ। भारतबाट पाउडर दूध आयात भइरहेको अवस्थामा नेपालबाट दूध पठाउन सकिने उनको भनाइ छ। 'नेपालमा मिल्क होलिडे छ,' बजगाईंले भने, 'यहाँ दूध अभाव छ। यसलाई नेपालले पूरा गर्न सक्छ।'       

बिहीबार भुटानमा सुरु भएको १३औं सार्क व्यापार मेलामा नेपाली पत्रकारसँग कुरा गर्दै यहाँका अर्थमन्त्री लिम्पो लेक्की दोर्जेले नेपालसँग थप व्यापार गर्न चाहेको बताएका थिए। उनले नेपालमा भइरहेको सरकार परिवर्तनले व्यापार सन्धि हुन नसकेको बताएका थिए।

भुटान र नेपालबीच सन् ९० को दशकदेखि नै दुई पक्ष व्यापार सन्धि गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन। लामो समयसम्म व्यावसायिक सम्बन्ध भए पनि अहिलेसम्म दुई देशबीच व्यापार सन्धि भएको छैन। औपचारिक रुपमा व्यापार सन्धि नभए पनि हरेक वर्ष ललितुर उद्योग वाणिज्य संघको पहलमा नेपाल भुटान व्यापार मेला हुँदै आएको छ। पोहोर साल थिम्पुमा भएको नेपाल भुटान व्यापार मेलामा नेपालले ८ करोड रुपैयाँको कारोबार गरेको संघले जनाएको छ।

व्यापार मेलामा नेपालका तर्फबाट भएको व्यापारलाई भने आयात–निर्यातमा नजोडिएको संघका अध्यक्ष सविन श्रेष्ठले बताए। दुई पक्षीय व्यापार सन्धि नभएकाले पनि व्यापार सहज हुन नसकेको श्रेष्ठको भनाइ छ। 'भुटानमा व्यापार बढाउने सम्भावना धेरै छ,' श्रेष्ठले भने, 'भुटानीहरूले नेपाली सामान धेरै मन पराउँछन्।'

बिहीबारदेखि थिम्पुमा १३औं सार्क व्यापार मेला सुरु भएको छ। २७ गतेसम्म चल्ने मेलामा नेपालसहित भुटान, भारत र बंगलादेशको सहभागिता छ। सहभागी देशहरूले आफ्नो देशको उत्पादन प्रवर्द्धन गर्न स्टल राखेका छन्।

मेलामा ४ देशबाट २ सय ५० स्टल राखिएको आयोजकले जानकारी गराएका छन्। मेलामा नेपालका तर्फबाट ६८ कम्पनीका ८२ स्टल छन्। नेपालका तर्फबाट धातुका मूर्ति, चाँदीका गरगहना, पूजा सामग्री, तामा, पित्तलका भाँडाकुँडा, तयारी पोसाक, उनी गलैँचा, काष्ठकला, वनस्पति तथा कृषजन्य सामग्री लगायत राखिएका छन्।

ललितपुर उद्योग वाणिज्य संघ र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको समन्वयमा नेपालका व्यवासयीले मेलामा सहभागिता जनाएका छन्। 

नेपाल र भुटानबीच पनि हरेक वर्ष व्यापार मेला हुँदै आएको छ । सन् २००९ मा भुटान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र ललितपुर उद्योग वाणिज्य संघबीच दुई देशीय व्यापार प्रवर्द्धन गर्ने सम्झौता भएको थियो।

प्रकाशित: २७ भाद्र २०७३ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App