१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

राइनासकोटमा स्वागत

ग्रामीण पर्यटनका लागि गण्डक क्षेत्र उर्बर मानिन्छ। त्यहीँबाट औपचारिक रुपमा नेपालको ग्रामीण पर्यटनको ढोका उघारिएको थियो । भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङले ०५४ असोजदेखि आफ्नै जन्मथलो सिरुबारी (स्याङ्जा)मा होमस्टे सुविधासहित गाउँ पर्यटन शुभारम्भ गरेका थिए।

आज सिरुबारी ग्रामीण पर्यटनको पाठशाला बनिसकेको छ भने त्यहाँको सिको गर्दै देशभर होमस्टेको लहर चलेको छ। पछिल्लो समय गण्डक क्षेत्रकै राइनासकोट पनि चम्किँदैछ । लमजुङ जिल्लाको राइनासकोट नगरपालिका–१० मा पर्छ राइनासकोट । कोटको पुरातात्विक महत्व छ।

चौबीसे राज्यकालमा राइनासकोटमा शाह वंशले शासन गरेको इतिहास छ । कोटमा  भग्नावशेषहरु पुरानो द्वार, कालिका मन्दिर, बंकर र ढुँगा देख्न पाइन्छ । गोरखा लिगलिगकोटका राजा द्रब्य शाह र रानाइसकोटका राजा नरहरी शाह दाजुभाइ थिए । नरहरी दाइ हुन् भने द्रब्य भाइ।

इतिहास, प्रकृति र संस्कृतिको त्रिबेणीधाम राइनासकोट घुम्न लायक छ जहाँका गाउँले फरासिला र आत्मीय छन्।

मिडिया मार्फत राइनासकोट प्रवद्र्धन गर्दै आएका बिग एफएम पोखराका पत्रकार माधब पनेरुका अनुसार डाँडामा केही वर्ष अघिसम्म पुराना तोप थिए । अहिले भग्नाबशेष मात्र बाँकी छन् । त्यहाँ सर्बोदय सेवा आश्रमले योग संबतको रजत स्तम्भ राखेको छ।   

कोटबाट हिमालको लामो लर्कन देखिन्छ । भदौ दोस्रो सातादेखि टलक्क टल्किन्छन् हिमाल (माछापुच्छे«, गणेश, लमजुङ र अन्नपूर्ण हिमाल) । कोट र सँगैको बस्तीबाट सूर्योदय र सूर्यास्त पनि देखिन्छ।

कोट मुन्तिर सुन्दर गुरुङ गाउँ छ । त्यहाँ एकै नासका १४ घर छन् । १२ वैशाखको भुइँचालोले घर भत्काएपछि अमेरिकी नागरिक लतसाको सहयोगमा एकनासे घर बनेका । सँगै एउटा सभा हल पनि छ।

ढुंगा छापिएको आँगन, चिरिच्याँट्ट गाउँ, आमा समूहको आतिथ्यता ! सबै घरमा होमस्टे सुविधा छ । गाउँलेहरु आफ्नो संस्कृति अनुसार चरेसका कचौरामा नारेपा (कोदोको रक्सी) राखेर पाहुना स्वागत गर्छन्।

होमस्टे ०७३ असोज २ गतेबाट सुरु गरिएको । त्यसको रेखदेखका लागि गाउँलेहरुले होमस्टे व्यवस्थापन समिति बनाएका छन् । समितिका अध्यक्ष खड्ग गुरुङ हुन् भने उपाध्यक्ष बिष्णुमाया गुरुङ।

केही समय अघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराका संस्थापक अध्यक्ष तारानाथ पहारीको समूह पनि तालिम गराउन त्यहाँ पुगेको थियो । ‘गाउँलेको आत्मीयता र सौन्दर्यले भुतुक्कै बनायो’, पहारीले भने, ‘राइनासकोट नमुना पर्यटन गन्तव्य बन्न सक्छ।’  

यथार्थ के हो भने होमस्टे सुविधा दिएर पर्यटन गाउँ घोषणा गर्नेवित्तिकै पर्यटक आउँदैनन् । त्यसका लागि राम्रो मार्केटिङ चाहिन्छ । अब त्यो कामको नेतृत्व प्रदेश सरकारले लिनु पर्छ।

प्रदेश नं ४ को सरकारले ३ सय वटा होमस्टे निर्माण गर्ने योजना ल्याएको छ । त्यस अघि उसले गर्नु पर्ने महत्वपूर्ण काम के हो भने हाल भैरहेका होमस्टेको मार्केटिङ । प्रशस्तै पर्यटकीय संभावना भएका गाउँ समेत पर्यटक अभावमा सुनसान छन् । सरकारले स्थानीयसँग मिलेर प्रभावकारी प्रचारात्मक कार्यक्रम गर्नु पर्छ । त्यसका लागि पर्यटकीय जानकारी दिन हरेक गाउँको वेवसाइट, युट्युव भिडियो, पोस्टर, बुकलेट र होडिङ बोर्ड बनाएर सहर÷बजारका स्कुल, कलेज लगायत संस्थामा पुग्न अबेर भैसक्यो।  

त्यसो हुन सके मात्र राइनासकोट जस्ता गाउँहरुको पर्यटनबाटै कायाकल्प हुन सक्छ । र, गाउँ पर्यटनका पिता रुद्रमान गुरुङको सपना पनि साकार हुन्छ।  

राइनासकोट पुग्न पृथ्वीराजमार्गको डुम्रेबाट बेशिसहर जाने सडक ३० किमि नापेपछि पाउँदी पुगिन्छ । अनि त्यहाँबाट मध्यपहाडी लोकमार्ग हुँदै १२ किमिमा राइनासकोट।

प्रकाशित: १९ श्रावण २०७५ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App