१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चित्रकला सिकाउने पुस्तक

चित्रकलामा रुचि राख्नेहरूका लागि खुसीको खबर छ । चित्रकलाबारे जानकारी दिने पुस्तक प्रकाशित भएको छ । सिर्जना कलेज अफ फाइन आर्ट्सले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘चित्रकला (द आर्ट अफ पेन्टिङ)’ पुस्तक चार जनाले लेखेका हुन् । तेजबहादुर चित्रकारले बनाएको चित्रलाई पुस्तकको आवरण तस्बिर बनाइएको छ । पुस्तक एक सय २४ पृष्ठको छ।

नवीन्द्रमान राजभण्डारी, विजय महर्जन, अशोकमान सिंह र कृष्णगोपाल श्रेष्ठले लेखेको पुस्तकको सम्पादन भने राजभण्डारीले गरेका हुन्। पुस्तक नेपालीमा चित्रकला अध्ययन गर्न रुचाउने विद्यार्थीका लागि डिजाइन गरिएको छ । यो पुस्तकले  विद्यार्थीलाई चित्रकला सम्बन्धी  ज्ञान, सन्दर्भ अनुसार इतिहास, सानो सानो कुराको जस्तै आँखालाई चित्रमा उतार्दा कस्तो हुन्छलगायत विषयमा विस्तृत जानकारी दिइएको छ।

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातक तहको पाठ्यक्रममा आधारित भई लेखिएको यो पुस्तकमा चार परिच्छेद छुट्याएका छन् । पहिलो परिच्छेदमा कलाबारे सामान्य चर्चा गरिएको छ । यसमा कलाको परिभाषा के हो, कलाको मूल्य के कस्तो हुन्छ, कलाकृतिको अध्ययन, कलासँग सम्वन्धित शैलीहरूको शब्दावली समेटिएको छ।

त्यस्तै, दोस्रो परिच्छेदमा दृश्यकलाका तत्वहरूबारे चर्चा गरिएको छ । दृश्यकलाको महत्वपूर्ण तत्वको रूपमा लिइने रेखा, आकार, स्वरूप, मूल्य, स्थान, स्पर्शभाव, बुट्टा, प्रकाश र रंगको बारेमा विस्तृत जानकारी यो परिच्छेदमा समावेश गरिएको छ । यो परिच्छेदमा पाठकहरूले त्रिआयामिक गहिराइको भ्रम कसरी पैदा गर्ने, सकारात्मक स्थान र नकारात्मक स्थान कसरी प्रयोग गर्ने, रंगहरू कसरी बन्छन् र तिनीहरूको छनोट र संयोजन कसरी गर्ने भन्ने बारेमा जानकारी लिन सक्छन् । एकल रङ संयोजन योजना, सजातीय रङ संयोजन योजना, विजातीय रङ संयोजन योजना, त्रिकोणात्मक रङ संयोजन योजना, चतुष्कोणात्मक रङ संयोजन योजना, उष्ण रङ र शीतल रङको बारेमा यो परिच्छेदमा चर्चा गरिएको छ । त्यसैले यो पुस्तक चित्रकलाबारे अध्ययन गर्न चाहनेका लागि उपयोगी हुन सक्छ।

कलाका आधारभूत नियमहरुको बारेमा तेस्रो परिच्छेदमा विस्तृत रूपमा चर्चा गरिएको छ । कलाको संरचना, सन्तुलन, संगति, भिन्नता, लय, अनुपात, दूरान्तर र दृष्टिभंगबारे पाठकहरूले यो परिच्छेदमा जानकारी लिन सक्छन्।

सिसाकलम, चारकोल, पेस्टल, कलम, मसी, बुरुसजस्ता चित्रकलाका लागि चाहिने माध्यम र औजारहरूको बारेमा परिच्छेद चारमा चर्चा गरिएको छ । पेस्टल चित्रको सुरक्षा कसरी गर्ने भन्ने जानकारी पनि यो परिच्छेदमा समेटिएको छ । यसबाहेक चित्रपट, तेल रङ, एक्रिलिक पेन्ट, जल रङ, टेम्परा, भित्तिचित्र, कोलाज, फोटो मोन्टाज, डिकोपेज र डिजिटल कोलाजबारे पनि यो परिच्छेदमा विस्तृत जानकारी दिइएको छ । क्यानभास, क्यानभास कस्ने तरिका र क्यानभासको आकार निर्धारणको ज्ञान पनि यो पुस्तकमा समेटिएको छ ।  हरेक परिच्छेदको अन्तमा मुख्य बुँदाहरू र अभ्यास दिइएको छ।

नेपाली भाषामा रंगिन पानाहरूमा सजिलोसँग बुझिने गरी सामग्रीहरू प्रस्तुत गरिएको यो पुस्तकमा नेपालका प्राचीन र आधुनिक चित्रकला र मूर्तिकला मात्र नभई संसारका विभिन्न क्षेत्रका कलाबारे पनि चर्चा गरिएको छ । नेपाली  भाषामा चित्रकलाका लागि खासै पुस्तक नभएर विद्यार्थीहरूले इन्टरनेटमा अंग्रेजी भाषाका सामग्रीहरू हेर्नुपर्ने अवस्थालाई यो पुस्तकले केही हदसम्म कम गराउने विश्वास गरिएको छ।

नेपालीमा अध्ययन गर्न र सिक्न रुचाउने विद्यार्थीका लागि यो पुस्तकको आवश्यकता निकै खड्किएको थियो । अहिले सजिलोसँग प्लस टुदेखि स्नातक तहसम्मका विद्यार्थीले यो पुस्तकबाट आफ्नो क्षमता देखाउन सक्ने, सिक्न सक्ने मात्र नभई अभ्यास गरी अरुलाई पनि सिकाउन सक्ने देखिन्छ । यस किताबले विद्यार्थीलाई फाइदा निकै हुने देखिएको छ । यसमा चित्र कसरी बनाउने मात्र नभएर चित्रकलाका विभिन्न सैद्धान्तिक विषयलाई समेत समावेश गरिएको छ । नेपाली कलाकारिताको कामको उदाहरण पनि प्रशस्त दिइएको छ । यसले गर्दा नेपाली कलाकारिता र चित्रकारको कामको पनि एक्सपोजर हुने सम्भावना बढी छ।

यो पुस्तकले पाठकलाई चित्र कसरी बनाउने भन्ने मात्र नभई अमर चित्रकार, तेजबहादुर चित्रकार, दिलबहादुर चित्रकार, लैनसिंह बाङ्देल, शशिकला तिवारी, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, शरद रञ्जित, उत्तम खरेल, कृष्णगोपाल श्रेष्ठ, मदन चित्रकार, किरण मानन्धर, मनुजबाबु मिश्र, मोहन खड्कालगायत दर्जनौं कलाकारहरूको कलाकृतिसँग पनि परिचित गराउनेछ । यसबाहेक काराभाजो, लियोनार्दो दा भिन्ची, एड्गा देगा, जर्जेज ब्राक, टिसियनलगायत विदेशी कलाकारहरूको कलासँग पनि अभ्यस्त बनाउनेछ।

चित्रकलाको विद्यार्थी मात्र नभएर चित्रकलामा रुचि राख्ने र चित्र कोर्न मन पराउने जो सुकैका लागि पनि यो पुस्तक निकै रुचिकर रहनेछ । आठ सय रुपैंयाँ मूल्य राखिएको यो कितावलाई विद्यार्थीहरूले निकै मन पराएको र बिक्री पनि राम्रो भएको लेखकहरू बताउँछन्।

प्रकाशित: १९ श्रावण २०७५ ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App