१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

साझामा अध्यक्ष बन्न लबिङ गर्दै शर्मा

काठमाडौं - साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा मन्त्रालय र शक्ति केन्द्र धाउन थालेका छन्। भ्रष्टाचार अभियोगमा शिक्षा मन्त्रालयद्वारा बर्खास्त गरिएका उनलाई कामु प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासले स्टेअर्डरमार्फत थमौती गरेको थियो। साझामा भएका अनियमितताबारेमा नागरिक दैनिक र रिपब्लिका दैनिकमा समाचार प्रकाशित भएपछि मन्त्रालयले उपसचिव गणेश ढकालको नेतृत्वमा छानबिन समितिसमेत गठन गरेको थियो।

समितिले साझामा अनियमितता भएको ठहर गर्दै शर्मालाई बर्खास्त गर्न सुझाव दिएको थियो। छानबिन समितिको सुझावका आधारमा मन्त्रालयले शर्मालाई असोज ८ गते अध्यक्ष र महाप्रबन्धक पदबाट बर्खास्त गरेको थियो। शर्मालाई कामु प्रधानन्यायाधीश जोशीको बेन्चले कात्तिक १५ मा स्टेअर्डर गरेपछि उनी पुनः साझामा फर्किएर काम सुरु गरेका थिए।

शर्माको साउन ११ मा अध्यक्षको पदावधि सकिएको छ । साझा प्रकाशन नियमावलीअनुसार एउटै व्यक्तिले अध्यक्ष र महाप्रबन्धक हुन नपाउने व्यवस्था भए पनि उनले शक्ति केन्द्रको आडमा दुवै पद सम्हाल्दै आएका थिए। उनले अध्यक्ष पदका लागि शिक्षा मन्त्रालयदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई समेत भेटेको स्रोतले जानकारी दियो। स्रोतका अनुसार शर्माले दाहालपुत्री एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमार्फत प्रचण्डलाई भेटेर अध्यक्षका लागि लबिङ गरिरहेका छन्।

शर्माले आफूले अध्यक्ष पद नपाउने अवस्थामा आफूनिकट अन्य तीनजनाको नाम सिफारिस गरेको स्रोत बताउँछ। स्रोतका अनुसार शर्माले आफैं अध्यक्ष बन्ने र आफू बन्न नसक्ने अवस्थामा नेकपाका नेता तथा साझाका पूर्वसदस्य प्रदीप नेपाल, पूर्वशिक्षामन्त्री धनीराम पौडेल र पूर्वशिक्षामन्त्री मोदनाथ प्रश्रितलाई क्रमशः प्राथमिकतामा राखेर लबिङ गरिरहेका छन्। अध्यक्ष पदको म्याद सकिएपछि शर्माले आफू पदको लोभी नभएको तर साझा सुधारका लागि लागिपरेको बताए।

यसैबीच शर्माले अवकाशप्राप्त कर्मचारीलाई सेवासुविधा दिने प्रतिबद्धता पूरा नगरेपछि साझाका एक सय २८ कर्मचारी आन्दोलित भएका छन्। शर्माले असार मसान्तसम्म सबै कर्मचारीको सेवासुविधा दिने लिखित प्रतिबद्धता गरे पनि पूरा नगरेपछि साउन १ गतेदेखि कर्मचारी आन्दोलित भएका हुन्। शर्माले असार मसान्तसम्म सेवासुविधा दिन नसके अवकाशप्राप्त कर्मचारीलाई पुनः करारमा नियुक्त गर्ने लिखित प्रतिबद्धता जनाएका थिए। कर्मचारी आन्दोलनपछि शर्मा अहिले प्रहरी सुरक्षामा कार्यालय आउने गरेका छन्।

प्रकाशित: १९ श्रावण २०७५ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App