१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेदरल्याण्ड्सलाई १ रनले हराउँदै नेपाल विजयी

नेदरल्याण्ड्सलाई एक रनले हराएपछि सामुहिक तस्बिर खिचाउँदै नेपाली क्रिकेट टोली।

काठमाडौं - नेपालले नेदरल्याण्डस् विरुद्धको दोश्रो एकदिवसीय खेलमा १ रनको रोमाञ्चकारी जित निकालेको छ । यो सँगै नेपालले एकदिवसीय मान्यतापछि पहिलो जित समेत दर्ता गरेको छ भने नेपाल र नेदरल्याण्ड्सबीचको दुई एकदिवसीय क्रिकेट श्रृङ्खला एकएक को बराबरीमा सकिएको छ।

५० औं ओभरको अन्तिम बलमा रन लिन दौडेका नेदरल्याण्ड्सका फ्रेड क्लासेन रन आउट भएपछि नेपालले दोश्रो खेलमा १ रनको रोमाञ्चक जित हाँसिल गरेको हो । इनिङको अन्तिम ओभरमा ६ रनको आवश्यकता भएको समयमा कप्तान पारस खड्का स्वयम बलिङ गर्न आएका थिए। ओभरको पहिलो बलमा १, दोश्रो बलमा ०, तेश्रो बलमा १, तथा चौथो बलमा २ र पाँचौ बलमा ० रन दिएका खड्काले नेदरल्याण्ड्सलाई अन्तिम बलमा खेल जित्न २ रनको आवश्यकता भएको समयमा रन लिन दौडेका क्लासेनलाई रन आउट गरेपछि नेपालले ऐतिहाँसिक पहिलो जित निकाल्न सफल भयो

नेपाललाई रोमाञ्चकारी जित दिलाउने क्रममा सन्दिप लामिछानेले ३ तथा ललीत भण्डारीले २ र सोमपाल, पारस, बसन्त र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए। यस्तै नेदरल्याण्ड्सका वेस्ली बरेसिले सर्वाधिक ७१ रन बनाए । उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टोलीलाई जितको बाटो देखाइरहेका उनलाई ऐरीले ३५ दशमलव ५ ओभरमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो। यस्तै ड्यानियल ट्र ब्राकले ३९ रन जोडे। 

नेदरल्याण्ड्सको एम्सटेल्भिन रङ्गशालामा सम्पन्न खेलमा यसअघी टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्का र सोमपाल कामीको अर्धसतकीय पारीमा नेदरल्याण्ड्सलाई २ सय १७ रनको सम्मानजनक लक्ष्य दिएको थियो। नेपालले ४८ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय १६ रन जोडेको थियो।  

सुरुवातमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालको इनिङ उकास्न पारस र त्यसपछि सोमपालले महत्वपूर्ण भुमिका खेले । पहिलो विकेट ज्ञानेन्द्र मल्लका रुपमा ७ दशमलव ३ ओभरमा गुमाएको नेपालको त्यसपछि विकेट पतन हुने सिलसिला सुरु भएको थियो । ज्ञानेन्द्र आउट भएकै ओभरको अन्तीम बलमा अनील शाह समेत आउट हुँदा नेपालले ३४ रनको स्कोरमा ओपनर ब्याटसम्यान गुमाइसकेको थियो । त्यसपछि ११ दशमलव १ ओभरका सुवास खकुरेल, १५ दशमलव ५ ओभरमा दिपेन्द्र सिंह ऐरी, १९ दशमलव ५ ओभरमा रोहित पौडेल आउट हुँदा नेपालले ८८ रनको स्कोरमा महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो । त्यसपछि नेपालको इनिङ सम्हालिरहेको कप्तान पारस खड्का ५१ रनमा आउट हुन पुग्दा नेपाल नेदरल्याण्ड सामु सम्मानजनक स्कोर खडा गर्नबाट चुक्ने अवस्थामा पुगेको थियो तर सोमपाल कामीले उत्कृष्ट व्याटिङ गर्दै नेपाललाई नेदरल्याण्ड विरुद्धको दोश्रो एकदिवसीय खेलमा सम्मानजनक योगफल तर्फ अघी बढाएका थिए ।

नेपालकालागि सोमपालले सर्वा्धिक ६१ रन बनाउँदा कप्तान खड्काले ५१ तथा दिपेन्द्र सिंह ऐरी तथा सुवास खकुरेलले समान १९ रन जोडेका थिए । कामीले ४६ बलमा ५ चौका तथा ३ छक्काको मद्दतमा ६१ रन बनाएका थिए भने खड्काले ६९ बलमा ५१ रन जोडेका थिए। उनले ६ चौका तथा २ छक्का प्रहार गरे। नेदरल्याण्ड्सका फ्रेड क्लासेनले ३ तथा माइकल रिपन र पिटर सिलरले दुई दुई विकेट लिए।

खड्का नेपालले एकदिवसीय मान्यता प्राप्त गरिसकेपछि अर्धसतक बनाउने दोश्रो खेलाडी बनेका छन् भने कामी तेश्रो खेलाडी बनेका छन् । पहिलो खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले यसअघि पहिलो अर्धसतक हिर्काएका थिए। 

यसअघि भएको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई ५५ रनले हराएको थियो।   

प्रकाशित: १८ श्रावण २०७५ १७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App