१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालगन्जलाई ‘स्मार्ट सिटी’ बनाउन चिनियाँ कम्पनीको चासो

चिनियाँ टोलीसँग नेपालगन्जको अवस्थाबारे जानकारी गराउँदै मेयर डा. धवलसम्शेर राणा । तस्बिर : नागरिक

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकालाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न चिनियाँ टोलीले चासो राखेको छ। चीनको ‘जिआईआईसी’ नामक कम्पनीको एक टोली नेपालगन्जमा आएर यसबारे सम्भाब्यता अध्ययन गरेको हो। उक्त कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर सुपाई नेतृत्वको टोलीले नेपालगन्ज उपमहानगर क्षेत्रको शुक्रबार निरीक्षण गरेको थियो। उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणाका अनुसार उक्त टोली नेपालगन्जलाई स्मार्ट सिटी बनाउन ईच्छुक रहेपनि क्षेत्रफलले तत्कालका लागि साथ नदिएको कुरा ब्यक्त गरेका थिए। 

‘ऐतिहासिक नगरी नेपालगन्जलाई स्मार्ट सिटी बनाउन सकिन्छ कि भनेर टोली सम्भाव्यता अध्ययनका लागि आएको रहेछ, हामीले उनीहरुलाई नेपालगन्जको पुरै क्षेत्रभरी घुमायौं,’ मेयर राणाले नागरिकसँग भने ‘यो कम्पनीका लागि नेपालगन्ज बजार धेरै सानो क्षेत्र भएछ।’ स्मार्ट सिटी बनाउनका लागि कम्तिमा पनि बाँके जिल्लाको पुरै क्षेत्रफल बराबरको ठाउँ चाहिने कुरा अध्ययन टोलीले बताएको उपमहानगरपालिका कार्यालयले जनाएको छ। 

‘यो कम्पनीले विश्वका धेरै देशमा स्मार्ट सिटी निर्माण गरेको रहेछ,’ मेयर राणाले भने ‘यिनीहरु ठुला योजनाका काम गर्दा रहेछन, स्मार्ट सिटीका लागि विदेशी कम्पनीले नेपालगन्जप्रति चासो राख्नु पनि हाम्रो लागि गर्वको कुरा हो।’ भविष्यमा चाडै नेपालगन्जले स्मार्ट सिटीको सपना पुरा गर्ने मेयर राणाको विश्वास छ। 

छलफलमा सहभागी भएका राप्रपाका युवा नेता ऋषिराज देवकोटाका अनुसार मेयर राणाले दुई सदस्यीय चिनिया टोलीलाई गम्छा ओढाएर उपमहानगरपालिका कार्यालयमा स्वागत गरेका थिए। नेपालगन्जलाई स्मार्ट सिटी बनाउन चिनिया कम्पनीले चासो राख्नु पनि सकारात्मक कुरा भएको युवा नेता देवकोटाको भनाई छ। ‘स्मार्ट सिटी बनाउन नेपालगन्ज क्षेत्र सानो भएपनि भविष्यमा कुनै न कुनै हिसाबले यो शहरको विकासका लागि चिनिया टोली सकारात्मक भएर फर्केको छ’, देवकोटाले भने। 

प्रकाशित: १८ श्रावण २०७५ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App