१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पहिलो जित निकाल्ने लक्ष्य

नेदरल्यान्ड्सविरूद्ध हुने दाेस्राे एकदिवसीय अन्तर्राष्ट्रय खेलअगाडि अभ्यास गर्दै नेपाली खेलाडी। तस्बिर साैजन्य : रमन शिवाकाेटी

काठमाडौं – मध्यक्रमका ब्यट्सम्यानले टिठलाग्दो प्रदर्शन गरेपछि नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल गुमाएको नेपालले शुक्रबार शृंखला बराबरीका साथै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित निकाल्न खेल्नेछ। नेपाली क्रिकेटले नयाँ युगमा पाइला चालिरहँदा टोलीलाई यो ऐतिहासिक क्षणसम्म ल्याउन महत्वपूर्ण योगदान गरेका शालीन व्यक्तित्व भने बिदा हुँदै छन्।

नेपाली क्रिकेट बामे सर्दै गर्दादेखि टोलीका लागि योगदान गर्दै आएका स्पिनर शक्ति गौचनले यसअघि नै नेदरल्यान्ड्स भ्रमणसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरिसकेका छन्। बुधबार ४ ओभर बलिङ गरेर १५ रन दिएका शक्तिलाई अब नेपाली दर्शकले मैदानमा देख्न पाउने छैनन्। विकेट लिएपछि तुफान कुद्ने पातलो अग्लो कद भएका शक्तिको त्यो ‘सेलिब्रेट’ गर्ने शैली अब नेपाली दर्शकको सम्झनामा मात्र हुनेछ।

विकेट लिएपछि तुफान कुद्ने पातलो अग्लो कद भएका शक्तिको त्यो ‘सेलिब्रेट’ गर्ने शैली अब नेपाली दर्शकको सम्झनामा मात्र हुनेछ।

नेपाली क्रिकेटले सधैं सम्झिरहने शक्तिको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भने सम्झनालाक हुन सकेन। मध्यक्रमका ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसक्दा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाउने नेपालको सपना पूरा हुन सकेन। तथापि शुक्रबार नेदरल्यान्ड्सलाई पराजित गर्दै २ खेलको शृंखला बराबरी गर्ने मौका नेपालसामु छ।

‘यो लेभलमा नेदल्यान्ड्स हामीले हराउनै नसक्ने प्रतिद्वन्द्वी होइन। तर त्यसका लागि हामीले भोलि १ सय ओभर नै राम्रो प्रदर्शन गर्नु आवश्यक छ,’ नेपालका कप्तान पारस खड्काले भने, ‘सधैं नेपालको ओपनिङमा समस्या हुन्थ्यो । तर हिजो राम्रो सुरुआत गरे पनि मध्यक्रममा ठोस साझेदारी हुन नसक्दा जितनजिक पुगेर पनि हार्नुप-यो । आशा गरौं दोस्रो खेलमा राम्रो क्रिकेट खेल्दै जित निकाल्नेछौं।’

बुधबार पहिलो खेल खेलेको आम्सटेलभिनस्थित भिआरए मैदानमै नेपालले दोस्रो खेल खेल्दै छ। नेपालका कप्तान पारस खड्काले पहिलो खेलमा २६ रन दिएर ४ विकेट लिएपछि नेपालले नेदरल्यान्ड्सलाई १ सय ८९ रनमा रोकेको थियो । तर, ज्ञानेन्द्र मल्लले अर्धशतकसहित ओपनर अनिलकुमार शाहसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए।

एक समय १–८५ को स्थितिमा रहेको नेपालले १ सय ३४ रन जोड्दा सबै विकेट गुमाएको थियो। कप्तान पारस खड्काले दोस्रो विकेटपछि राम्रो साझेदारी बन्न नसक्दा हार्नु परेको भन्दै दोस्रो खेलमा ब्याटिङका साथै तीनै पक्ष (बलिङ, ब्याटिङ र फिल्डिङ) मा सुधार गर्नुपर्ने बताए। ‘हाम्रो ब्याटिङमा अझै समस्या देखिएको छ। त्यसमा सुधार्नुपर्छ,’ कप्तान खड्काले थपे, ‘ब्याटिङ मात्र होइन हामीले तीनै पक्षमा सुधार गर्नु आवश्यक छ।’

फिल्डिङ गर्दा नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद् भेषावकरको औंलामा चोट लागेपछि नेपालको ब्याटिङ अर्डरमा पनि समस्या देखिएको थियो। जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगिता खेलेर अमेरिका गएका शरद उतैबाट लर्डसमा खेल्न आएका थिए। बीचमा उनले टोलीसँग अभ्यास गरेका थिएनन् । उनको चोट ठूलो नभएकाले शुक्रबार उनी खेल्न सक्छन्। तथापि यही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका शक्ति गौचनको स्थानमा भने नयाँ खेलाडीले मौका पाउने सम्भावना छ।

तथापि कप्तान पारसले शुक्रबारको पिचको अवस्था हेरेर टोलीको निर्णय हुने बताए। उनले थपे, ‘टिम परिवर्तनबारे अहिल्यै केही भन्न सकिन्न । भोलि पिचको अवस्था हेरेर मात्र हामी निर्णय लिनेछौं।’

प्रकाशित: १८ श्रावण २०७५ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App