१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको भाउ प्रतितोला ५६ हजार

काठमाडौं - केही समयदेखि ओरालो लागेको सुनको भाउ प्रतितोला ५६ हजारमा झारेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको छ।

यो भाउ ६ महिनायता कै सस्तो हो ।मंगलबार र बुधबार प्रतितोला ५६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार एकैपटक तीन सय रुपैयाँले घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आउँदा स्थानीय बजारमा पनि केही महिनायताकै सस्तो बिन्दुमा झरेको हो।

यसअघि २०७४ पुसमा प्रतितोला ५४ हजार तीन सय रुपैयाँमा सुन किनबेच भएको थियो । त्यसपछि तलमाथि हुँदै जेठमा अधिकतम ५९ हजार दुई सय रुपैयाँसम्म पुगेको थियो ।विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटले नेपाली बजार प्रभावित भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । विश्व बजारमा कुनै पनि घटनाले सुनको मूल्यलाई असर गर्ने भए पनि यस्तै परिस्थिति रहिरहे दसैंसम्ममा अझै ४–५ सय रुपैयाँ घट्न सक्ने विश्लेषण बज्राचार्यको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन सस्तो हुनुमा अमेरिकी डलरको मजबुतीलाई मानिएको छ । पछिल्ला केही दिनमा डलर बलियो हुँदा सुनमा लगानी गरेका व्यवसायी डलरतिर आकर्षित भएका छन् ।त्यस्तै, उत्तर कोरिया, अमेरिका, इरान र रुसबीचको सम्बन्धले सुन र डलरको मूल्यमा उतारचढाव ल्याइरहेको छ । अमेरिका र उत्तर कोरियाबीचको वार्ताले विश्व बजारमा सकारात्मक सन्देश दिँदा सुनका लगानीकर्ता अन्य क्षेत्रमा लागेको विश्लेषण गरिएको छ।

विश्व बजारका लगानीकर्ता पेपर मनी, करेन्सीतिर लाग्दा सुनको मूल्य बढेको विश्लेषण गरिएको छ । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर बढाउने संकेत गरेपछि लगानीकर्ता सुनको पैसा झिकेर सेयरतिर लागेका छन् । यसले सुनको माग घटाएको छ ।विश्वमा सुनको धेरै खपत हुने देशमध्ये भारत, पाकिस्तान, बंगलादेशको अवस्थाले पनि मूल्य तलमाथि हुने गर्छ । सुन बढी खपत हुने भारतमा अहिले यसको सिजन नभएकोले माग खुम्चिएको छ ।

प्रकाशित: १८ श्रावण २०७५ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App