१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

वीर अस्पताल रंगाएर कहाँ हराए धुर्मुस ?

धुमुर्सले रंगरोगन गरेपछि चटिक्क देखिएको वीर अस्पताल ।

काठमाडौं - हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) वीर अस्पताल सफाइ र रंगरोगन सकेर बिनाखबर बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि उनका शुभचिन्तकहरु आश्चर्यमा परेका छन् ।उनले आफूले अस्तपालको रंगरोगनको काम  सकेपछि अस्पताललाई औपचारिक रुपमा हस्तान्तरण गरेनन् नै ।  न उनी अस्पतालको १ सय २९ औं वार्षिकउत्सवमा देखिए । न त वार्षिकोत्सव कार्यक्रममा उनको कामको चर्चा नै भयो।

उनी असारकै दोस्रो साताभित्रै वीर अस्पताल सकेपछि कुनै औपचारिक जानकारीबिनै बेपत्ता भए ।सरसफाइ र मर्मतसम्भारको अभाव झेलिरहेको वीर अस्पतालमा सफाइ संस्कार राख्न सक्नु भने आफैंमा चुनौतीपूर्ण काम थियो । कलाकार कट्टेलले गत वैशाख अन्तिम साता वीर अस्पताल सफाइ तथा रंगरोगन अभियान सुरु गरी ४४ दिनमा काम सकेका थिए ।

अस्पतालको काम सकेपछि औपचारिक घोषणा नगर्नु र अस्पतालको विशेष कार्यक्रममा समेत चर्चा नभएपछि उनका शुभचिन्तकहरु आश्चर्यमा परेका छन् । उनीहरुले विभिन्न टिकाटिप्पणी पनि गरे । ‘यत्रो अस्पताल सफा गरेका धुर्मुस वार्षिकोत्सवका दिन त कम्तीमा आउनु पथ्र्यो’ कार्यक्रममा सहभागी एक सञ्चारकर्मीले भने ।‘यति राम्रो चित्र कोरेर कता गए, अस्ति कार्यक्रममा पनि आउनु  भएन, कम्तीमा उहाँ आउनु पथ्र्यो,’ अस्पतालकै एक कर्मचारीले भने।

अस्पतालकै अर्की कर्मचारी भगवती थपलियाले धुर्मुसको अस्पताल सफाइबाट आपूm प्रभावित भएको बताइन् । जस्तै परिस्थीतिमा पनि धैर्यतापूर्वक काम गर्ने शैलीले आफू प्रभावित भएको उनले  बताइन् । उनी भन्छिन्, ‘रातभरि खटिएर काम गरे पनि भोलिपल्टै उस्तै तागजीका साथ देखिनुहन्थ्यो । त्यो देखेर म त छक्क पर्थें,’ उनले भनिन् । अस्पतालको मर्मत र रंगरोगनपछि अस्पतालको मुहारै फेरिएको अनुभूति आफूले गरेको उनले बताइन् । ‘थोरै मर्मत र रंगरोगनले पनि ठूलै परिवर्तन आउँदोरहेछ,’ उनले भने ।

अस्पताल रंग्याएका कट्टेल किन वार्षिकोत्सवमा सहभागी भएनन् त? अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतसँग पनि चित्तबुझ्दो जवाफ छैन । ‘यहाँबाट रंगरोगनको काम सकेर जानु भएको हो । औपचारिक रुपमा किन घोषणा गर्नु भएन थाहा छैन,’ बस्नेतले मंगलबार नागरिकसँग भने ।निर्देशक बस्नेतले अस्पताल परिवार र अस्पताल निकटका व्यक्तित्वलाई मात्र वार्षिकोत्सवमा बोलाइएकाले धुर्मुसलाई नबोलाइएको जवाफ दिए । उनले भने, ‘हामीले अस्पताल परिवारलाई मात्र बोलाएका थियौं ।’कार्यक्रमको तालिका लामो नभएकाले पनि नबोलाइएको उनले प्रष्ट पारे । निर्देशक बस्नेतले कट्टेलले गरेको रंगरोगन तथा सफाइ कामको भने तारिफ गरे।

‘अस्पताल प्रशासनले सरकारी प्रक्रिया अनुसार रंगरोगन र सरसफाइको काम गरेको भए ३ करोड लाग्न सक्यो । उनले १ करोड खर्चमै काम सकाए,’ बस्नेतले नागरिकसँग भने । उनले कम समयमै काम सकेर अर्को सराहनीय काम गरेको उनले बताए । ‘अस्पतालले टेण्डर गरेको भए कम्तीमा एक वर्ष लाग्थ्यो । धुर्मुसले दुई महिनामै सकाए,’ उनले भने ।
काम सकिएपछि सुटुक्कै हराएका सीताराम कट्टेललाई नागरिकले मंगलबार सम्पर्क गर्दा आफू व्यस्त भएको र अस्पताल सफाइको क्रण चुक्ता गर्नै बाँकी भएकोले कार्य सम्पन्न भएको घोषणा गर्न नसकेको बताए।

‘काम सकाउनु ठूलो कुरा हो । कामको क्रण चुक्ता नगरी घोषणा गर्न सकिनँ,’ उनले भने । त्यो बाहेक वीर अस्पताल सफाइ अभियानकै क्रममा लगाइएका आरोप–प्रत्यारोपले पनि यो विषयमा अघि बढ्न मन नलागेको उनले बताए । ‘मैले सामाजिक सेवा गरिरहेको बेला आरोप खेपिहरनु पर्यो, मुख्य कुरा काम सकें, त्यसमै खुसी छु,’ उनले भने ।

केही दिनअघि मन्त्री परिषद्को बैठकले रंगरोगन तथा सफाइ अभियानमा लागेको १ करोड खर्चको लागि बजेट निकासा गर्ने निर्णय भएको सुने पनि आपूmसम्म सो जानकारी नआइसकेको बताए । उनी यतिखेर चितवनस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण कार्यमा व्यस्त छन् ।


 

प्रकाशित: १७ श्रावण २०७५ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App