१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मेयरको निर्देशनले राजमार्ग बन्यो डम्पिङ साईट, सहरकाे फोहोर सडकमा

लहान- दुई दशकपछि स्थानीय सरकारको रुपमा जनप्रतिनिधि पाएपछि नागरिक हौसिएका थिए। गाउँसहरको मुहार चम्किने, सडक बस्तीको फहोर नियमित उठेर स्वच्छ वातावरणमा चयनको सास फेर्न पाउने नगरवासीको सपना थियो।

तर, लहान नगरपालिकाका मेयरको निर्देशनमा राजमार्गक्षेत्रको फोहोर उठ्न बन्द भएपछि नगरवासी पछिल्लो पन्ध्र दिनदेखि फोहोरको डंगुरबाट निस्किने दुर्गन्ध सुँघेर बस्न बाध्य बनेका छन्। नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ।

डिभिजन सडक कार्यालय लहानले नियम र आदेश मिचेर र नगरपालिकाभित्र पर्ने करिब सात किलोमिटर राजमार्ग क्षेत्रलाई १०३ फिट अर्थात (३१ मिटर) चौडा गर्न नसघाएको भन्दै मेयर मुनी साह सुडीले राजमार्ग क्षेत्रभित्रको फोहोर नउठाउन निर्देशन दिएका हुन। मेयर साहले भने,‘सडक कार्यालयका डिभिजनल ईन्जिनियर रामकुमार देवले सडक विस्तारमा असहयोग गरेपछि नगरपालिकाले राजमार्गको फोहोर उठाउन बन्द गरेको हो।’ मेयर साहको आरोप छ,‘ डिई देबले स्थानीयलाई उचालेर अदालतमा मुद्दा दिन लगाएको हो।’ १०३ फिट राजमार्ग क्षेत्र विस्तारका लागि सडकले सहयोग नगरेसम्म राजमार्गक्षेत्रको फोहोर नउठ्ने मेयर साहले बताएका छन्।

राजमार्ग क्षेत्रमा सर्वाधिक पसल, होटल तथा व्यपारिक प्रतिष्ठानहरु रहेका छन्। दिनहुँ हुने फहोरको ठूलो परिमाण राजमार्गक्षेत्रबाटै उत्पादन हुने नगरपालिकाले जनाएको छ। तर, राजमार्ग क्षेत्रमै दुई सातादेखि फोहोर उठ्न छोडेपछि सहर फहोरको डंगुर बन्दै गएको छ। राजमार्गमा फोहोर थुपारेर  नगरपालिकाले गम्भीर बेवास्ता दर्शाइरहेको नेपाल उद्योग वाणिज्य माहासंघका केन्द्रिय सदस्य अशोक अग्रवालको आक्रोस छ। नगरपालिकालाई करको ठूलो हिस्सा तिर्ने व्यपारीहरुको बाक्लो उपस्थिति रहेको राजमार्ग क्षेत्रलाई फोहोरको डंगुर बनाइनु बेईमानी हो । सरसफाईको नाममा कर लिने अनि फहोर भण्डार गर्ने नगरपालिकाको प्रवृति गलत भएको उनको भनाई छ।

लहान अस्पतालका निमित मेडिकल सुपरिडेन्ट डा.सुनिल कुशवाहाका अनुसार वर्षाका बेला विभिन्न खालको संक्रमण फैलिने जोखिम हुन्छ। 'वर्षाका बेला मात्र नभई अन्य समयमा पनि फोहोरबाट स्वास्थ्यमा धेरै किसिमको संक्रमणको जोखिम हुन्छ', उनले भने। झनै वर्षाको समयमा थुप्रिएको फहोर छताछुल्ल भएर मानव स्वास्थ्यमा गम्भीर संक्रमणको जोखिम बढाउन सक्ने उनले बताए। फहोरबाट झाडापाखाला, हैंजा, डेंगुजस्ता संक्रम फैलिने जोखिम रहेको डा. कुशवाहाले बताए।

राजमार्गमै जथाभावी फोहोर थुपार्दा उत्पन्न भएको दुर्गन्ध र त्यसको असरबाट पीडित भईरहेका नगरवासीको मर्काबारे चाहिँ नगरले केही नसोचेको जस्तो देखिन्छ। लहानका बुद्धिजिवी अधिवक्ता सुनिल कुमार साहका अनुसार स्वच्छ वातावरणमा बाच्न पाउने नागरिक अधिकार नेपालको संविधान २०७२ ले मौलिक हकको रुपमा सुरक्षित गरिसकेको अवस्थामा नगरपालिकाकै कारण नगरवासीले दुर्गन्ध सह्नु अस्वभाविक देखियो। जनताप्रती उत्तरदायी स्थानीय सरकारले संविधानले निदृष्ठ गरेको व्यवस्था भन्दा फरक शैली अख्तियार गर्नु सोभनीय हुदैन साहले भने। कुनैपनि बहानामा नगरपालिकाले जनता पीरोलिने खालको नीति अख्तियार गर्नु हुन्न उनले भने, ‘जनताको स्वच्छ वातावरणमा बाच्न,बस्न पाउने अधिकार अबिलम्ब सुरक्षित हुनुपर्दछ।’

स्मार्ट सिटी नारा, सहरमा फहोरको डंगुर

चुनावका बेला मुनी साहको लहानलाई स्मार्ट सिटी बनाउने नारा खुबै लोकप्रिय बन्यो । यी र यस्तै लोकप्रिय नारालाई पत्याएर जनताले उनको पक्षमा मतदान गरे। उनी नेपाली कांग्रेसका मेयर उम्मेदवार अचमितलाल चौधरीलाई पराजित गरी मेयरमा निर्वाचित भए। मेयर निर्वाचित भई लहान नगरको कार्यभार सम्हालेको करिब वर्षमा उनको एउटै नारा कार्यान्वयन भएको छैन। उनको कामकारबाहीबाट उनका चुनावी प्रतिस्पर्धी मात्र नभई उनकै पार्टी नेकपाका कतिपय नेता कार्यकर्ता असन्तुष्ट देखिन्छन्।

राजमार्ग क्षेत्र अर्थात लहानको मुख्य चोकलाई व्यवस्थित बनाउन लहानमा निर्माण भई सञ्चालनको पर्खाईमा रहेको वसपार्क सञ्चालन हुनुपर्छ। नेकपाका नेता विनोद साहका अनुसार नगरपालिकासँग सम्झौता भएरै निर्माण भएको बसपार्क सञ्चालनका लागि अहिले नगरपालिकाले अनुमती दिन आलटाल गरिरहेको छ उनले भने।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती एवं मेयरका प्रत्यासी रहेका अचमितलाल चौधरीका अनुसार नियम मिचेर निर्णय गर्न दिएको निर्देशन सडकले नमानेको रिस राजमार्गमा फहोर थुपारेर मेयरले साधिरहेको छ। नगरमा दुर्गन्ध फैलाएर सडकलाई दोषी देखाउने मेयरको मनसुबा नगरवासीले बुझिसकेका छन् चौधरीले भने,‘राजमार्गमा थुप्रिएको फोहोरको डंगुर अबिलम्ब सफा गराई व्यवस्थित गर्न मेयरसाबलाई आग्रह गर्दै छौं।’

सडक डिभिजन कार्यालय लहानका प्रमुख रामकुमार देवका अनुसार सडकले संरचना हटाउने क्षेत्र ८२ फिट हो। हामीले पत्राचार पनि ८२ फिट क्लियर गराईदिन गरेका हौं। तर, मेयर सावले १०३ खाली गर्छु भनेर सूचना गर्नुभयो देवले भने,‘त्यसपछि व्यक्तिले अदालत पुगे।’ अदालतले निषेधाज्ञा गरिदिएपछि मेयर साव म माथी खनिनु भएको छ, उनले भने। उच्च अदालत जनकपुर ईजलास राजविराजले मात्र नभई सर्वोच्च अदालतले समेत व्यक्तिको जग्गामा सडक नबनाउन आदेश गरिसकेको अवस्था औल्याउँदै देवले भने,‘नियम कानुनले नमिल्ने काम म कसरी गर्नु।’

 

 

 

 

 

 

 

 

प्रकाशित: १६ श्रावण २०७५ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App