१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विमानस्थल कालोपत्रे गर्न ढिलाइ

निर्माणाधिन बैतडीको पाटन विमानस्थल ।   तस्बिरः बिरा/नागरिक

बैतडी – लक्ष्यअनुसार काम नहुँदा बैतडीको पाटन विमानस्थल कालोपत्र गर्ने  ढिलाई भएको छ। गत आर्थिक वर्षको असारमै कालोपत्र सक्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको विमानस्थलको काममा ढिलाई भएको हो। गत भदौमा निर्माण कार्य सुरु भएको कालोपत्र गर्न कात्तिकसम्म कुर्नुपर्ने निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले जनाएको छ।

विमानस्थल कटिङ, फिटिङ र सब–बेसको काम सकिएको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताए। वर्षा लगायत विविध कारणले लक्ष्यमा काम सम्पन्न नभएको इन्जिनियर रावलको भनाइ छ। अहिलेसम्म विमानस्थलको ७५ प्रतिशत काम सम्पन्न भएको उनको दाबी छ। तर, विमानस्थल स्तरोन्नति गर्ने कार्य ५० प्रतिशत मात्रै सकिएको नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक एवं सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए। ‘सार्वजनिक खरिद नियमावली २०६४ अनुसार निर्माण कम्पनीलाई थप ६ महिनाको म्याद दिने गृहकार्य भइरहेको छ,’ उनले भने ‘थपिएको म्यादभित्र विमानस्थल कालोपत्र गरिसक्नुपर्नेछ।’

११ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको पाटन विमानस्थलमा पाँच सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिने बताइएको छ।

करिब दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याउन आर्थिक वर्ष २०७२–०७३ मा सरकारले बजेट विनियोजन गरेको थियो। सोहीअनुसार दुई वर्ष अघि विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो। असारमा सक्ने भनिएको कालोपत्र गर्ने कार्य समयमा नसकिने भएपछि स्थानीय निरास छन्।

२०३२ सालमा विमानस्थलको निर्माण सुरु भइ २०३५ देखि हवाइ सेवा सुरु भएको थियो। सडक यातायात पुगेपछि २०५२ बाट विमानस्थल बन्द भएको थियो। विमानस्थल कालोपत्र भएर सञ्चालनमा आए यस क्षेत्रको धार्मिक पर्यटनको समेत विकास हुने बताइएको छ। विमानस्थल सञ्चालन आए बैतडीसहित ७ नम्बर प्रदेशका पहाडी जिल्लाको धार्मिक पर्यटकीय संभावना र यहाँका स्थानीयको आयस्तर बढने बताइएको छ। 

प्रकाशित: १६ श्रावण २०७५ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App