१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुनैमा अर्को महिना गाडी

डोल्पाको तपतपे भीरमा सडक निर्माणमा जुटेका मजदुर / तस्बिर सौजन्य : विश्वबन्धु पहाडी

काठमाडौं - सडक यातायातले जोडिन नसकेको डोल्पा सदरमुकाम दुनै अर्को महिनासम्म सडकको राष्ट्रिय सञ्जालमा जोडिने भएको छ ।

सडकको राष्ट्रिय सञ्जालमा जोड्न नेपाली सेनाले अन्तिम तपतपे भीर कटानलाई तीव्र पारेको छ ।जाजरकोट–दुनै सडक खण्डका प्रमुख तथा नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडीले भदौ अन्तिमसम्म दुनैमा सडक पुर्याउने गरी काम भइरहेको बताए । ‘अब तपतपे भीरको अन्तिम पाँच सय मिटर खन्न बाँकी छ,’ उनले भने, ‘भदौ अन्तिमसम्म ट्र्याक खोलेर दसैंको बेला दुनैमा गाडी कुद्छ।’

दुनै हालसम्म सडक सञ्जालमा जोडिन नसेकेका जिल्ला सदरमुकाममध्ये एक हो । दुनैमा गाडी पुगेपछि हुम्ला सदरमुकाम सिमकोट मात्र सडक सञ्जालमा जोडिन बाँकी रहनेछ । सडक सञ्जालमा जोडिएसँगै वर्षौंदेखिको विकट डोल्पाबासीको सपना पूरा हुनै लाग्दा स्थानीय हर्षित छन्।

नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडक खण्डको एक सय १७ किलोमिटरमध्ये अब पाँच सय मिटर मात्र सम्पन्न हुन बाँकी रहेपछि गाडी चढेर ओहोरदोहोर गर्ने डोल्पाबासीको वर्षौं पुरानो सपना पूरा हुन लागेको हो । ठुल्ठूला पहाड र अत्यधिक कडा चट्टानका कारण उक्त सडकको निर्माण कार्य कहिले सकिएला भन्ने अन्योल कायम रहेको बेला नेपाली सेनाले निर्माणलाई अन्तिम चरणमा पुर्याएको हो।

नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडक खण्डको एक सय १७ किलोमिटरमध्ये अब पाँच सय मिटर मात्र निर्माण गर्न बाँकी रहेपछि गाडी चढेर ओहोरदोहोर गर्ने डोल्पाबासीको सपना पूरा हुन लागेको हो

डोल्पाबासी ट्याक्टरले बोकेको चामलबाट आउँदो दसैं मनाउने आसमा रहेको र सेनाले त्यसलाई निराशामा बदलिन नदिने गरी काम गरिरहेको समेत पहाडीले बताए । हरेक जिल्ला सदरमुकामसम्म सडक सञ्जाल विस्तार गर्न सरकारले यसअघि नै घोषणा गरेकाले सोही घोषणालाई जतिसक्दो चाँडो पूरा गर्ने दबाबमा सेना रहेको बताइएको छ।

पहाडीका अनुसार सडक निर्माणस्थल भौगोलिक रूपले विकट तथा कडा चट्टान नभएको भए यसअघि नै उक्त सडकको निर्माण सकिइसक्थ्यो । यो सडक निर्माणपछि एकातिर डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिनेछ भने अर्कोतर्फ छिमेकी जिल्ला रुकुम र जाजरकोटका दुर्गम गाउँमा बस्ने सर्वसाधारण पनि लाभावन्ति हुनेछन् । पहाडीले छिटो कालोपत्रे गर्न र पुल निर्माणका लागि जाजरकोट–त्रिवेणीसम्मको सडक खण्ड विभागलाई हस्तान्तरण गरिएको बताए । उनले उक्त सडकको ट्र्याक खोल्ने काम सकिए पनि भेरी नदी र अन्य खोलामा पुल बनाउन आवश्यक रहेको बताए।

डोल्पापछि सडक सञ्जालमा समेटिन नसकेको अर्को एकमात्र जिल्ला पनि कर्णालीकै हुम्ला हो । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नसेना नै निर्माण कार्यमा जुटेको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका अनुसार हुम्ला सदरमुकाम सिमकोटमा सडक पुग्न भने अझै चार–पाँच वर्ष लाग्नेछ । देशका अन्य ७५ जिल्ला सदरमुकाम भने सडकको राष्ट्रिय सञ्जालमा जोडिइसकेका छन्।

राष्ट्रिय सञ्जालसँगै उत्तर–दक्षिण करिडोर
डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिएसँगै दुई छिमेकी मुलुक चीन र भारत जोड्ने सबभन्दा छोटो मार्ग समेत सोही हुनेछ ।

भेरी करिडोर नाम दिइएको उक्त सडक खण्डले चीनको स्वशासित क्षेत्र तिब्बत–मारिम्ला भञ्ज्याङ–धो–दुनै–खदाङ–जाजरकोट–छिन्चु–नेपालगन्ज हुँदै रुपैडिहा नाकाबाट भारतलाई जोड्नेछ । दुवै छिमेकी मुलुकबाट प्रशस्त अवसर लिन सकिने सम्भावना भएकाले उक्त सडकलाई रणनीतिक महŒवको मानिएको छ । दक्षिणतर्फ भारतको रुपैडिहादेखि उत्तरको मरिमसम्मको दूरी करिब साढे चार सय किलोमिटर हुने बताइएको छ ।

 

 

प्रकाशित: १६ श्रावण २०७५ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App