१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बढ्दाे आधुनिकतासँगै खेती गर्ने तरिका फेरिँदै

ट्याक्टरले खेत हिल्याउँदै सिद्धलेकका किसान पूर्णराज श्रेष्ठ ।    तस्बिर : सरिता/नागरिक

धादिङ – गोरुको सहायताले खेतबारी जोतिरहेका सिद्धलेक गाउँपालिका वडा नं ६ का पूर्णराज श्रेष्ठ अहिले ट्याक्टरले खेतबारी जोत्छन्। दुई वर्ष अघिसम्म हलो र जुवा काँधमा राखेर गोरु धपाउदै खेत जोत्ने पुस्तौदेखिको परम्परा अहिले परिवर्तन भएको छ।

गोरुले जोत्दै आइरहेका खेतहरू अहिले प्रविधिको विकाससँगै ट्याक्टरले जोत्छ। महिनौ लगाएर खन्ने खेतबारी ट्याक्टरले दुई दिनमै खन्ने गरेपछि उनलाई सजिलो भएको छ। प्रविधिको विकाससँगै खेतबारीमा समेत आधुनिकता थपिएको श्रेष्ठ बताउँछन्। ‘प्रविधिलाई पनि पछ्याउनुपर्दो रहेछ’ श्रेष्ठले भने, ‘ट्याक्टरले श्रम र समयको बचत भएको छ।’ किसान ट्याक्टरको सिटमा बसेर आरामदायी रुपमा खेत हिल्याउँने गर्छन्। 

ट्याक्टरले धान रोप्ने, मकै, गहुँ छर्ने र तरकारीबाली लगाउने काम गर्छन्। ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउने, माटो धुल्याउने काममा निकैनै सजिलो भएको किसानहरू बताउँछन्। एक हल गोरुले दिनभरमा गर्ने मेलो ट्याक्टरले आधा घण्टामै सकिने भएपछि पनि कतिपय किसानहरूको आकर्षणको बिन्दु ट्याक्टर बनेको छ। पुस्तौदेखिनै गोरुको प्रयोग गरी खेतबारी जोत्दै आइरहेका किसानहरू यसरी ट्याक्टरले खेत जोत्न, बारी धुल्याउन सकिन्छ भनेर सोचेका पनि थिएनन्। अहिले काम गर्न छिटो र प्रभावकारी हुदाँ किसानहरू दंग छन्।  

भनेको समयमा गोरु नपाउने र कामदारको अभाव श्रेष्ठले जहिले झेल्नु परेको थियो। आफ्नै पहलमा ट्याक्टर किनेर खेतबारी जोत्न थालेपछि भएका जमिन बाँझो राख्नु नपरेको श्रेष्ठले बताए। कम जनशक्तिले थोरै समयमा काम सकिने भएपछि बाँझो रहेका खेतमा पनि उत्पादन सुरु भएको श्रेष्ठको भनाई छ। 

कृषिमा बढ्दो आधुनिकरणसँगै जिल्लामा खेतबारी जोत्नका लागि गोरु पाल्ने किसानहरूको संख्या घट्दै गएको छ। गोरुको विकल्पमा खेतबारी जोत्न हाते ट्याक्टर सजिलो माध्यम भएको किसानहरू बताउँछन्। असार, मंसिर, चैते धान रोप्ने, मकै रोप्ने र तरकारी लगाउने समयमा गोरुको लागि पालो कुर्नुपथ्यो तर अहिले त्यो समस्या ट्याक्टरले समाधान गरिदिएको किसानहरूको भनाई छ।

बढ्दो आधुनिकता र वैदेशिक रोजगारको कारण परम्परागत कृषिको भरपर्दो माध्यम गोरु पाल्ने चलन बिस्तारै हट्दै गएको छ। कृषि प्रधान देश नेपालमा खेतबारी जोत्न, दाइँ गर्न तथा विभिन्न कृषि कर्मको लागि गोरु महत्वपूर्ण सहयोगी मानिन्छ। तर, अहिले बजारमा ट्याक्टर, हातेट्याक्टर, मिनिटेलर हलो तथा आधुनिक मेसिनहरू भित्रिएका छन्। त्यसैले दिनप्रतिदिन गोरु पाल्ने चलन हराउँदै गएको छ। 

ट्याक्टरले जोत्दा खेतको माटो खुकुलो हुने किसानहरूको अनुभव छ। ट्याक्टर पाएपछि खेतीपाती गर्ने समयमा गोरु नपाउने समस्या हटेको गजुरीका किसान सन्जित तामाङले सुनाए। ‘अधिकांश पुरुषहरु विदेशिने क्रम बढेपछि गाउँमा न काम गर्ने खेताला पाइन्थ्यो, न त जोत्नकै लागि गोरु’ तामाङले भने, ‘आफ्नै गाउँमा खेत जोत्ने ट्याक्टर पाएपछि भने यहाँका किसानले केही राहत महशुस गरेका छौँ।’ 

तरकारी तथा खाद्यन्नका लागि उपयुक्त मानिएको जिल्लाका विभिन्न क्षेत्रमा गोरुको सट्टा ट्याक्टरको प्रयोग गर्न थालेका छन्। धेरै मेलो, समथर बारी हुने कृषकले ठूलो ट्रयाक्टरको प्रयोग उपयुक्त मानेका छन्। सानो हाते ट्रयाक्टर भने धेरै बारी हुनेलाई उपयुक्त मानिन्न। जोत्न पनि निकै गाह्रो हुने, भएकाले थोरै तरकारी खेती गर्नका लागि सानो हाते ट्रयाक्टर उपयुक्त हुने किसानहरूको भनाइ छ।

खेतबारी जोत्नेदेखि हिल्याउँने र सम्म बनाउने औजार उपकरणहरू आएपछि कृषकहरु मख्ख छन्। गोरुले खेत जोत्दा धेरै समय लाग्ने र गोरुलाई जोताउनु भन्दा धेरै खाना र आरामको धेरै समय आवश्यक पर्ने हुँदा उपकरणप्रति आकर्षण भएको उनले बताए। 

जिल्ला कृषि विकास कार्यालय धादिङले सहुलियत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिरहेको छ। कतिपयले आफ्नै पहलमा पनि ट्याक्टर किनेका छन् भने केहीले विभिन्न संघसंस्थाहरूले पनि सहयोग गरेका छन्। 

 

प्रकाशित: १५ श्रावण २०७५ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App