१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सूचनामा सजग ओली

काठमाडौं - गत शनिबार ललितपुरको कुपन्डोलमा नेकपा गठनपछि पहिलोपटक जनवर्गीय संगठन इन्जिनियर एसोसिएसनको एकता घोषणा कार्यक्रम हुँदै थियो । कार्यक्रममा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल उपस्थित हुने सूचना थियो । कार्यक्रम निर्धारित समयमै सुरु भए पनि पार्टी अध्यक्षहरुको आगमनमा ढिलो भइसकेको थियो ।

कार्यक्रममा ढिलो गरी अध्यक्ष दाहाल आए । अन्य वक्ताले बोलिसकेर दाहालले पनि आफ्नो भाषण सकिसक्दा समेत ओली आइपुगेनन् । ओली नआउने ठानेर दाहालले आफ्नो भाषण अन्त्य गर्दै थिए । त्यत्तिकैमा प्रधानमन्त्री ओली आउने सूचना सञ्चालकले दाहाललाई सुनाए र भाषण लम्ब्याउन आग्रह गरे।

दाहालले भने एकपटक भाषण टुंग्याएपछि पुनः निरन्तरता दिन गाह्रो हुने भन्दै नाचगान वा चुटकिला सुनाएर कार्यक्रम लम्ब्याउन सञ्चालकलाई आग्रह गरे । करिब पाँच मिनेटपछि प्रधानमन्त्री ओली आइपुगे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले दाहालको कुरालाई हुबहु दोहोर्याए । ‘म बागबजारमा आउँदै थिएँ, प्रचण्डज्यूले एकपटक भाषण अन्त्य गरिसकेपछि पुनः निरन्तरता दिन कठिन हुन्छ भन्दै चुटकिला सुनाउन आग्रह गर्नुभयो, उहाँको भाषण सकिनेबित्तिकै म पनि आइपुगें,’ ओलीले भने । उनको कुरा सुनेर हल हाँसोले गुन्जियो।

सूचना र प्रविधिको युगमा दाहालको भनाइ ओलीले सुन्नु सामान्य कुरा हो । तर ओलीको भनाइको आशय दाहालको भनाइ सुनेको भन्दा पनि आफू सबैतिरको सूचनामा अद्यावधिक छु भन्ने थियो । प्रधानमन्त्रीको सिटमा बसेको व्यक्तिले को कहाँ के बोलिरहेको छ वा के गरिरहेको छ भन्ने कुरा तत्कालै जानकारीमा राख्नु आफैंमा महत्वपूर्ण विषय हो।यो एउटा प्रतिनिधि घटनामात्र हो । प्रधानमन्त्री हुनुभन्दा पहिले वाम गठबन्धनका उम्मेदवारले निर्वाचनमा सफलता हात पारेको सूचना सबैभन्दा पहिले ओलीले ट्विटरमार्फत सार्वजनिक गर्थे र बधाई पनि दिन्थे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार ओली कहाँ के भइरहेको छ भन्ने थाहा पाउन आफैं सक्रिय हुने गर्छन् । ‘प्रधानमन्त्रीज्यू हरेक क्षण सक्रिय हुने गर्नुहुन्छ । सूचनाको स्रोतलाई राम्रोसँग प्रयोग गर्ने बानीले नै उहाँ हरेक घटना र विषयप्रति जानकार हुनुुहुन्छ,’ अर्यालले भने।

प्रधानमन्त्री ओली नियमित रुपमा मानिसहरुसँग भेटघाट गर्ने, कसले के भनिरहेको छ वा गरिरहेको छ भन्ने कुराको जानकारी राख्ने गर्छन् । सूचनाका लागि उनले मोबाइललगायतका ग्याजेट, सामाजिक सञ्जालदेखि मिडियाको पनि प्रयोग गर्छन् ।

प्रधानमन्त्री ओली नियमित रुपमा मानिसहरुसँग भेटघाट गर्ने, कसले के भनिरहेको छ वा गरिरहेको छ भन्ने कुराको जानकारी राख्ने गर्छन् । सूचनाका लागि उनले मोबाइललगायतका ग्याजेट, सामाजिक सञ्जालदेखि मिडियाको पनि प्रयोग गर्छन् । कसैले प्रधानमन्त्रीका लागि म्यासेज गरेको छ भने पनि उनले सचिवालयको सहयोगमा त्यस्ता म्यासेज हेर्ने तथा प्राप्त भएका सूचनाबारे जानकारी राख्छन् । त्यसबाट प्राप्त हुने उपयुक्त सुझावलाई उनले लिने गर्छन् भने नचाहिने सूचना तथा जानकारी फिल्टर गर्छन् । सूचना उपयोगका विषयमा प्रधानमन्त्री ओली निकै चनाखो छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली सबै संयन्त्रबाट प्राप्त हुने सूचनामा पकड राख्छन् । उनी आफैंले पनि बेलाबेलामा सुनाउँछन्, ‘म सबै किसिमका सूचना लिन्छु तर फिल्टर गरेर आवश्यक पर्नेमात्र राख्छु ।’प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयलाई पनि सूचनामैत्री बनाएका छन् ।

त्यसबाहेक प्रधानमन्त्रीका रुपमा उनले सुरक्षा निकाय, गुप्तचर निकायलगायतबाट पनि सूचना प्राप्त गरिरहेका हुन्छन् । ओलीले आफ्नो सूचना सम्प्रेषण गर्ने संयन्त्रलाई समेत प्रभावकारी र चुस्त बनाएका छन् । त्यसैले उनले पार्टीदेखि सरकारसम्म कहाँ के भइरहेका छन् भनेर जानकारी राख्ने गर्छन् । ‘उहाँ आफैं सक्रिय भएर सूचनामा पकड राख्नुहुन्छ, त्यसैले सबैतिरको जानकारी उहाँसँग हुन्छ,’ अर्यालले भने । ओली सूचना प्राप्त गर्नेमात्र नभएर त्यसको सदुपयोगमा पनि उत्तिकै चलाख छन् । ‘सूचनाको सदुपयोगका हिसाबले पनि उहाँ उत्तिकै चलाख हुनुहुन्छ’, अर्यालले भने।

विषयगत पकड, दक्षता र राजनीतिको लामो अनुभव तथा विगतमा फरकफरक मन्त्रालय सम्हालेको अनुभवले पनि ओलीलाई सूचनामा पहुँच र सदुपयोगमा सहयोग पुगेको अर्याल बताउँछन्।

प्रकाशित: १५ श्रावण २०७५ ००:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App