१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हेनान प्रान्त र चेम्बर अफ कमर्सबीच द्विपक्षीय समझदारी

काठमाडौं– चीनको हेनान प्रान्तीय उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्स इण्डस्ट्री (नेपाल उद्योग वाणिज्य संघ)बीच द्विपक्षीय समझदारी भएको छ। 

हेनान उद्योग वाणिज्य महासंघका अध्यक्ष लियाङ जिङको नेतृत्वमा नेपाल भ्रमणमा आएको ११ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले सोमबार संघका व्यवसायीसंग भेट गरी द्विपक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर समेत गरेको छ। 

उद्योग वाणिज्य संघका महासचिव राष्ट्र भूषण चाकुबजीका अनुसार समझदारी पत्रमा दुबै संस्थाले संयुक्त लगानी प्रवर्द्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदान प्रदान गर्ने उल्लेख छ। व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान मार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइहरुलाई आपसी समझदारीमा समाधान गर्ने समझदारी पनि भएको महासचिव चाकुबजीले बताए। साथै आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागी हुन एक आपसमा सहयोग गर्ने समेत उल्लेख छ।  

सो अवसरमा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चीनबीचको सदियौं पुरानो सुमधुर सम्बन्धको चर्चा गर्दै संघ तथा हेनान प्रान्तबीच विगत वर्षहरुदेखि सूचनाको आदान प्रदान भइरहेको तथा नेपाली व्यापारीहरुले व्यापारिक मेलाहरुमा भाग लिइरहेको बताए। यस भ्रमणबाट व्यापार बृद्धि तथा लगानीका लागि सहज हुने उनको विश्वास छ।

साथै संघ र हेनान प्रान्तवीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, पर्यटन, उद्योग, तयारी पोशाक तथा लगानी बृद्धिमा विस्तार गर्दै जाने बताए। नेपालमा कृषि, खाद्यन्य तथा तयारी पोशाक उद्योग, पर्यटन, बैंकमा संयुक्त लगानीका लागि समेत आह्वान गर्दै उनले नेपालमा लगानी गर्न इच्छुक लगानीकर्तालाई लगानी गर्न आफूहरुले सक्दो सहयोग गर्ने भन्दै आश्वस्त पारे। नेपालमा उत्पादित बस्तुहरु विश्व बजारमा निर्यात गर्दा अतिकम विकसित राष्ट्रको हैसियतले पाउने सुविधा प्राप्त गर्ने हुँदा हेनान प्रान्तका व्यवसायीहरुलाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न अनुरोध गरे।

हेनान प्रान्तीय उद्योग वाणिज्य महासंघका अध्यक्ष लियाङ जिङले हेनान औद्योगिक तथा अत्याधुनिक पर्यटन तथा सांस्कृतिक सहर मात्र नभएर धेरै जनसंख्या भएको प्रान्त तथा यातायात विकास, इकमर्स तथा औषधीजन्य उत्पादनका लागि चीनमा प्रख्यात रहेको जानकारी दिइन। हेनान प्रान्तीय सरकारले आयोजना गरिने अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक मेलामा नेपाली व्यवसायीलाई नेपाली उत्पादन प्रदर्शनका लागि निमन्त्रणा समेत उनले गरिन। उनले हेनान प्रान्तका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने प्रतिबद्धता जनाइन्। 

प्रकाशित: १४ श्रावण २०७५ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App