२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

निर्माण सकिनेबित्तिकै पहिरोको जोखिममा

पहिरोको जोखिममा रहेको खिम्तीस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन। तस्बिर : नागरिक

रामेछाप - लिखु तामाकोसी गाउँपालिका ६ खिम्तीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवन प्रयोगमा नआउँदै पहिरोको जोखिममा परेको छ। केही दिनदेखिको वर्षाका कारण आँगन पहिरोले भत्काएपछि भवन नै जोखिममा परेको हो। भवनआसपासको जमिन चर्किएको र वर्षाका कारण पहिरो बढ्दै गएका कारण भवन जोखिममा परेको प्रहरी चौकी खिम्तीले जानकारी दिएको छ। निर्माणको जिम्मा पाएको कम्पनीले सो भवनको निर्माण कार्य गत असारमा मात्र सम्पन्न गरेको थियो। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रामेछापमार्फत निर्माण भएको सो भवन जिल्लाकै सबैभन्दा ठूला भवन रहेको कार्यालयले जनाएको छ। भवन ३ करोड २९ लाख रुपैयाँ लागतमा बनेको हो।

भवन जोखिममा परेपछि थप क्षति नहोस् भनी माथिल्लो निकायमा विज्ञ माग गरी पत्र पठाइएको सहरी विकास तथा भवन निर्माण विभाग रामेछापले जनाएको छ। सो भवन बनाइएको ठाउँ र आसपासमा जमिन कमजोर छ। वर्षाको समयमा पानी रसाउँछ। स्थानीयले उक्त भवनमात्रै नभई आसपासको बस्ती नै जोखिममा रहेको बताएका छन्।

भवन निर्माण भएको क्षेत्रमा २०७० सालमै पनि पहिरोले असर पु-याएको थियो। त्यसलाई बेवास्ता गर्दै भवन बनाएपछि अहिले फेरि समस्या निम्तिएको हो।

जिल्लाकै मुख्य केन्द्रको रुपमा रहेको खिम्तीमा स्वास्थ्य केन्द्रको उचित भवन नहुँदा स्वास्थ्य उपचारमा समस्या भएपछि सहरी विकास तथा भवन डिभिजन विभागले भवन बनाउन थालेको थियो।

खिम्ती स्वास्थ्य केन्द्रको दुईकोठे भवन भूकम्पले भत्काएपछि केन्द्रले अस्थायी संरचना बनाएर स्वास्थ्यसेवा प्रवाह गर्दै आएको थियो। नयाँ भवन बनेपछि स्वास्थ्य उपचार सेवा सहज होला भनी ठानेकोमा अहिले भवन नै जोखिममा परेपछि स्थानीय निराश भएको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशीखा दाहालले बताइन्। केन्द्रले यही महिनाबाट नयाँ भवनबाट सेवा दिने योजना बनाएको थियो। तर पहिरोेले जोखिम बढाएपछि अब के गर्ने भन्ने अन्योल भएको छ।

सो भवन निर्माण भएको क्षेत्रमा २०७० सालमै पनि पहिरोले असर पु-याएको थियो। त्यसलाई बेवास्ता गर्दै भवन बनाएपछि अहिले फेरि समस्या निम्तिएको हो। ‘उति बेलै पहिरोको प्रभाव परेको थियो तर त्यसलाई रोक्न कतैबाट पनि पहल भएन। त्यही ठाउँमा बनाउने भनियो र बनाइयो। अहिले समस्या देखा परेको छ’, निर्माण कम्पनीका प्रतिनिधि केशव महतले भने। निर्माण कम्पनीले काम सकेपछि भवन सरकारी निकायलाई हस्तान्तरण गरिसकेको छ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक कृष्णप्रसाद शर्माले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रामेछापका प्राविधिकको टोलीले भवनको अवस्थाबारे बुझेर आइसकेको बताए। उनले तत्कालै माथिल्लो निकायमा भवनको सुरक्षाबारे तत्काल पहल गर्न अनुरोध गरिएको बताए। उनले माथिल्लो निकायबाट विज्ञ मगाई अनुसन्धान गर्ने जानकारी पनि दिए।

प्रकाशित: १४ श्रावण २०७५ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App