१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गर्ने तयारी

विश्व बाघ दिवसको अवसरमा चितवनको रत्ननगरमा आइतबार प्रदर्शन गर्दै संरक्षणकर्मी । तस्बिर: नारायण ढुंगाना/रासस

काठमाडौँ- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो बाघ गणनाको अध्ययनको आवश्यक कार्य सम्पन्न गरी बाघको संख्या सार्वजनिक गर्ने तयारी गरेको छ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणना गर्दै आएको छ। गत वर्ष विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले बाघ गणना गरेको थियो।

विभागले गणना कार्यपश्चात् क्यामेरा ट्रयाप डाटालाई कम्प्युटर इन्ट्री, ग्रीडअनुसार तथ्यांक व्यवस्थापन, पुनः नामाकरण, प्रजातिअनुसार तथ्यांक उल्लेख, प्रत्येक बाघको फोटो छुट्याउने, क्यामेरा ट्रयाप तथा लाइनट्रान्सेक्ट विवरण, प्रजाति अवलोकन तथ्यांक, जिपिएस, दूरी, वियरिङ, बासस्थान उपयोग सर्भेलगायत कार्य गरी छिट्टै बाघको पछिल्लो संख्या सार्वजनिक गर्ने जनाएको छ।

विश्व बाघ दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वनमन्त्री शक्तिबहादुर बस्नेतले अब बाघ संरक्षणको आवश्यकता र मुलुकको क्षमताको अवस्थाका बारेमा अनुसन्धान, दृष्टिकोण र योजना तयार गर्नुपर्ने समय आएको बताए।

पारिस्थितिकीय प्रणाली र भौगोलिक क्षमताको सीमा रहेकाले यसमा दृष्टिकोण र योजना तयार गर्नुपर्ने समय आएको उनको भनाइ थियो। उनले भने, “यसमा भावनात्मक होइन, यथार्थवादी भएर सोच्नुपर्दछ, व्यावहारिकता हेर्नुपर्दछ, अनि मात्र यसलाई समृद्धिसँग जोड्न सहज हुनेछ।”

मन्त्री बस्नेतले बाघका संख्या दोब्बर बनाउने र मानव–वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्न सरोकारवाला सबैको सहयोग र सक्रियता आवश्यक रहेकामा जोड थियो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले बाघको संख्या दोब्बर गर्ने प्रतिबद्धता पूरा गर्न बासस्थान संरक्षण, जनचेतना, मानव–वन्यजन्तु द्वन्द्व समाधानलगायत कार्यलाई प्रभावकारीरुपमा अघि बढाउन आवश्यक रहेको बताए।
पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो।

सन् २०१६ को तथ्यांकअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई र नेपालमा बाघको संख्या १९८ रहेको छ। इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बंगलादेश, भारत, भूटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ। विश्वभर बाघको संख्या भने तीन हजार ८९० रहेको छ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले सरकारले बाघ संरक्षणमा विश्वव्यापीरुपमा गरेको प्रतिबद्धताअनुसार नै प्रयास केन्द्रित गरेको बताउँदै संरक्षणका प्रयास एकांकी नभएर समग्रतामा हेर्नुपर्ने धारणा व्यक्त गरे।

पछिल्लो बाघ गणनाको वैज्ञानिक अनुसन्धान केलाउने कार्य भइरहेको बताउँदै उनले यथोचित विश्लेषण गरेर सोहीअनुसार तथ्यांक केलाइसकेपछि उपयुक्त समयमा प्रकाशन गरिने जानकारी गराए।

वन्यजन्तुको संरक्षणसँगै निकुञ्ज वरपरका स्थानीय मानिसका बारेमा पनि सोच्नुपर्ने बताउँदै सचिव डा ओलीले मानव–वन्यजन्तु द्वन्द्व कम गर्नका लागि आवश्यक अनुसन्धानमा लाग्न सरोकारवालालाई आग्रह गरे।

विभागका महानिर्देशक मनबहादुर खड्काले बाघलाई विशेष संरक्षणको सूचीमा राखेर काम अघि बढाएको बताउँदै त्यसैका लागि थप राष्ट्रिय निकुञ्ज घोषणा गरिएको अवगत गराए। शुरुवाती चरणमा बाघको खुट्टाको छापबाट गणना गरिएको बताउँदै उनले हाल आधुनिक क्यामेराको माध्यमबाट बाघ गणना गरिएको जानकारी गराए।

मुलुकमा कति बाघ संरक्षण गर्ने क्षमता छ भन्नका लागि अनुसन्धान गर्न कार्यविधि प्राप्त भएको बताउँदै उनले यसै आर्थिक वर्षभित्र त्यस सम्बन्धमा अध्ययन गरी सक्ने जानकारी गराए। नेपालमा बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर हुने उनको विश्वास छ।

नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको र हाल त्यसको संख्या वृद्धि भएको विभागले जनाएको छ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव गोविन्द गजुरेलले बाघ पारिस्थितिकीय प्रणालीको प्रमुख आधार रहेको बताउँदै बाघ संरक्षणको प्रमुख चुनौती रहेका रुपमा रहेको मानिस र वन्यजन्तुबीचको द्वन्द्वलाई सहअस्त्विमा बदल्नुपर्ने धारणा व्यक्त गरे।

केन्द्रीय सदर चिडियाखानाका निर्देशक डा चिरञ्जीवी पोखरेलले बाघको इकोलोजीसम्बन्धी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराईले बाघ संरक्षणमा विभागले गरेको कार्य र प्रयासका बारेमा प्रस्तुति दिनुभएको थियो।

बाघ संरक्षणका सम्बन्धमा मन्त्रालयले वैज्ञानिक अनुसन्धान, स्थान विशेष वार्षिकरुपमा बाघको अनुगमन, रेडियोकलर, बाघका संकलित नमूनाको विश्लेषण, रोगब्याधीको परीक्षण, नियमितरुपमा बाघको गणना कार्य गर्दै आएको छ।

धेरै क्यामेरा, धेरै डाटा, बाघ, बाघका आहार प्रजातिकोसमेत विश्लेषण गर्नुपर्ने भएकाले तथ्यांक विश्लेषण कार्यले केही समय लिएको विभागको भनाइ छ। साथै भारतसँग सिमाना जोडिएका स्थानमा बाघ दुवैतिर गणनामा पर्न सक्ने हुनाले भारत र नेपालका तथ्यांकसँगै राखेर विश्लेषण गर्दा सही नतिजा आउने बताइएको छ। भीष्मराज ओझा/रासस

 

प्रकाशित: १३ श्रावण २०७५ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App