१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अझै पत्ता लागेन बालिका हत्याका दोषी

बालिका हत्यामा संलग्नलाई कारबाही माग गर्दै शनिबार महेन्न्द्रनगरमा गरिएको विररोध प्रदर्शन। तस्बिर : नागरिक

धनगढी - कञ्चनपुर भिमदत्तपन्त नगरपालिका २ उल्टाखाम महुलिया घर भएकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अझै पत्ता लाग्न सकेको छैन। बलात्कार गरेर हत्या गरिएकी बालिकाको शव शनिबार साँझसम्म परिवारले जिम्मा लिन मानेको छैन।

दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान पीडित परिवारको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले भने बालिकाका आफन्त शव बुझ्न मञ्जुर भइसकेको दाबी गरेका छन्। शव बुझ्न बालिकाका आफन्तले कागजमा हस्ताक्षर गरिसकेकाले शनिबार राति नै वा आइतबार बिहान शव बुझ्ने उनले बताए। उनले भने, ‘बालिकाको शव अहिले अस्पतालको शव गृहमा छ।’

घटना भएको दिन
कक्षा ९ मा पढ्दै गरेकी निर्मला बिहीबार बिहान ११ बजेतिर कापी, कलम बोकेर करिब डेढ किलोमिटर टाढा साथी रोशनी बमको घरमा गइन् । त्यहाँ उनी साढे तीन घण्टाजति बसिन्  साथीको बारीमा रहेको रुखबाट अम्बा टिपिन्। दिउँसो ३ बजेतिर उनी घर फर्किन भनेर त्यहाँबाट हिँडिन्। तर, उनी घर फर्किन भने पाइनन्। साँझसम्म घर नफर्केपछि बालिकाका परिवारले प्रहरी गुहारे।

घटनास्थल उखुबारी र त्यसमाथि करिब एक फिट पानी जमेको स्थान भएकाले खुट्टाको डोब लगायतका केही पनि प्रमाण फेला पर्ने अवस्था नरहेको प्रहरीको भनाइ छ।

तर प्रहरीले रात प-यो भनेर त्यही दिन बालिका खोज्न मानेन । भोलिपल्ट मात्रै खोजी सुरु गरेको पीडित परिवारको गुनासो छ । राति २ बजे खबर आएकाले दोस्रो दिन मात्र खोज्न सकिएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार बालिका हराएको दोस्रो दिन शुक्रबार रोशनीको घरबाट पाँच सय मिटर पर भीमदत्तपन्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा नग्न अवस्थामा निर्मलाको शव फेला प-यो।

घटना अनुसन्धानका लागि केही व्यक्ति नियन्त्रणमा लिइए पनि अहिलेसम्म दोषी पत्ता नलागेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताउँछन्। ‘नियन्त्रणमा लिएका दुई जनामध्ये एक जना मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेछन्,’ उनले भने, ‘अर्को व्यक्तिको संलग्नता देखिएन।’

घटनास्थल उखुबारी र त्यसमाथि करिब एक फिट पानी जमेको भएकाले खुट्टाको डोब लगायतका केही पनि प्रमाण फेला पर्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक सेठीको भनाइ छ। ‘पोस्टमार्टमको रिपोर्ट पर्खिरहेका छौं, त्यो रिपोर्टबाट केही आधार मिल्छ कि?,’ उनले भने । हत्या गरिएकी बालिका निर्मला र उसकी साथी रोशनी दुवैले मोबाइल नबोक्ने भएकाले कल विवरणबाट पनि दोषीसम्म पुग्न नसकिएको उनले बताए।

दोषीलाई कारबाही माग गर्दै दिनभर प्रदर्शन
बालिका बलात्कार र हत्यामा संलग्नलाई कारबाही माग गर्दै शनिबार दिनभर महेन्द्रनगरमा प्रदर्शन भएको छ। नेपाली कांग्रेसका भ्रातृ संगठन, तरुण दल, नेविसंघ र महिला संघको अगुवाइमा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण महेन्द्रनगर शनिबार दिनभर तनावग्रस्त भएको थियो । पटकपटक प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो। तीन दिनसम्म पनि प्रहरीले दोषी पत्ता नलगाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन्।

यसअघि पनि असार २६ गते सामान किन्न अत्तरिया गएकी कञ्चनलपुर कृष्णपुर नगरपालिका ८ शान्तीपुरकी १७ वर्षीया कविता विष्टको सामूहिक बलात्कारपछि हत्या भएको थियो। त्यस ठाउँमा असुरक्षा भएको भन्दै स्थानीय बासिन्दाले प्रहरी पोस्ट राख्न माग गरेका थिए। सोही बीचमा फेरि अर्काे बालिका बलात्कार तथा हत्या भएको स्थानीय बासिन्दा बताउँछन्। ‘प्रहरी पोस्ट राख्ने हाम्रो हातको कुरा होइन, केन्द्रमा कुरा राखेका छौं,’ प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘दोषीलाई कारबाही र जनताको सुरक्षा हुनुपर्छ भन्ने मागलाई हामीले गम्भीर रूपमा लिएर काम गरिरहेका छौं,’ उनले भने।

प्रकाशित: १३ श्रावण २०७५ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App