१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्या पर्यटनको गन्तव्य बन्दै ‘सिमसार क्षेत्र’

लामाडाँडा समुदायिक वनभित्र वातावरण पर्यटकीय केन्द्रको सेतुको रुपमा निर्माण भइरहेको बुद्ध ताल। तस्बिर : मिथिलेश यादव/नागरिक

सिरहा - चुरे फेदको लामाडाँडा सामुदायिक वनभित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘इको टुरिजम’को विकासमा स्थानीय समुदाय लागिपरेका छन्। जिल्ला वन कार्यालय लहानको प्राविधिक र आर्थिक सहयोगमा सुरु भएको सिमसार क्षेत्र संरक्षण कार्यमा स्थानीय तह र प्रदेश सांसदीय विकास कोषको समेत आर्थिक सहयोग जुटेको छ।

लामाडाँडा समुदायिक वनको सिमसार क्षेत्र संरक्षण कार्य अन्तर्गत झाडी सफाइ, ताल जीर्णोद्धार लगायत काम भएको छ। गोलबजार नगरपालिका अन्तर्गत रहेको यो समुदायिक वनभित्र निर्माण भइरहेको पर्यटकीय केन्द्र बुद्ध तालमा नगरपालिका सहित यस क्षेत्रका प्रदेश सांसद रामकुमार यादव र जिल्ला वन कार्यालयको गरी २२ लाख रुपैयाँ लगानी भएको छ। सिमसार क्षेत्र (दह) लाई उकास, आधुनिकीकरण र संरक्षण गरी मोटरबोट सञ्चालनमा ल्याउने योजना अनुसार काम भइरहेको सामुदायीक वन उपभोक्ता समितिले जनाएको छ। यहाँ जलचर, चुरेको रमणीय दृश्य र मनमोहक हरियाली अवलोकन गर्न सकिने गरी काम भइरहेको जिल्ला वन अधिकृत सुनिलकुमार सिंहले बताए। 

प्रदेश २ मा पर्या पर्यटनको विकास गर्न सके स्थानीय र प्रदेशको विकाससँगै वन संरक्षणमा मद्दत पुग्ने सिंह बताउँछन्। सिमसार क्षेत्रलाई दहको रुपमा उकास गरी जल भण्डारण र संरक्षण गरिए उजाड चुरेमा मात्र हरियाली फैलिन्छ। भूमिगत पानीको स्रोत सुक्ने समस्या समेत हट्ने सिंहले बताए।

चुरे नांगिसकेको छ। रुखबिरुवा फँडानीले कोमल चुरेको चट्टान कमजोर बनिसकेको छ। बर्खाको पानीले कमजोर चट्टान बगाएर नदीमा पु-याउँदै छ। ‘चुरेको भंगालोमा पानी जमाएर उपचार सुरु नगरेसम्म भू–स्खलन, मरुभूमीकरण, पानीको स्रोत नासिने, चुरे उजाड र उराठलाग्दो बन्दै जाने समस्या हट्दैन,’ सिंहले भने। चुरे र चुरे फेदका सिमसार क्षेत्रलाई उकास गरेर पानीको सञ्चय गर्ने, दह, ताल, पोखरी निर्माण जति धेरै मात्रामा गर्न सक्यो उति छिटो हरियाली फैलिने उनको भनाइ छ।

हरियाली हराउँदै जाँदा जंगली जनावर, जलचर, पक्षीहरुले वासस्थान परिवर्तन गर्ने समस्या बढ्दैछ। विदेशी र स्वदेशी पर्यटकहरु हरियाली हेर्न लालायित भइरहेको अवस्थामा चुरे र चुरे संरक्षित क्षेत्रमा हरियाली फर्काएर आधुनिक वातवरणीय पर्यटनको विकास गर्न सके वातावरण पर्यटकका लागि यो क्षेत्र आकर्षक गन्तव्य बन्न सक्छ। यसै सोचका साथ चुरे फेदका लामाडाँडा सामुदायिक वन र कोइरालो सामुदायिक वनभित्र ताल र दह संरक्षण गरी आधुनिक वातावरणीय पर्यटकीय स्थल निर्माण सुरु गरिएको सिंहले बताए।

करिब ६० हेक्टरमा फैलिएको लहान–१५ ढोडनास्थित कोइराो समुदायिक वनमध्ये तीन हेक्टर सिमसार क्षेत्रलाई उकास गरी पर्यटकीय गन्तव्य बनाउने कार्य सुरु भएको छ। यस वनमा यसपालि टिक, मसला, मोहगनी, अशोक र आँपका ४८ सय बिरुवा रोपिएको छ। सिमसार क्षेत्र संरक्षणका लागि बाँस र अम्रिसोका बिरुवा समेत रोपिएको छ। वनको करिब पाँच हेक्टर अतिक्रमण समेत यसपालि हटाइएको सिंहले बताए। 

यस वन क्षेत्रलाई वातावरणीय पर्यटनको केन्द्र बनाउन गत आर्थिक वर्षमा करिब २५ लाख रुपैयाँ लगानी भएको वन अधिकृत सिंहले बताए। जिल्ला वनको प्राविधिक र आर्थिक सहयोगमा यस वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ। जसमा सामुदायिक वन पदाधिकारीको भरपुर सहयोग भइरहेको सिंहले बताए। आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि यस वर्ष पनि वन कार्यालयको आर्थिक लगानीमा काम अगाडि बढ्ने उनले बताए। 

लहान–१५ स्थित ढोड्नामै प्रसिद्ध राजदेवी थान (मन्दिर) छ । मन्दिर र वनबीचको दुरी करिब एक किलोमिटर छ। देवस्थल (राजदेवी थान) र वनबीच द्रुत मार्ग बनाएर दुवैलाई जोड्न सके धार्मिक र वातावरणीय पर्यटनको गज्जब फ्युजन बनाउन सकिने यस क्षेत्रका बुद्धिजीवी बताउँछन्। 

तीन हेक्टर जलाशयको सरसफाइ र पर्वद्धन गरी त्यहाँ बोटिङ सुरु गर्ने तयारी छ। सिंहका अनुसार यहाँ बोटिङबाहेक पर्यटकका लागि गर्मी छल्न मौलिक गोलघर, उद्यान तथा पार्क निर्माण गर्ने योजना छ। वडाध्यक्ष तेजनारायण चौधरीले  यो वनलाई पर्यटकीय पूर्वाधार सम्पन्न बनाएर वातावरणीय पर्यटन केन्द्रको रुपमा विकास गर्न भरपुर सहयोग गर्ने बताए । यहाँ धार्मिक र वातावरणीय पर्यटनको केन्द्र बनाउन सकिने प्रचूर सम्भावना छ। उनले योजना सुनाए, ‘यो वनभित्र वातावरणीय पर्टनको पूर्वाधार सम्पन्न भएपछि राजदेवी मन्दिरसँग जोड्छाैं। राजदेवी मन्दिर र यो वन जोड्ने सडक निर्माण गरी ती दुवै पर्यटकीय स्थललाई जोड्छौं।’

धार्मिक र वातावरण पर्यटनलाई गाभ्ने योजना रहेको उनले बताए। प्रत्येक वैशाख पूर्णिमामा ठूलो संख्यामा बलिपूजा हुने राजदेवी मन्दिरमा प्रत्येक शनिबार आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्छ।

‘धार्मिक तथा वातावरणीय पर्यटकीय सम्भावना बोकेका ती दुवै स्थललाई जोड्न सके यहाँको विकासमा प्रशस्त टेवा पुग्ने भएकाले कोइरालो वनलाई पर्यटकीय क्षेत्रमा रुपान्तरण गर्न खोजेका हौं,’ सिंहले भने। चालु आर्थिक वर्षमा कोइरालो समुदायिक र लामाडाँडा समुदायिक वनको सिमसार क्षेत्र (बुद्ध ताल, कोइरालो ताल) मा बोटिङ सञ्चालन गर्ने गरी काम सुरु भएको छ।’

प्रकाशित: १३ श्रावण २०७५ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App