१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

ओेलीको बोली, बन्दुकको गोली

एसियाको तेस्रो ठूलो पार्टी नेकपाका श्रद्धेय अध्यक्ष तथा दुईतिहाइ बहुमतका सम्माननीय प्रधानमन्त्री केपी ओलीको बोली बन्दूकको गोली जस्तै नफर्कने खालको हुनुपर्छ। विचार पु-याएरमात्र बोल्दा त्यसको महत्व पदीय दायित्वअनुसारको हुन्छ। देशको शक्तिशाली सरकारका प्रधानमन्त्रीको बोलीले सकारात्मक वा नकारात्मक दूरगामी प्रभाव पर्छ । हजारौँ वीर, वीराङ्गनाको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप राज्ययन्त्रको उपरी संरचनामा गुणात्मक परिवर्तन आएको छ । र, संघीय लोकतान्त्रिक गणतन्त्र संविधानतः संस्थागत भएको छ । इतिहासमा पहिलोपटक अग्रगामी वामशक्तिको सरकार बनेको छ । लामो जेल जीवन, कठोर संघर्षको राप र तापबाट खारिएका नेता ओलीको नेतृत्वमा सरकार बनेको छ । यो महान् ऐतिहासिक परिघटना हो । यस्ता नेताको बोली र व्यवहार हल्का भयो भने देश र जनताका लागि प्रत्युत्पादक हुन सक्छ। 

सरकारले जुन नीति, कार्यक्रम र बजेट प्रस्तुत ग-यो,जनताले गरेका आशा÷अपेक्षाअनुरूप भएन। परम्पराको निन्तरता भयो । खास गुणात्मक क्रमभङ्गता र छलाङ भएन । आर्थिक क्रान्ति र समद्धिको नारा उचालिएको छ तर त्यसको गन्तव्य अन्धकारमा तीर हानेजस्तो छ । संघीय, प्रादेशिक र स्थानीय तीनवटै तहमा सरकार गठन भइसकेको छ तर जनतामा परिवर्तनको अनुभूति हुन सकेको छैन । तुइनको, रेल, पानीजहाजको कुरा र तिनको कार्यान्वयन आकाशको फल भयो भने बोली बेकार हुन्छ । दुई छिमेकी शक्तिशाली देशका बीचमा अवस्थित नेपाललाई दुई ढुंगाको तरुल हैन, गतिशील पुलका रूपमा विकास गर्न कूटनीतिक सन्तुलन कायम गरी मुलुकको स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डता कायम गर्ने सवालमा ओली सरकार मिलको पत्थर (माइल स्टोन) बनेको छ । त्यस्तै मुलुकको आर्थिक विकास र समृद्धिमा जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी काम गर्नुपर्ने चुनौती छ । चुनौती सामना गर्न प्रथमतः पार्टी सुदृढ हुनुपर्छ । प्रतिपक्षलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्छ । प्रतिपक्षले सर्वसत्तावाद र अधिनायकवादको रटान लगाएको छ । उसलाई यस्तो आरोप लगाउनेखालको काम गर्न हुन्न । देशको मौजुदा संविधान सहमतिबाट बनेको हो । त्यसको अधीनमा चलेको सरकार अधिनायकवादी कसरी हुन सक्छ ? प्रतिपक्षको आरोप निराधार छ । तर पनि जानेर वा नजानेर आरोप लगाउने चर किमार्थ दिन हुन्न । लोकतन्त्रकालागि सबैभन्दा बढी त्याग र बलिदान गरेको पार्टी र त्यसको सरकार अधिनायकवादी हुनै सक्दैन । त्यस्तो कतै भए सच्याउनुपर्छ। 

देशको मौजुदा संविधान सहमतिबाट बनेको हो। त्यसको अधीनमा चलेको सरकार अधिनायकवादी कसरी हुन सक्छ? त्यसैले प्रतिपक्षको आरोप निराधार छ।

विकास र विनाशको मुख्य कारण आन्तरिक हुन्छ । आन्तरिक गडबडी भएपछि बाहिरी छिद्रान्वेषीहरूखेल्न थाल्छन् । अतः पार्टीको आन्तरिक जीवन एकताबद्ध, स्वस्थ, सुदृढ र सक्रिय हुनुपर्छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको छ । यो एकता दुई नदी मिल्दा पानीको रङ्ग एउटै भएजस्तै हुनुपर्छ र अन्य वामघटकलाई पनि एकतामा समाहित गर्न प्रयत्न गर्नुपर्छ। पहिलो कुरा पार्टीलाई खँदिलो बनाउन नेता÷कार्यकर्ता विचारधारात्मकरूपमा दीक्षित÷प्रशिक्षित हुनुपर्छ । अहिले माक्र्सवादी साहित्य अध्ययनमा खडेरी लागेको छ । गहन अध्ययनबिना वर्तमान चुनौती कसरी सामना हुन्छ ? पार्टीभित्र आत्मकेन्द्रित प्रवृृत्तिको विकास भएको छ । गुटगत रोग फैलँदै गएको छ । आर्थिक लोभ÷लालचका लागि जे पनि गर्ने मनोरोगले पार्टीलाई गलस्त पारेको छ । वास्तविकताभन्दा बाहिरी आडम्बर व्याप्त छ । सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, जनवाद र केन्द्रीयताको लेनिनवादी सिद्धान्त भुत्ते भएको छ । यसलाई सच्याइएन भने भविष्यमा विनाशको मुख्य आन्तरिक कारण यही हुनेछ । नातावाद, चाकरीवाद, फरियावादमूर्दावाद,योग्यता क्षमता, त्याग बलिदान र योगदानवाद जिन्दावाद भएन भने सगरमाथा शिखरमा चढ्न जति समय लाग्छ, त्यहाँबाट खस्न कत्तिपनि समय लाग्दैन। 

पार्टी एकीकरणको नारा र संयुक्त चुनावी घोषणापत्रको प्रभावले जनतामा उत्साह र उमङ्गको नयाँ तरङ्ग पैदा गराएको थियो । एउटै चुनाव चिह्न सूर्य बनाएको भए एमाले माओवादी केन्द्रकै दुईतिहाइ बहुमत आउँथ्यो । फेरि पनि पचास प्रतिशतभन्दा बढी जनमत प्राप्त भएको छ । यो महान् उपलब्धि हो । यस उपलब्धिले छिमेकी देशमा समेत बेग्लै प्रभाव पारेको छ । तर एकीकरणपछि जुन रफ्तारमा प्रादेशिक, जिल्ला र स्थानीय तहमा तथा जनवर्गीय संगठनहरूमा एकीकरण अभियान सञ्चालन गर्नुपथ्र्यो,अन्तरिम विधान र नियमावलीको अभावमा अन्योल छायो । ढिलै भए पनि विधान नियमावली बनेको छ र एकीकरणको प्रक्रिया अगाडि बढेको छ । अब माधव गुट, ओली गुट, खनाल गुट, प्रचण्ड गुट, नारायणकाजीगुट हैन,योगदान, क्षमता, इतिहास र बलदानको वस्तुगत मूल्याङ्कन गरेर जिम्मेवारी दिने काम गर्नुपर्छ। 

जहाँतक विचार र सिद्धान्तको कुरा छ, अहिले जबज र एशज नभनेर जनताको जनवाद भनिएको छ । माक्र्सवाद लेनिनवाद भनिएको छ । यो कुनै नेताको खल्तीबाट झिक्ने कुरा हैन, राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरेर विज्ञ समूह र आमकार्यकर्ताबीच व्यापक छलफल÷बहसपछि मात्रै एकता महाधिवेशनले पारित गर्ने विषय हो । जतिबेला ७४ वर्षको सोभियत समाजवादी सत्ता पतन भयो, पूर्वी युरोपको कम्युनिस्ट सत्ता समाप्त भयो, त्यतिबेला मदनभण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद आएको हो । बहदलीयता शासन प्रणाली हो । जनवाद राज्य यन्त्र हो । एशज पनि त्यसैलाई पछ्याएर आएको विचार हो । यस विषयमा व्यापक बहस गहन अध्ययन गरी निचोड निकाल्नुपर्छ । विचार सिद्धान्त पार्टीको आत्मा (गुदी)हो । सही विचार सिद्धान्तको जगमा पार्टीको घर टिकेको हुन्छ । विचार सिद्धान्तलाई आर्थिक सांस्कृतिक जीवनमा उतार्ने नेता÷कार्यकर्ताले नै हो । नेता÷कार्यकर्ता इमान्दार, पारदर्शी, सक्रिय र लगनशील भएनन् भने विचार सिद्धान्त सही भए पनि त्यो कागजको खोस्टोमात्र हुन्छ । पार्टीले अङ्गीकार गरेको जनताकोजनवाद माक्र्सवाद लेनिनवाद सारतः जनताको बहुदलीय जनवाद नै हो । तर त्यसलाई जनताको आर्थिक र सांस्कृतिक जीवनमा अनुवाद गर्न सकिएन भने कालान्तरमा पार्टीको जीवनमा धमिरो लाग्न सक्छ। 

पाँच वर्षका लागि कसैले टसकोमस गराउन नसक्ने दुईतिहाइबहुमतको स्थिर र शक्तिशाली वामपन्थीको सरकार बनेको छ । सामाजिक, आर्थिक र सांस्कृतिक क्रान्ति सम्पन्न गरी मुलुकलाई उन्नतिको शिखरमा पु¥याउने सुनौलो मौका प्राप्त भएको छ । यस स्वर्णिम अवसर खेर जान नदिन नेकपा र यसको सरकार गम्भीर हुनुपर्छ । बोलीले सपार्छ, बोलीले नै बिगार्छ । बिगार्नेखालको बोली नेताले बोल्नुहुन्न । समृद्धि र सुखी नेपालीको बोलीलाई व्यवहारमा उतार्न कुरा हैन, काम गरेर देखाउनुपर्छ। 

सुन्तलाको फलेको हाँगोनिहुरेको हुन्छ । दुईतिहाइबहुमतको सरकार र ५० प्रतिशतभन्दा बढी जनमत हासिल गरेको पार्टी फलेको सुन्तलाको हाँगोजस्तै नुघ्नुपर्छ । शासक हैन, सेवक बनेर देश र जनताको सेवामा समर्पित हुनुपर्छ । अहङ्कार परम शत्रु हो । बहुमतको दम्भ पैदा भयो भने त्यसले घुम्ने मेचको मान्छेलाई अन्धो बनाइदिन्छ । अन्धो धृतराष्ट्रको क्रोध, प्रतिशोध र अहङ्कारले महाभारतको युद्धको त्रासदी ल्याएको थियो । आँखा, कान, मन रमस्तिष्कको सन्तुलन हुनु आवश्यक छ । जनताले १०४ वर्षे राणा शासन, ३० वर्षे राजाको शासन, २०४६ देखि २०६४ सालसम्म संवैधानिक राजतन्त्रात्मक बहुदलीय प्रजातान्त्रिक शासन र त्यसमा अधिकांश नेपाली कांग्रेसको शासन र राजा ज्ञानेन्द्रको क्रूर तानाशाही शासन भोगेका छन्। 

जनताले राणा शासनविरुद्ध,पञ्चायती राजतन्त्रात्मक केन्द्रीकृत र एकात्मक शासनविरुद्ध र पछिल्लो कालमा जनयुद्ध र जनआन्दोलनको माध्यमबाट राजतन्त्रविरुद्ध बलिदानीपूर्ण संघर्ष गरेर हजारौँ योद्धाको बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्र आयो । अहिले वामपन्थीको सरकार बनेको छ । अब जनता यसको अग्निपरीक्षा गर्दैछन् । सिद्धान्त खाएर भोकोपेट भरिँदैन, नाङ्गो आङ ढाकिँदैन । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य मौलिक हक, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रियता जनताका चाहना हुन् । रोजगारीका लागि विदेश पलायन हुनुपर्ने अवस्थाबाट मुक्त हुने, देश कृषि र औद्योगिक क्रान्तिको दिशातिर अगाडि बढ्ने, यसका लागि जलस्रोत, वन, पर्यटन, खानीलगायत नेपालको प्राकृतिक स्रोत साधन सदुपयोगगरी समृद्धि रसुखी नेपाली बनाउनेकाममा वर्तमान ५ वर्षे स्थिर सरकार सफल हुन्छ कि हुन्न भन्ने अग्निपरीक्षा जनताले गरिरहेका छन्।

इतिहासमा पहिलोपटक वामपन्थीको बहुमतको शासन जनताले भोगिरहेका छन् । यो पनि परम्पराको निरन्तरता भयो, कुनै क्रमभङ्ग र छलाङ भएनभने जनताले फेरि यसको पनि विकल्प खोज्न सक्छन् । त्यसैले बोलेको कुरा हावामा उड्ने र राम्रो काम नहुने हो भने यो पनि ‘माछो माछो, भ्यागुत्तो’ हुन सक्छ । त्यसैले शक्तिशाली पार्टीका आदरणीय अध्यक्ष तथा शक्तिशाली स्थिर सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको बोली खेर नजाओस् । बन्दूकको गोलीजस्तै नफर्कने होस् । यही हार्दिक शुभकामना।

प्रकाशित: १३ श्रावण २०७५ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App