१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिकित्सा क्षेत्र व्यापार बन्न पुगेको छ : उपप्रधानमन्त्री यादव

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालले जनतामा पु-याएको योगदानको प्रशंसा गर्दै सेवा दिने डाक्टर र कमचारीहरूलाई आफ्नो दायित्व अझै बढेको महशुस गरी सेवा दिन आग्रह गरेका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १२९औँ वार्षिक उत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा मन्त्री यादवले सिनियर डाक्टरहरूले अझ समय दिई राम्रो उपचार दिनुपर्ने बताए। ‘सिनियर डाक्टरहरूले राम्ररी सेवा सञ्चालन गरे भने जनताले व्यापक सेवा पाउन सक्छन्’, उनले भने, ‘अहिले चिकित्सा क्षेत्र भनेको सेवाको क्षेत्र हो। तर अहिलेको अवस्थामा चिकित्सा क्षेत्र व्यापार बन्न पुगेको छ।’

नेपालका सामान्य जनताले सबै खालका उपचार पाउन सके भने त्यो ठूलो सार्थकता र उपलब्धी हुने उनको भनाई छ। स्वास्थ्य सेवालाई सेवाका रुपमा अगाडि बढाउनुपर्ने यादवले बताए।

‘उपचार गर्न आउने बिरामीहरूले वीर अस्पतालका डाक्टरहरूसँग ठूलो अपेक्षा लिएका हुन्छन्’, उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले भने, ‘डाक्टर भनेको नै सेवासँग जोडिएको पेशा हो । डाक्टरले अस्पतालमा जिम्मेवारीका साथ सेवा दिनुपर्छ ।’

देशको कुना कन्दराका अस्पतालमा पनि सेवा दिनुपर्ने भन्दै स्वास्थ्य सेवामा स्प्रीट हुनुपर्ने मन्त्री यादवको भनाइ थियो। ‘सबै डाक्टरहरूले देशको कुनै पनि ठाउँमा सेवा दिनुपर्छ र त्यसको लागि वीर अस्पतालले अग्रसरता लिनुपर्छ’, उनले भने, ‘वीर अस्पताल देशकै १ नं. अस्पतालको रुपमा अगाडि बढाउनुपर्छ। यसले गर्दा जनतालाई सिंगापुर, मेदान्त, इण्डिाया वा अन्य देशमा जानु नपरोस्।’ विदेशमा उपचार गराउन जाने परम्परा रोक्न सकियो र बिरामीलाई विश्वास दिलाउन सकियो भने त्यो नै सबैभन्दा ठूलो उपलब्धि हुने उनको भनाइ छ।

डा. मिर्गेन्द्रराज पाण्डेले वीर अस्पतालमा पु-याएको योगदानको पनि मन्त्री यादवले प्रशंसा गरे। ‘जसले वीर अस्पताल बाहेक उपचार गर्न कुनै ठाउँमा जानु भएन। उहाँ सम्मानको पात्र हुनुहुन्छ’, यादवले भने।
मन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने बताए। उनले क्वालिटीको स्वास्थ्य शिक्षाका साथै क्वालिटीको स्वास्थ्य सेवा अगाडि बढाउनुपर्ने दायित्व रहेको पनि उल्लेख गरे।

वीर अस्पताल नेपालको पुरानो अस्पताल मात्र नभई ‘लिडिङ’ अस्पतालका रुपमा रहेको यादवले बताए। ‘वीर अस्पतालले उपचार मात्रै होइन कि कैयौं चिकित्सक उत्पादन गरी मुलुकलाई उदाहारणको रुपमा स्थापित भएको छ’, उनले भने, ‘चिकित्सा शिक्षा परियोजना अगाडि बढाउने निर्णय भई सकेको छ। सबै खाले उपचारको लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको अस्पतालमध्येमा वीर एक हो’, उनले भने, ‘जुन बेला यो अस्पताल निर्माण भएको थियो त्यस बेला अहिलेको अवस्थामा वीर अस्पताल आउँछ भन्ने परिकल्पना कसैले गरेका थिएनन्। त्यो परिकल्पनाभन्दा बाहिरको सोँच थियो।’

१२९ वर्ष अगाडि श्री ३ महाराज वीर शम्शेर राणाद्वारा स्थापित नेपालको पहिलो अस्पतालले आफूलाई नेतृत्वदायी रुपमा स्थापित गरेको भन्दै स्वास्थ्यमन्त्री यादवले खुसी व्यक्त गरे। वीर अस्पतालले १२९ वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ। वीर अस्पतालको स्वास्थ्य सेवामा सेवा प्रदान गर्ने चिकित्सक र सबै कर्मचारीहरूलाई पनि मन्त्री यादवले बधाइ र धन्यवाद दिएका थिए।

प्रकाशित: १२ श्रावण २०७५ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App