१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कृषि तालिमले किसान उत्साहित

तालिमका सहभागी भएका किसानहरू । तस्बिरः नागरिक

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का धनवीर तामाङले परम्परागत रुपमा तरकारी खेती गर्दै आएका थिए।

कुन तरकारी कुन मौसममा र कसरी लगाउने सामान्य ज्ञान समेत नभएका उनलाई गोलभेडा उत्पादन एवं तरकारी खेती  विषयक ७ दिने सिप विकास तालिमले आधुनिक तरकारी खेती प्रणालीमा लाग्न हौसला दिएको छ। गर्न सके तरकारी खेतीबाटै राम्रो आम्दानी हुने रहेछ भन्नेमा उनी ढुक्क भएका छन्।

“लहरे तरकारी छ्यास्स लगायो,थाक्रो दियो, सप्रियो भने मख्ख पर्यो राम्रो फल्छ भनेर। बोट नसप्रे मल पुगेन भन्यो जती भाको रासायनिक मल हाल्यो।” गर्दै आएको तरकारी खेतीलाई सम्झदै तामाङ भन्छन्, “मान्छेलाई त घामले पोल्छ, पानीले जाडो हुन्छ। लगाइएको बालीलाई नी त्यहि रहेछ। टनेल निर्माण गरेर तरकारी लगाउन सके त घाँमपानीबाट जोगाउन सकिदो रहेछ। केही हदसम्म उत्पादनमा वृद्धि हुँदो रहेछ।”

किसानहरूलाई व्यवसायिक तरकारी खेतीमा लाग्न प्रेरणा दिने उदेश्यले शिक्षा विकास तथा समन्वय इकार्ई नुवाकोटको सहयोगमा सचेतना सामुदायिक सिकाई केन्द्रले तालिम आयोजना गरेको थियो। निर्वाहमुखी खेती प्रणालीले लगानी धेरै गरेर प्रतिफल थोरै आउदा काम गर्न मनै मरेर आइसकेको अवस्थामा फेरी आफ्नै परिवारको लागि भए पनि तरकारी किनेर खाने अवस्था नआओस् भनेर खेती गर्न हौसला थपिएको बताउछिन् विदुर नगरपालिका वडा नम्बर ९ लामाटारकी  धनकुमारी रिजाल।

“छोराछोरी आफ्नो राम्रो, खेतीबाली अरुको राम्रो भन्ने त बानी नै हो। अरुको जस्तै राम्रो बनाउछु भनेर  खेती त गरिन्छ नै तर रोग लाग्छ। प्राविधिकसँग सल्लाह नगरी विषादी हाल्छौँ। छिटो रोग निको होस् भनेर जति भएको विषादी प्रयोग गछौँ। विषादीयुक्त तरकारीले हाम्रो स्वास्थ्यमा असर पुर्याउछ भन्नेमा त ज्ञानै थिएन,” रिजाल भन्छिन्, “अर्गानिक तरकारी खेतीमा त सबैको मन जान छाडिसक्यो। तरकारीमा रोग लाग्दा गाईबस्तुको पिसाब, साबुनको गाज प्रयोग गरेमा पनि हुन्छ भन्ने जानकारी हुँदा नी प्रयोग गर्दैनौँ। अब भने स्थानीय श्रोत र साधन प्रयोग गरेर तरकारी खेती गछौँ।” 

माग अनुसारको तरकारी उत्पादन नहुँदा उपभोक्ताले रोजेको तरकारी ताजै उपभोग गर्नसक्ने अवस्था छैन। बजारमा एक डोको तरकारी ल्यायो भने लुछाचुडी हुने गरेको किसानहरू बताउछन्। विदुर नगरपालिका वडा नम्बर १३ का जगन्नाथ नेपालले रहरमा तरकारी खाने डल्ले खुर्सानी लगाएको र राम्रो बजार पाएको बताउछन्। “बजारमा जस्तो गाउँघरतिर तरकारी किनेर खानु पर्ने अवस्था छैन।

आफ्नो परिवारलाई पुग्ने विभिन्न थरिका तरकारी आफ्नै बारीमा उत्पादन गर्छन्। परिवारले मात्र खाएर नसक्ने तरकारी फलाउने किसानहरू पनि छन् तर लाज लाग्छ बेच्नलाई भनेर बजारसम्म पुर्याइरहेका छैनन्,” नेपालले भने, “थोरैथोरै तरकारी बजार पुर्याउन सके आम्दानी हुने ठाउँ छ।  बिस्तारै व्यवसायिक बन्न सकिन्छ। त्यसको लागि तालिमको आवश्यक रहेछ। मलाई यो ७ दिनको तालिमले तरकारी खेतीमानै भविष्य देखाइदिएको छ।” 

तालिममा जिल्ला भरका महिला ७७ र पुरुष १६ जना गरी जम्मा ९३ जना किसानहरुको सहभागिता रहेको थियो। श्रावण ५ देखि ११ गतेसम्म सञ्चालन भएको तालिममा कृषि विकास कार्यालय नुवाकोटका योजना अधिकृत कृष्णप्रसाद उपाध्याय, बागबानी अधिकृत छबिलाल शर्मा लगायतले तरकारीको वीउ उत्पादन, तरकारी लगाउदा माटोको छनोट, मौसम अनुसार उत्पादन दिने तरकारी, रोग लाग्दा गरिने उपचार, विषादी प्रयोग गर्ने तरिका, बजार व्यवस्थापन लगायतको विषयमा जानकारी दिएका थिए।  

प्रकाशित: १२ श्रावण २०७५ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App