१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कैलालीमा ९९८ मुद्दा फछ्र्यौट

धनगढी – कैलाली जिल्ला अदालतमा आर्थिक वर्ष २०७४–७५ मा ९९८ मुद्दा फछ्र्यौट गरिएको छ। 

अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका समेत आव २०७४–७५ मा १ हजार ७७६ मुद्दा परेका थिए। शुक्रबार जिल्ला अदालतमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रममा दिइएको जानकारीअनुसार फछ्र्यौटमध्ये सबैभन्दा बढी ६ महीनाभित्रका ५०८ र सबैभन्दा कम दुई वर्ष नाघेका ४५ मुद्दा छन्। 

जिल्ला अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका ५८६ थान मुद्दाबाहेक एक हजार १९० नयाँ मुद्दा दर्ता भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। फछ्र्यौट हुन बाँकी ७७८ मुद्दा छन्। 

अदालतमा सम्बन्धबिच्छेद, लागूऔषधजस्ता मुद्दाको संख्या बढ्दै गएको जनाइएको छ। जिल्ला न्यायाधीश विष्णुप्रसाद अर्यालले मुद्दाको बढ्दो चाप, दरबन्दीअनुसारका न्यायाधीश कार्यरत नहुनु र गत वर्ष निर्वाचनमा खटिनुपरेका जस्ता कारण मुद्दा फछ्र्यौटमा लक्ष्यअनुसारको प्रगति हुन नसकेको बताए। 

अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले परिवारिक बेमेल, घर छाडेर वैदेशिक रोजगारीमा जानु, प्रेम बस्नु, कम उमेरमै विवाह गर्नु, घरेलु हिंसा, महत्वाकांक्षा बढ्नुजस्ता कारणले पछि गएर सम्बन्धबिच्छेदका घटना हुने गरेको पाइएको बताए। 

आव २०७४–७५ सम्म सम्बन्धबिच्छेदका २५३ थान मुद्दा पुगेकामा १८१ थान मुद्दा फछ्र्यौट भएको छ। यस्तै लागूऔषधसम्बन्धी ७३ मुद्दा परेकामा ५३ मुद्दाको फछ्र्यौट गरिएको छ। तहसिलदार नवराज जोशीले फौजदारी मुद्दाको फैसला कार्यान्वयनमा समाजले चासो नदिँदा अपेक्षाकृत उपलब्धि हुन नसकिरहेको बताए।

प्रदेश नं ७ का अन्य अदालतको तुलनामा कैलालीमा मुद्दाको चाप सबैभन्दा बढी रहने गरेको छ। अदालतमा सबैभन्दा बढी व्यक्तिवादी देवानीसम्बन्धी मुद्दा पर्ने गरेका छन्।   (रासस)

प्रकाशित: १२ श्रावण २०७५ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App