१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सेभेन समिटर बन्ने लक्ष्य

‘म कहिले ती चुचुरामा पुग्ने होला ?’ हिमालका चुचुराहरू देख्दा सानो बेलामा आङ्कामी शेर्पालाई मनमा यस्तै प्रश्न उठ्थ्यो । गाउँका अग्रजहरू हिमाल चढ्न जान्थे । फलानोले हिमाल चढ्यो रे भनेर समाचार फैलिन्थ्यो । सोलुखुम्बु, गुदेलका आङकामी मनमनै सोच्थे, ‘एक दिन म पनि हिमालमा पाइला टेक्नेछु।’

बाल्यकालको त्यही रहरले आङकामी अहिले सेभेन समिटको यात्रामा छन् । ६ पटक सगरमाथाको आरोहण गरिसकेका आङकामी यतिबेला अमेरिकाको डेनाली चढ्ने तयारीमा छन् । डेनालीको आरोहणपछि भने फरक महादेशका तीन हिमाल चढेर सेभेन समिटर बन्ने उनको लक्ष्य छ। 

बाल्यकालको रहरले आङकामी शेर्पा अहिले सेभेन समिटको यात्रामा छन्। ६ पटक सगरमाथाको आरोहण गरिसकेका आङकामी यतिबेला अमेरिकाको डेनाली चढ्ने तयारीमा छन्। डेनालीको आरोहणपछि भने फरक महादेशका तीन हिमाल चढेर सेभेन समिटर बन्ने उनको लक्ष्य छ।

‘हिमाल चढ्ने काम नशा जस्तो हुँदो रहेछ,’ आङकामीले भने, ‘एक पटक चढेपछि चढिरहन मन लाग्ने, एउटा चढेपछि अर्को चढ्न पाए हुने भइजाने । यही नशाले गर्दा नै सात महादेशका सात अग्ला हिमाल चढेर सेभेन समिटर बन्ने संकल्पमा पुगेको छु।’

आङकामीले छ पटक सगरमाथा आरोहण गरिसके । लोत्से र मनास्लु हिमाल पनि एक–एक पटक आरोहण गरिसकेका छन् । नेपालका दर्जनौ पीक समेत आरोहण गरेका आङकामीले अर्जेटिनाको माउन्ट अकोन्गाउ, इन्डोनेसियाको माउन्ट कटेन्ज पिरामिड र साउथ अमेरिकालगायत हिमाल आरोहण गरिसकेका छन्। 

रहरले आरोहण पेसामा आएका आङकामी अहिले माउन्टेन गाइड बनेर काम गरिरहेका छन् । आङकामीका बुबा छेत्तर शेर्पा टे«किङ पेसामा आवद्ध थिए । सुरुमा बुबाकै पेसालाई पछ्याउँदै आङकामी पनि ट्रेकिङ गर्न थाले । आङकामीले सुरुका दिनमा भरियाबाट पर्यटन क्षेत्रमा आफ्नो करिअर सुरु गरेका हुन्।

भरियाकै रूपमा आङकामी एक पटक कालोपत्थर ट्रेकिङ पुगेका थिए । कालापत्थरबाट सगरमाथा नजिकै देखियो । आङकामीलाई लाग्यो, ‘सगरमाथा त त्यहीँ रहेछ, चाह्यो भने चढ्न सकिने रहेछ ।’ उनले अठोट गरे, ‘जसरी हुन्छ, म सगरमाथाको आरोहण गरेरै छोड्छु।’

सन् २००२ मा ट्रेकिङ पेसामा प्रवेश गर्दा आङकामी १८ वर्षका थिए । त्यही बेला सगरमाथा चढ्ने सपना देखेपछि सन् २००३ मा नेपाल पर्वतारोहण संघबाट आयोजना हुने बेसिक माउन्टेनेरिङ तालिम लिए । यही सिलसिलामा ६४ सय ७६ मिटर अग्लो मेरा पिकको आरोहण गरेपछि भने सगरमाथा चढ्ने साहसको चुली बन्यो आङकामीको। 

आङकामीले पहिलो पटक सन् २००४ मा तिब्बतर्फबाट सगरमाथाको चुचुरोमा पाइला टेके । त्यसपछि भने उनी वर्षेनी विदेशीलाई लिएर सगरमाथा पुगिरहन्छन् । सगरमाथा मात्रै नभएर अन्य हिमालका चुचुरोमा समेत विदेशीलाई पु-याउन उनी तल्लीन छन् । आङकामी गुदेल गाउँबाट सबैभन्दा कम उमेरमा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीको रूपमा परिचित छन् । उनले ६ पटक सगरमाथाको आरोहण गरेका छन्। 

हिमाल आरोहण मात्रै नभएर आङ्कामी सामाजिक कार्यमा पनि उतिकै सक्रिय देखिन्छन् । जन्म गाउँ सोलुखुम्बु गुदेलमा शिक्षाको पहुँच नहुँदा शिक्षा लिन नपाएको स्मरण गर्दै आङकामीले गाउँमा शिक्षाको विकास गर्न विशेष योगदान दिएका छन्।

गाउँको विकासमा जुट्नको लागि आङकामीकै पहलमा काठमाडौंमा बस्ने शेर्पाहरूलाई भेला गरेर गुदेल शेर्पा किदुगको स्थापना गरेका छन् । यही संस्थामार्फत गुदेलको विकासमा योगदान दिइरहेका छन् । किदुगले गाउँको विकास मात्रै होइन, हिमालमा कामको सिलसिलामा ज्यान गुमाउने परिवारलाई पनि सहयोग गर्दै आएको छ।

यसैगरी सन् २०१५ मा आएको भूकम्प बेला पनि आङकामीले महत्वपूर्ण योगदान पु-याएका थिए। मनास्लु हिमालको आरोहणमा रहेका बेला आएको भूकम्पले मनास्लुमा धेरै स्वदेशी तथा विदेशी आरोही हिमपहिरोमा परे । हिमपहिरोमा परेका धेरै आरोहीको उद्धार गरी ज्यान बचाउनेमा आङकामी अगाडि देखिए । ‘रेस्क्यु सम्बन्धी तालिम लिएको थिएँ,’ उनले भने, ‘सोही अनुभवले गर्दा मैले आरोहीको उद्धार गरेर ज्यान बचाउन सकेँ ।’ आरोहीको उद्धारपछि गाउँ फर्केर आङकामी भूकम्प पीडितको घाउमा मल्हम लगाउन समेत सक्रिय रहे । ‘गाउँमा भूकम्पले धेरै क्षति पु¥याएको थियो,’ उनले भने, ‘विदेशी साथीहरूसँग सहयोग मागेर सुरुमा राहत वितरणको काम गरियो । त्यसपछि गाउँमा विपन्न वर्गको घर बनाउन समेत लागियो ।’ गाउँमा दर्जन बढी भूकम्पपीडितको घर बनाएको उनले बताए।

यस्तो विशेष अवसरमा मात्रै होइन, आङकामी अफ्ठेरोमा परेकालाई पनि सक्दो सहयोग गर्दै आएका छन् । गाउँबाट बिरामी परेर आउने होस् वा आर्थिक विपन्नताले पढ्न नसकेका विद्यार्थीलाई पढाउने व्यवस्था समेत गर्छन्।

प्रकाशित: १२ श्रावण २०७५ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App