१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा इबोला भाइरसको जोखिम कायमै

नियन्त्रणमा आइसकेको भनिएको इबोला भाइरसको संक्रमण केही दिनअघि मात्र कंगोको एमवान्डाका सहरमा फैलिएपछि यसको जोखिम नेपालमा पनि रहेको आशंका चिकित्सकले गरेका छन्। गत मंगलबारसम्म नौ जनामा यो भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। तीमध्ये दुई जनामा संक्रमण फैलिने क्रममै छ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा पसिना, यौन सम्बन्ध, वान्ता, स्तनपान, पिसाबका माध्यमबाट इबोला नामक भाइरस सर्ने गर्छ। सुरुमा संक्रमित बाँदर र चमेरोबाट अर्को  मानिसमा यो भाइरस सरेको थियो। 

राजाधानीस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुनले भने, ‘यसको जोखिमबाट नेपाल अछुतो हुन सक्दैन’। कंगोमा नेपाली सेनाको आवतजावत पहिलादेखि नै जारी छ। पछिल्लो समय रोजगारीका क्रममा सर्वसाधरण पनि त्यहाँ जाने आउने क्रम बढेकाले इबोला भाइरसको जोखिम रहेको डा. पुन बताउँछन्। 

नेपालमा अहिलेसम्म इबोला संक्रमण भइसकेको नभए पनि विभिन्न देशमा आवतजावतकै कारण कुनै पनि बेला यहाँ पनि संक्रमण हुन सक्ने खतरा रहेको चिकित्सक बताउँछन्। 

उनका अनुसार हवाइजहाजबाट एक दिनमै विश्वभर यात्रा गर्न सकिने भएकाले यो भाइरस फैलिने जोखिम उत्तिकै छ। ‘आवतजावतकै कारण अन्य रोगजस्तै यसको जोखिम कायमै छ,’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता हेमन्त ओझाले भने। 

चिकित्सकका अनुसार इबोला भाइरस शरीरमा प्रवेश गरेको दुई दिनदेखि २१ दिनभित्र लक्षण देखिन थाल्छ। संक्रमित व्यक्तिलाई ज्वरो आउने, जीउ दुख्ने, घाँटी दुख्ने, टाउको दुख्नेजस्ता लक्षण देखिन्छन्। इबोलाको संक्रमणपछि आँखा, नाक, कान, मुखजस्ता कमजोर भागबाट रक्तश्राव हुने तथा आन्तरिक रक्तश्रावसमेत हुन्छ । यसको जटिल रूप लिएपछि मिर्गौला, कलेजोजस्ता अंग पनि बिग्रिन गई मानिसको मृत्युसमेत हुन्छ। 

इबोला संक्रमण भइसकेपछि निको पार्ने औषधि अहिलेसम्म निस्कन सकेको छैन। तर यसको संक्रमण भएपछि लाक्षणिक उपचार हुन्छ । इबोला संक्रमण नियन्त्रणका लागि विभिन्न खोपहरू लगाइरहेको भए पनि पूर्ण  रूपमा नियन्त्रण हुन नसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

नेपालमा अहिलेसम्म इबोला संक्रमण भइसकेको नभए पनि विभिन्न देशमा आवतजावतकै कारण कुनै पनि बेला यहाँ पनि संक्रमण हुन सक्ने खतरा रहेको चिकित्सक बताउँछन्। यसै कारण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउनुपर्नेमा डा. पुनको जोड छ। उनले भने, ‘ तर यसका लागि सरकारले अहिलेसम्म छुट्टै वार्ड बनाएको देखिंँदैन।’ 

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसअघि नै नेपाली सेना र प्रहरी अस्पतालमा ‘आइसोलेशन वार्ड’ छ। सर्वसाधरणको पहुँच हुने अस्पतालहरूमा भने अहिलेसम्म यस्तो व्यवस्था हुन नसकेको डा. पुन बताउँछन्। ‘प्रस्ताव त पठाइसकेको छौं, यो वर्षभित्र ठोस रूप दिने कोसिस गर्छौं,’ महाशाखाका  प्रवक्ता ओझाले भने।

प्रकाशित: १२ श्रावण २०७५ ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App