१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियालाई प्रतिवन्ध लगाउन संयुक्त राष्ट्रसंघ सहमत

(एजेन्सी)-उत्तर कोरियालाई पुनःएक पटक शृंखलावद्धरुपमा प्रतिवन्ध लगाउने कार्य सुरु गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् सहमत भएको छ ।

उत्तर कोरियाले गत शुक्रबार गरेको पाँचौँ पारमाणविक बम परीक्षणपछि अन्तर्राष्ट्रिय जगतले निन्दा गरेपछि सुरक्षा परिषद् सो सहमतिमा पुगेको हो ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा शुक्रबार भएको गोप्य छलफलमा उत्तर कोरियाले शुक्रबार गरेको पारमाणविक बम परीक्षणको कडा शब्दले निन्दा गरेको छ । साथै संयुक्त राष्ट्र संघको बडापत्रको ४१ औँ धारा अन्तर्गत रहेर नयाँ प्रस्तावको नमूना तयार गर्ने विषयमा पनि सहमत भएको छ ।  

दक्षिणी कोरिया, संयुक्त राज्य अमेरिका, जापान, रसिया, चीन आदिले उत्तर कोरियाले शुक्रबार गरेको शक्तिशाली पारमाणविक बम परीक्षणको कडा शब्दको निन्दा गरेका छन् ।

लाओसको औपचारिक भ्रमणमा रहेका  दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हाईले यस परीक्षणको निन्दा गरेका छन् ।     लाओसको राजधानी भिएनटिएनमा पूर्वी एसियाली राष्ट्रहरुको शिखर सम्मेलन (इएएस) मा भाग लिने क्रममा पार्कले यसै वर्षभित्र उत्तर कोरियाले दोस्रो पटकको पारमाणविक बम परीक्षण गरेको बताएकी थिइन्  ।

उत्तर कोरियाले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को संकल्प प्रस्तावको बारम्बार अवहेलना र उल्लंघन गर्दै अन्तर्राष्ट्रिय जगतलाई सशक्त चुनौति दिइरहेको पनि राष्ट्रपति पार्कले आरोप लगाएका छन् ।  

उत्तर कोरियाले पुङग्येरीस्थित आफ्नो प्रमुख परीक्षण केन्द्रबाट शुक्रबार बिहान गरेको पारमाणविक शक्ति परीक्षण शक्तिशाली रहेको र यसपछि ५.३ रिक्टर स्केलको कृत्रिम भूकम्पको महसुस गरिएको थियो ।

उत्तर कोरियाले यसअघि सन् २००६, २००९, २०१३ र यसै वर्षको जनवरीमा गरी चारवटा शक्तिशाली परमाणु बम परीक्षण गरिसकेको छ  ।

उत्तर कोरियाले गत सोमबार पनि आफ्नो पूर्वीसामुन्द्रिक तट बाहिर तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरेको थियो  ।

उत्तर कोरियाको ह्वाङ्जु ग्रामीणक्षेत्रबाट जापानी सागर (सिअफ जापान)मा लगातार उक्त तीनवटै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ताले बताएका थिए  ।

दुई हप्ता जति अघि अर्थात् अगस्ट २४ का दिन उत्तर कोरियाले पनडुब्बी जहाजबाट प्रहार गर्न सकिने ५०० किलो मिटर प्रहार क्षमता दूरी भएको क्षेप्यास्त्र यसैगरी परीक्षण गरेको थियो ।

प्रकाशित: २६ भाद्र २०७३ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App